सेना राजनीति नगर
एउटा अमुक कम्युनिष्ट पार्टीले भर्खरै राजधानीमा तामझामका साथ “युथ फोर्स” खोलेर नेपाली सेनाका पूर्व बृगेडियर जनरललाई सदस्य थमाएर अपराधीलाई पक्राउ गर्ने र शान्ति सुव्यवस्था कायम गर्ने घोषणा गरेपछि कोमामा गएको राष्ट्रिय सुरक्षाको सातोपुत्लो गएको छ।
बर्दिधारीहरुको बेइज्जत भएको छ। विश्वकै पुरानो मध्ये एक र एशियाको सबैभन्दा पुरानो सैनिक संगठनको साख र छवि गिरेको छ। राष्ट्रिय जलनमा मलहम होइन पेट्रोल बम हान्ने र मुलुकलाई गृह युद्धमा धकेल्ने पूर्व तयारी हुँदै छ भन्ने स्पष्ट संकेत मिलेको छ।
किनभने युथ फोर्स अगाडि माओवादीको “रेड फोर्स” गठन र तालिम सुरु भइसकेको छ। भोलि सवा सय दलले हातमा दही जमाएर बस्ने कुरा आउँदैन। दलै पिच्छे र नेता पिच्छे फोर्स बन्दै जाने हो भने मुलुक अफगानिस्तानलाई जितेर पृथ्वीको पहिलो रणभूमि बन्ने छ।
हिजो वाइसिएलको प्रतिवाद गर्न खडा भएको युथ-फोर्स र अन्य दलै पिच्छेका भातृ संगठनले समाजमा सृजना गरेको भय, त्रास, धम्की, अपहरण, असुली, विध्वंस, आतंकको असली रूप हो भदौ २४ को देश जलाउने आतंकबाद।
अफगानिस्तान, सुडान, सोमालियाले पनि देखे भोगेका थिएनन्, एक दिनमा त्यति ठूलो देशव्यापी विध्वंस र बिनाश गर्न सुनियोजित र समन्वीकृत आतंकककारी हमला।
राजनीतिको लगाम भातृ संगठनले लिएर उपभोक्ता समिति, निर्माण समिति, ठेक्कापट्टा कब्जा, फिरौती असुली, कालो धन्दा, तस्करी र भ्रष्टाचार खुलेआम गरेपछि राष्ट्रिय अन्तर्राष्ट्रिय आलोचना तीब्र भयो र मात्र दलहरुको आँखा खुल्यो।
गैर कानुनी र अवैध भातृ संगठनले कानुन हातमा लिएर गरेको अराजकता र गुण्डाराजले विधिको शासनको खिल्ली उडाएको थियो। कुशासनको घोडा चढेको थियो। लोकतन्त्रको पर्यायवाची लुट्तन्त्र भएको थियो।
त्यसपछि मात्र दलहरूका मनी- माईन्ड-मसल्स अर्धसैन्य दस्ताहरु निष्क्रिय भएका थिए। आज पुनः दलहरु युवा पुस्ताको चरम दुरुपयोग गर्दै जेन-जेडलाई सामेल गरेर लडाकु फोर्स बनाइरहेका छन्। दुर्भाग्य त्यस्ता अवैध छाडा फोर्सको सदस्य बन्न पुगेका छन् निवृत्त बृगेडियर।
कानुनी पक्ष
एक पटकको सैनिक, आजीवन सैनिक। सपथले त्यही भन्छ विश्वको अभ्यास त्यही हो। कसैको कर बलले होइन स्वेच्छाले र अझ रोइ कराइ भाकल गरेर हामीले कठोर सैनिक पेसा अँगालेका हौँ।
