तीनवर्षमा सक्नुपर्ने कञ्चनपुरको दुई पुल नौ वर्षमा पनि सम्पन्न भएन

डिसी नेपाल
२० कार्तिक २०८२ १४:१३
20
Shares

कञ्चनपुर । जिल्लाका दुई पक्की पुल सम्पन्न हुने चरणमा पुगेका छन्। लामो समयदेखि ढिलाइ हुँदै आएको कृष्णपुर नगरपालिका१ बंकबुडरनायल सडकखण्डमा पर्ने ओदाल खोला पुल र बेदकोट नगरपालिका६ र ७ लाई जोड्ने मुसेपानी खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको हो।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार पुल निर्माणका लागि विसं २०७४ जेठ १० गते रु १५ करोड ४३ लाखको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो।

त्यसैगरी, ओदाल खोला पुल निर्माणका लागि विसं २०७३ भदौ १७ गते रु पाँच करोड ४७ लाखमा दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो। तर, समयमै काम सम्पन्न गर्न नसकेपछि दुवै पुलको म्याद पटकपटक थपिँदै आएको छ। ओदाल खोलाको पुल तोकिएको समयमा सम्पन्न हुन नसकेकाले ठेकेदार कम्पनीमाथि १० प्रतिशत जरिवाना (हजर्ना) लगाइएको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो। मुसेपानी खोलाको पुलको अन्तिम म्याद भने अहिले विसं २०८२ कात्तिक मसान्तसम्म तोकिएको छ।

हालसम्म मुसेपानी खोलाको पुलको भौतिक प्रगती ९५ प्रतिशत र ओदाल खोलाको पुलको भौतिक प्रगति ९३ प्रतिशत रहेको छ। दुवै पुलको सबस्ट्रक्चर, सुपरस्ट्रक्चर र तटबन्ध निर्माण पूरा भइसकेको छ, उनले भने, हाल पहुँच मार्ग निर्माण पूरा हुन बाँकी रहेको छ।

ओदाल खोलाको पुलको लम्बाइ ४० मिटर र मुसेपानी खोलाको पुलको लम्बाइ एक सय ६० मिटर रहेको छ। दुवै पुल आधुनिक प्रीस्ट्रेस्ड प्रविधिमा निर्माण गरिएका छन

वित्तीय हिसाबले हेर्दा ओदाल खोलाको पुलको प्रगति रु चार करोड ५२ लाख रहेको छ भने त्यसमा १० प्रतिशत हजर्ना असुल उपर गरिएको छ। मुसेपानी खोलाको पुलको वित्तिय प्रगति १३ करोड ३० लाख पुगेको छ। ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण दुवै पुल तोकिएको अवधिभित्र सम्पन्न हुन नसके पनि अहिले तीव्रगतिमा काम भइरहेको जनाइएको छ।

पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय बासिन्दा लामो समयदेखि सास्ती खेपिरहेका थिए। विशेषगरी बर्खाको समयमा खोला तर्ने जोखिम बढ्ने र आवतजावतमा कठिनाइ हुने समस्याले जनजीवन प्रभावित हुँदै आएको थियो।

कृष्णपुर नगरपालिका १ का स्थानीय बासिन्दा गयाप्रसाद चौधरीले भने, र्षौंदेखि खोला गर्नु पर्ने अबस्था थियो, वर्षातका बेला गाउँ सम्म एम्बुलेन्स आउन नपाउदा बिरामीलाई जोखिम मोल्दै पिठयुमा बोकेर खोला तार्नु पर्ने अबस्था थियो, ढिलै भएपनि स्थायी पुल बनेपछि सहज हुने भयो।

दुवै पुल सञ्चालनमा आएपछि स्थानीय यातायात, व्यापार र कृषि उत्पादनको ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ। यो सँगै बंकबुडरनायल सडकखण्ड तथा बेदकोटको मुसेपानी क्षेत्रका बासिन्दाले नदी तर्नु पर्ने लामो समय देखिको समस्या समाधान हुनेमा आशा व्यक्त गरेका छन्।

सडक डिभिजन कार्यालयले बाँकी रहेका पहुँच मार्ग तथा फिनिसिङ कार्य छिटो सम्पन्न गरी दुवै पुललाई चालु आब भित्रै सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.