ब्रेकफास्टमा के खाने, के नखाने?

डा. ओम मूर्ति अनिल
२३ कार्तिक २०८२ ७:२८
96
Shares

हाम्रो दिनको पहिलो आहार कस्तो हुनुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ। दिनको पहिलो आहारले हाम्रो दिनलाई धेरै प्रभावित गर्छ। जानकारीको अभावको कारण धेरै जनाको बिहानको खाजा नमिलेको हामी पाउँछौं। जसले गर्दा पेटको समस्यादेखि दीर्घ रोग लाग्ने जोखिम हुन्छ।

त्यसैले सन्तुलित ब्रेकफास्टमा ध्यान दिनुपर्छ। ब्रेकफास्ट पकाउन सजिलो हुनु्पर्छ। ग्यास्ट्रिक नगराउने खालको हुनुपर्छ। कम खर्चिलो हुनुपर्छ। बिहानको ब्रेकफास्ट निरोगी र बिरामी सबैले खान मिल्ने हुनुपर्छ।

प्राय मानिसले चिया, बिस्कुट र कुकिजलाई बिहान नास्ताका रुपमा प्रयोग गरेको पाइन्छ। कुकिजमा बटरको प्रयोग एकदम धेरै भएको पाइन्छ। बिस्कुट र कुकिज मैदाबाट बनाइएको हुन्छ। मैदा स्वास्थ्यका लागि एकदम हानिकारक हुन्छ। यसमा फ्याट र ट्रान्सफ्याटको मात्रा एकदम धेरै हुन्छ।

यसमा चिनी वा नुनको प्रयोग पनि भएको हुन्छ। यी सबै स्वास्थ्यका लागि हानिकारक पदार्थ हुन्। बिस्कुट र कुकिजको नियमित प्रयोगले स्वास्थ्यमा ठूलो हानी गर्ने भएकाले कहिले काहीँ खानु फरक कुरा हो। तर, नियमित यसको सेवन नगर्न म सुझाव दिन्छु।

बिहानको खाजामा मानिसले पाउरोटीको पनि अधिक प्रयोग गरिरहेका हुन्छन्। पाउरोटी पनि मैदाले बनेको हुन्छ र प्रशोधित हुन्छन्। त्यसले मानिसको स्वास्थ्यलाई फाइँदा पुर्‍याउँदैन। ब्राउन र होलग्रेन पाउरोटीमा केही राम्रो कुरा होला। तर, म चाहिँ यी खाने कुरा नखान सुझाव दिन्छु।

अहिले स्यान्डवीचको प्रयोग ब्रेकफास्टमा अधिक हुने गर्छ। त्यसैले विशेषउत्सव बाहेक यसको सेवन गर्नु हुँदैन। अर्को हामीले कर्न फ्लेक्स र ओट्स ब्रेकफास्टमा प्रयोग गरिरहेका हुन्छौं। कर्नफ्लेक्स प्रशोधित खाने कुरा हो। यो स्वास्थ्यका लागि राम्रो हुँदैन। प्रशोधित नगरिएका खानेकुरा हेर्दा राम्रो नदेखिए पनि स्वास्थ्यका लागि निकै लाभदायक हुन्छन्।

ओट्स प्रशोधित नगरिएको पाइएमा त्यो स्वास्थ्यका लागि राम्रो खाजा हो। धेरै ब्रान्डका हर्लिक्स पानीमा एक/दुई चम्चा राखेर बिहान बच्चालाई खुवाउने चलन छ। त्यो पनि स्वास्थ्यका लागि त्यति राम्रो होइन। किनकि त्यसमा सुगरको मात्रा धेरै हुन्छ। कोही बिरामी भएमा थोरै खाएर इनर्जी लिनुपर्ने व्यक्तिहरू भएमा भने यसको प्रयोग गर्न सकिन्छ। तर, ब्रेकफास्टमा यस्तो हाइ क्यालोरी फुड प्रयोग गर्नु हुँदैन।

पुरी, पकौडाहरू पनि स्वास्थ्यका लागि राम्रो होइनन्। यी तेलमा फ्राइ हुने भएकाले राम्रो मानिदैन। सेलरोटीको कुरा गर्दा हाम्रो संस्कृतिसँग जोडिएकाले चाडपर्वमा थोरै मात्रामा सेवन गर्नु फरक कुरा हो। तर, खाजाको रुपमा दिनहुँ यसको प्रयोग गर्नु हुँदैन।

कलेज पढ्ने विद्यार्थीले बिहान समोसा र चाउमिनको सेवन बढी गर्नु हुन्छ। म त्यो पनि धेरै सेवन नगर्न सुझाव दिन्छु। त्यसको ठाउँमा चना एकदमै राम्रो भयो। चना अण्डा खाँदा स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। चिउरा र चना खान सकिन्छ।

यस्ता खाने कुरा प्राकृतिक र चिनी नमिसाइएका हुन्छन्। बोसो र फ्याट एक्स्ट्रा मिलाइएको हुँदैन। अर्को हामीले धेरै खाने खाजा दुनोट हो। त्यसमा ट्रान्स फ्याट एकदम धेरै हुन्छ। ट्रान्स फ्याटले मुटुमा ब्लोकेज गर्ने, हार्ट अट्याक गर्ने जोखिम बढी रहन्छ। यसमा नराम्रो बोसो अधिक रहन्छ।

अब राम्रा खाजाको चर्चा गरौं। रोटी तरकारी निकै उपयुक्त खाजा हो। गहुँ, कोदो, फापरको रोटीलाई हामीले खाजाको रुपमा प्रयोग गर्दा त्यसले स्वास्थ्यमा फाइँदा पुर्‍याउँछ। चिउरा पनि राम्रो खाजा हो। खाजामा सातुको प्रयोग गर्दा निकै लाभदायक हुन्छ।

ड्राइफुड्स पनि खाजाका लागि उपयुक्त चिज हुन सक्छ। किनकि यो प्राकृतिक हुन्छ। यसमा चिल्लोको कुरा हुँदैन, राम्रो बोसो हुन्छ। कार्बोहाइड्रेड पनि धेरै हुँदैन। त्यसैले यो बिहान खाजाका रुपमा प्रयोग गर्न सकिन्छ।

मैले चाहिँ बिहान खाजाको रुपमा जाउलोको प्रयोग गर्ने गरेको छु। म जाउलोमा सेतो चामलको प्रयोग गर्दिन। ब्राउन राइस वा कालो चामल प्रयोग गरेर मैले जाउलो बनाउँछु। एक चम्चा चामल, दुई/तीन चम्चा दाल राख्छु। यसो गर्दा कार्बोहाइड्रेड थोरै प्रोटिन बढी हुन्छ। यसमा साग र सिजनल तरकारी राख्छौं। यसमा गाँजर, बिन्सहरू पनि राख्न सकिन्छ।

त्यसलाई राम्रोसँग पाकाउनुपर्छ। राम्रोसँग पाकिसकेपछि आलसको धुलोसँग मिलाएर खान्छु। यसमा दही प्रयोग गर्छु। तरकारी पनि यससँग सेवन गर्छु। यसको स्वाद पनि निकै मिठो हुने गर्छ। यसमा फरक/फरक दाल र तरकारी प्रयोग गर्न सकिन्छ। यो चाडो पच्ने पनि गर्छ। सबैले सन्तुलित आहार सेवन गरौं, यही मेरो आग्रह छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.