हामीलाई अरु सरहको संबैधानिक हक, मौलिक हक र स्वतन्त्रता हुँदैन। नेपालको मूल कानुनका अतिरिक्त हामीलाई अझ कठोर सैनिक ऐनले पाता फर्काएको हुन्छ। सैनिक परम्परा, मूल्य, मान्यता र चरित्रको दिशा निर्देश छुट्टै छ।
सपथदेखि स्वदेश विदेश तालिम हुँदै स्वेदश-विदेश शान्ति सेवा, योगदान, समर्पण र त्यागले हामीलाई अनुशासित, जवाफदेही, देशभक्त भएर तयारी हालतमा रहन र राष्ट्रले बोलाएको खण्डमा आगाे वा युद्ध हामफाल्न अह्राएको छ।
नेपालको संविधान भाग-४ धारा ५१ क (७) ले निजामती कर्मचारी सैनिक, प्रहरीलगायतका पूर्व राष्ट्र सेवकहरुलाई आफ्नो ज्ञान, सीप र अनुभवलाई राष्ट्र हितमा समुचित उपयोग गर्न भद्र निर्देशन गरेको छ। विज्ञता, विशेषज्ञता माग गर्ने विशेषाधिकार राज्यलाई छ। दलाललाई होइन।
सैनिक ऐन २०६३, ३५ (१) क ख ग घ ले नेपाली सेनालाई आँच पुर्याए, ऐन विपरीत काम गरे, सैनिक सुविधा सहुलियत दुरुपयोग गरे र राज्य विरुद्ध अपराध गरे, बहाल होस् वा निवृत्त, सैनिक सुविधा सहुलियतबाट बञ्चित गर्ने कडा प्रावधान छ।
बहाल र निवृत्त सैनिकसँग राष्ट्रिय सुरक्षा संवेदनशीलता जोडिएको हुन्छ। विशिष्ट सुरक्षा र भूराजनीति ज्ञान-अनुभव, सूचना पहुँच, विश्लेषण क्षमता भएका भविष्यवक्ता हुन् सैनिकहरु।
सत्तापलट र राष्ट्रिय संकटको लागि सुसूचित रहँदै समन्वीकृतढंगबाट सहकार्य गरेर संकट पार लाउन एक ढिक्का भएर रहन पंक्तिकारले ६ महिना अघि सेनापति, प्रधानन्यायाधीश र प्रधानमन्त्रीलाई पूर्व जानकारी गराएकाे थिएँ।
किनभने म देशको जगेडा फौज (रिजर्भ फोर्स) हुँ। सपथ, पेन्सन, कल्याणकारी सुविधा, राजीनामा अघिको लिखित प्रतिवद्धता, भूपू सैनिक संघको आवद्धता, सैनिक क्लव सदस्यको हैसियतले म सचेत, सतर्क, स्ट्याण्डबाई बस्नुपर्छ र सेना/देशले बोलाएमा नि:शर्त कुदेर जानुपर्छ।
नैतिक पक्ष
सेना नितान्त राजनीतिक निरपेक्ष संस्था हो। सेनाले मुलुकको वैधानिक राजनीतिक पद्धतिलाई सुचारु, सुव्यवस्थित राख्न मद्दत गर्ने हो। स्वयं राजनीति गर्नु अशोभनीय निन्दनीय र अनैतिक हो।
अराजनीतिक शक्ति भनेको राजनीति नगर्ने आदर्श हो। निवृत्त भए पनि सैनिकका परिवार, चेला, सहकर्मी, शुभेच्छुक सेनामा हुन्छन्। भित्तामा फोटो हुन्छ। कतिपय कर्णेल कमाण्डाण्टको जिम्मेवारीमा हुन्छन्।
