कविता : नेपाली मनको कथा र ब्यथा

शंकरप्रसाद रिजाल
१५ कार्तिक २०८२ ७:४०
180
Shares

हेर नेपालीहरुको मनको कथा र ब्यथा
सुकेका रुखका पातसरी बनेको अबस्था
कोही धनी असाध्यै कोही गरीब माग्ने
कोही महँगा रक्सी पिइ कोठामा रमाउने।

सारा नेपालीको मुख हेर मायाको मह काटने
दया र करुणाको भावनाले दिनदिनै नुहाउने
अनुहार नेपालीको हेर सेता हिमाल झैं देखिने
अवस्था उनको हेर भित्र भित्रै आँखा रसाउने।

वीरको गाथा बोकी बस्ने नेपाली कति छन् यहाँ
तर उनैका सन्तति आज बसेका छन् ओढारमा
कोही सुन्दैनन् उनका कथा दुखको कुनैपनि
सबैले कान थुनी बस्छन् सुन्नु पर्लाकी भनी।

कथा करुणाले भरिएको छ, छ आँसु झरिरने
यहाँका शासक जो छन् हाँसी सत्ता चलाउने
कथा नसुन्नेले व्यथा झन यो कसरी बुजोस्
पहाडमा बस्ने नेपालीको चिन्ता कसरी हटोस्।

बिहानीपख भारी बोकी हिँड्ने ती उकालोमा
बेलुका कहिले घरमा पुग्लान् जुनेली रातमा
खाना लत्ता कुनै छैन पानी छ पल्लो गाउँमा
कसरी ती बसेका होलान् आफ्ना सन्तति लिई ती साथमा।

ग्यास चुलो कुनै छैन, पिठो चामल कुनैपनि
पकाई केपो खाने हो कठै, जे पाइन्छ जुनैपनि
लुगा छैन लाउन लाउँछन् थोत्रा मैला कुनैपनि
कसले के दियो कुन्नि सानो ठूलो भएपनि।

गरीब भइकनपनि हाँसो फुकेको छ अनुहारमा
के लेखी दिए भावीले उनलाई त्यो ठूलो निधारमा
कर्ममा बिश्वाश राख्नेले यो कुरा कसरी बुजोस्
सत्तामा बस्नेको मनमा यो ब्यथा कसरी सुजोस्।

नेपालको बिकासको सियो

धुइँपत्ताल खोज्दापनि त्यो सियो भेटिएन
च्यातिएको नेपाललाई अलिकति सिउन सकिएन
इतिहासले सिएको कपडा लगाई बसेको नेपाल
आज जताततै दौरा सुवाल टोपी च्यातिएको छ

आमाको धोती चोलो र ओन्नी च्यातिएको छ
सिउने सियो छैन कता हराएको छ थाहा छैन
धुइँपत्ताल गरी खोज्दा पनि सियो पाइएको छैन
बीस बर्ष बितिसक्यो एकसरो लुगामात्र छ शरीरमा

त्यो हो गणतन्त्र लोकतन्त्र र धर्म निरपेक्ष्य देशमा
सात ठाउँमा च्यातिएको धुजा धुजा भएको टोपी
हजारौं बालकहरुले निरन्तर चुसी रहेको दुधको मुन्टो
खानु केही छैन, लाउनु केही छैन चुसाइ रहनु छ उल्टो

अब त नेपाल उल्टो छ कि सुल्टो बुझ्नै गाह्रो भैसक्यो
घाम झुल्किनु पर्नेमा पश्चिममा अस्ताएको देख्छु
बिजोग हेर्दा घरी घरी म जन्मिन्छु हुर्किन्छु र मर्छु
उद्रेको कपडा सिउँकी भन्दा सत्ते है त्यो सियो भेटिएन

अब त्यो सियोले कतिलाई गोचने हो कति रगत बग्ने हो
थाह छैन यहाँ सियो कहिले भेटिने हो
हरेक साल सियो खोज्छु त्यो सियो पाइएन
हरेक पाँच बर्षको महाचुनावमा खोज्दैछु तर भेटिएन

२०७२ सालको बिधि अनुसार नै खोज्दापनि भेटिएन
आज जताततै शरीरका हरेक अंगहरु नग्न भएका छन्
लाज छोप्नपनि गाह्रो भइरहेको छ पछ्यौरा पाइएन
अश्मिता खुल्ला कि भनि डर लागि केही देखिएन

राजनीति सुतिरहेको छ, अर्थनीति बैरागी बनिरहेको छ
अधर्मको पर्चा छीररहेको छ, कुटनीति बुढो भैसकेको छ
केटाकेटी बालकै छन् ,युबा युवती बिदेसी सके
खेतीपाती बन्द व्यापार केही छैन के गरी खाली होलिन् मेरी आमा

