विवाह पञ्चमीको तयारी सुरु, सर्वपक्षीय बैठक सम्पन्न

डिसी नेपाल
१३ कार्तिक २०८२ १९:५३
28
Shares

जनकपुर। जनकपुरधाममा प्रत्येक वर्ष धुमधामका साथ मनाईने विवाह पञ्चमी महोत्सवको तयारी सुरु भएको छ। जानकी मन्दिरले बिहीबार महोत्सवको तयारीका विषयमा सर्वदलीय सर्वपक्षीय बैठक सम्पन्न गरेको छ।

बैठकमा जानकी मन्दिरका छोटे महन्थ राम रोसन दासले यस वर्ष हुने सम्पूर्ण कार्यक्रमहरुको बारेमा जानकारी दिएका थिए। उनका अनुसार यस वर्ष पनि अयोध्याबाट विशिष्ट व्यक्तिहरुसहितको बाराती आउने छ र जानकी मन्दिरले बारातीहरुको स्वागत, खानपान र बासको व्यवस्थापन गर्नेछ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यस वर्ष मंसिर ४ गत्ते नगर दर्शनको कार्यक्रम रहेको छ भने ५ गत्ते फूलबारी लिला रहेको छ। त्यस्तै मंसिर ६ गत्ते धनुष यज्ञ हुनेछ भने ७ गत्ते तिलकोत्सव हुनेछ। त्यस्तै ८ गत्ते मटकोर हुनेछ भने ९ गत्ते स्वयमवर र विवाहमहोत्सव हुनेछ।

मंसिर १० गत्ते रामकलेवा विधि सम्पन्न गरी सम्पूर्ण बारातीहरुलाई विदा गरिने छोटे महन्थ दासले जानकारी दिएका छन्। उनले यस वर्ष पनि विभिन्न समितिहरु गठन हुने र हरेक समितिलाई जिम्मेवारी तोकेर महोत्सव भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्ने बताए।

सर्वपक्षीय बैठकमा जानकी मन्दिरका पदाधिकारी, धनुषा ट्राफिक कार्यालयका प्रमुख, सम्पूर्ण सुरक्षा निकायका पदाधिकारी, उद्योग वाणिज्य संघ धनुषाका पदाधिकारी, पत्रकार महासंघ धनुषाका पदाधिकारी, समाजसेवी, तथा स्थानीय युवा क्लबहरुका पदाधिकारी लगायत सरोकारवला निकायहरुको उपस्थिती रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.