अग्रजहरु वर्तमान सैनिकका अगुवा, अभिभावक, निर्देशक, उत्प्रेरक, रोलमोडल हुन्। तिनले मरणोप्रान्त समेत मलामी सलामी र सम्मान पाउँछन्। आश्रित परिवारले समेत आजीवन कल्याणकारी सुविधा पाइरहन्छन्। त्यो सबै गैरदलीय चरित्रको देशभक्त जगेडा फौजलाई दिइएको सम्मान र सुविधा हो।
निवृत्त सैनिक राष्ट्रिय अनुशासन, इमान, राष्ट्रियता, बफादारिता र जवाफदेहीताको प्रतिमूर्ति हो। उ राष्ट्रिय सम्पदा र जनताको साझा सम्पति हो। राष्ट्रिय शोभा हो। राष्ट्रिय सुरक्षाको पहरेदार र हिस्सेदार हो। समाजको गहना, दाहिने हात, सुरक्षा भरोसा र विश्वास हो।
देश र सेनाको आँखा, कान, इन्टेलिजेन्स, सल्लाहकार हो। उ आफ्नो गाउँ, समाज, देश निर्माणमा, शान्ति तथा अमनचयन कायममा, विपद र संकट व्यवस्थापनमा र वातावरण रक्षामा प्रत्यक्ष सहयोग गरिरहेको हुन्छ।
यस्तो राष्ट्रिय पहिचान, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय सम्मानबाट घटेर, हटेर राष्ट्रिय सेनालाई आफ्ना मातृ युनिट विशेषलाई र बर्दीधारी सैनिकलाई अपमानित गर्ने गरी कसरी राजनीतिक लडाकु दस्ताको सदस्य हुनु ? स्वयंको तठस्थ र सर्वोच्च आत्मालाई कसरी बेच्नु ? हजार प्रश्नहरु तेर्सिएका छन्।
पहिलो, जनताको साझा सम्पत्ति नेपाली सेना कसरी साझा भयो ? हरेक राजनीतिक असफलता, बदनाम, राष्ट्रघात, जनघात, अन्तर्घात र आतंकले सेनाको मान मर्दन गरिरहेको छ, गर्ने छ।
किनभने राजनीतिक दलहरु आन्दोलन, विद्रोह, आतंक गर्न खप्पीस भए। शान्ति सुरक्षा, कुटनीतिक सुरक्षा, सफ्टपावर सुरक्षालाई चुनौती हुन् दलहरु। सेवालाई होइन ब्यापार र लुट्लाई हो राजनीति। राजनीति विश्लेषक र सुरक्षाविदहरुले स्वीकारेको र प्रमाणित भएको सत्य यही हो। लुटतन्त्र र आतंकको साक्षी वा हिस्सा हुन किन जाने ?
दोश्रो, सेना राष्ट्रिय एकताको आधार हो। राजनीतिक दलहरू एकता भाँड्ने, टुट्ने फुट्ने कहिले नजुट्ने, विभाजन बिखण्डनका बीउ हुन्। बाह्य शक्ति स्वार्थ समूह र एनजिओ आइएनजिओका अरौटे भरौटे झोले हुन्। झोलेका झोले हुन् अवैध भातृसंगठनहरु। बहाल सैनिकहरुले के सिक्ने ? झोले महाझोले बृगेडियरलाई संगठनले कसरी हेर्ने ?