छोराले दिएको नयाँ मोबाइलमा पनि ब्याट्री सकिई सक्यो
नयाँ किन्ने रहर छ, तर पैसा मसँग छैन
हराएको सियो अहिलेसम्म पत्ता लागेको छैन
मेरो लुगा फेर्न कति योजना बने होलान्

मेरो बिन्दी फेर्न सुनको भाउ सोधी हिँडे होलान्
खरबौं रुपैयाँ खर्च गरे होलान्, आफ्नो संघार पोते होलान्
तर म जस्ताको तस्तै छु ,मेरो आङ्मा नयाँ लुगा छैन
पुरानो सिउँ भने अहिले सम्मपनि सियो भेटिएको छैन

पुरानो कुरा उधिन्ने मलाई रहर छैन
नयाँपनको आभाष कतै भेटिएको छैन
यस्तै हो भने अब मेरो चौरासीमा बिदेसीलाई बोलाउँछु
उनीहरुको आर्शीबाद लिइ म तासको लुगा लगाउँछु

नेपालको बिकास गर्ने सियो नेपालीलाई नै बनाउ लगाउँछु
विश्वको सबैभन्दा ठूलो सियो बनाइ त्रिशुल जस्तै गाड्छु
अब पुरानो चाहिन्न नयाँ नयाँ खोज्छु
नयाँ नेता, नयाँ बुद्धिजिबी, नयाँ प्रबिधि, नयाँ उद्योग

नयाँ प्रबिधि, नयाँ ब्यबस्था, नयाँ सोच र नयाँ प्रेम
अनि त नेपालको बिकास भइहाल्छ नि
किन अब पुरानो भुइँमा खसेको सियो खोजिरहनु
समयको बरबाद गरी किन आफ्नो जीबन बिताउनु।

हाँसेको र रोएको आँसु

मनभरिको आँसुले बोल्छ दिल कसरी बुझाऊँ
दिल तोडनेलाई म कुन कथा कसरी सुनाऊँ
बिछोड प्रेममा किन हुन्छ त्यो पनि म जान्दिन
प्रेमैले ताज महल बन्छ फेरि म बुझ्न सक्तिन।

हाँसेको आँसुको थोपामा हीरा मोती टल्किने
रोएको आँसु तप्कामा गोला बारुद झल्किने
अर्काको आँसु बग्दामा कोही हाँसेर हिँड्ने
स्वयमको आँसुको बाधा किन कसले नबुझने।

हाँसेको आँसुको मोल कसले कसरी तौलने
रोएको मनको मोल त्यो कुन तोलामा तौलिने
सुखमा आँसुको धारा मन त्यो खुसी हुने
दुःखका आँसुका भाका त्यो धरधरी रुवाउने।

कमलो मनको आँसु छिटो कसरी झर्दछ
छोटो मनको हेर गोहीको आँसु झैं बग्दछ
हाँसेर मनको आँसु झार्ने थोरै छन् विश्वमा
रोएर आँखमा आँसु बगाउनेछन् अरबौं यहाँ।

सुखको जीवनमा क्षणिक आनन्द मिल्दछ
दुःखको जीवनमा सधैं भित्र मन जल्दछ
चोखो प्रेम गरी हेर दयावान बनिकन
बस्नेछौ तिमी जीवनमा आँसु नझारिकन।

आँखालाई भनिदेउ आँखाबाट नझार आँसु
जो आगो लागेको छ मनमा रोएर नबुझाउ
सक्छौ भने संसारमा कहिले प्रेम नगर
यो प्रेमसँग कसैले अब सम्झौता नगर।

प्रेममा मिलन हुँदा खुसीको आँसु झर्दछ
बिछोडमा दुवै आँखाबाट दुःखको आँसु बग्दछ
साना शरीरका छिद्र सब प्रेमले टालियोस्
खुलेर आउ प्रेममा भित्र ईश्वर झल्कियोस्।

संसार बुझने त्यो हो जो सधैं हाँसेर बस्दछ
दुःख र सुख बुझ्ने मानब मानिसबाट उठ्दछ
खेलाउ भित्रको आत्मा भित्र भित्रै खेलिकन
टुसाउ प्रेमको आँकुर दुखीमाथि दया राखीकन।

नझरोस् वियोगको आँसु संसारमा कहीँपनि
झरोस हाँसोको आँसु यो विश्वमा जहीँ तहीँ
झरोस हाँसोको यो आँसु विश्वमा जहीँ तहीँ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.