तेस्रो, राजनीतिले कार्यपालिकाको मियो प्रहरी संगठन निल्यो। कर्मचारीतन्त्र सोत्तर बनायो। स्वतन्त्र न्यायपालिका ध्वस्त बनायो र ३५ वर्षदेखि अविश्राम एकमात्र अविचलित अन्तिम शक्ति नेपाली सेनालाई प्रहार गरिरहेको छ।
नसकेपछि भूपू सैनिकलाई झोले बनाएर झोलेको न्यानो लिनुछ अदूरदर्शी असफल राजनीतिक नेतृत्वहरुलाई। निवृत्त जर्नेलको ढाडमा टेकेर बहालको टाउकोमा हान्ने,संगठन धाराशायी बनाउने यो रणनीति खतर्नाक छ।
चौथो, सशस्त्र द्वन्द्व राजनीतिक अकर्मण्यताले भयो। आतंककारीको टाउको खोज्न जाने एकादुई जर्नेल आतंककारीसँग मिले। जीवन बर्बाद गरे। तर धन्य संगठन अविचलित रह्यो। संक्रमणकालको अन्तिममा भदौ २४ को आतंककारी हमला भयो।
आन्तरिक आक्रोश र बाह्य शक्तिको स्वार्थ फ्युजन भएर केही घण्टामा देश खरानी भयो। प्रमुख कारण, कर्ता, मालिकका गोटी कारिन्दा दास दलहरु हुन् भन्ने सत्य घाम जस्तै छर्लङ्ग छ। लोभी पापी नेताहरुलाई फेरि बुलेटप्रुफ भेष्ट र जर्नेल गार्ड चाहिएको छ। राजनीतिप्रति आकर्षित जर्नेल कर्नेललाई हेक्का भएस्।
पाचौँ, विश्न कुटनीतिलाई राजनीतिले मारेको छ। चरम धोका दिएको छ। सैनिक कुटनीतिले धानेको सास पुन: निभेको छ। यस्तै झोले कर्नेल जर्नेलको दुरुपयोगले सैनिक कुटनीति अपांग भएको छ।
छैटाैं, आ-आफ्नो फोर्स खडा गर्ने धुर्त्याईं युवालाई झोले बनाउने राजनीतिक रणनीति हो। हिजो पवित्र नारा र उद्देश्य लिएर सुशासन खोज्ने जेन-जीलाई देश बर्बाद गरेको आरोप लाउने र विश्वभर प्रचार प्रसार गर्ने राजनीतिले युथ फोर्स, रेड् फोर्स, ब्ल्याक फोर्स, अण्डरग्राउण्ड फोर्स, जुनियर फोर्स, जेन-जी फोर्स बनाउनु भनेको स्कुल-स्कुल गएर विद्यार्थीहरुलाई झोलेमा भर्ती गर्नु हो।
घरभित्र युवा-युवा लडाएर रक्तपात मच्चाउनु हो। गृहयुद्धको आगो सल्काएर जल्न मर्न बाँकी युवालाई सफाया गर्नु हो। बाँचेका दुर्लभ युवा जनशक्तिलाई विश्व शिक्षा बजार, विश्व भ्रमणलाई प्रवेश निषेध गर्नु हो। यो राजनीतिक रणनीतिलाई युवा स्वयम्ले र युथफोर्स कमान्डर बृगेडियरले अध्ययन मनन् गर्न जरुरी छ।
उज्वल र दूर भविष्य भएका जेन-जी छोराहरुलाई सोध्न आवस्यक छ। आत्मघाती, संगठनघाती, राष्ट्रघाती काम नगरून् स्पेसल फोर्स तालिम प्राप्त गरेका स्पेसल फोर्सका बृगेडियरले जो सेवारत रहँदा राष्ट्रिय इन्टेलिजेन्स, राष्ट्रिय सुरक्षा, राष्ट्रिय प्रति- आतंकबादका योजनाकार थिए।
छिमेकी देश चीनका राष्ट्रिय कुटनीतिक सैनिक सहचारी थिए। ती आज सर्वाधिक बिषम सुरक्षा अवस्थामा कसरी कम्युनिष्ट पार्टीको युथफोर्स सदस्य हुन सक्छन् ? घिनलाग्दो र निन्दनीय दुष्कर्म।
अब के गर्ने ?
पारदर्शी जवाफदेही लोकतन्त्रमा पाे राजनीति गर्ने। अपारदर्शी अनैतिक लुटतन्त्रमा किन केलाई हाम फाल्ने ? पहिलो ज्ञात अज्ञातवस्, बाध्यता विवशतावस्, कर-बलले राजनीतिमा होमिएका सैनिक साथीहरुले शीघ्र राजनीतिबाट सन्यास लिने।
दोश्रो, विकृत दलहरुलाई टुंडिखेलमा सामेल गर्ने। अग्रपंक्तिमा अकर्मण्य, असफल, अहंकारी नेतृत्वहरुलाई राख्ने। निजामती कर्मचारी, प्राविधिक, सेना प्रहरी, विद्यार्थी, शिक्षक, संचारकर्मी सारालाई आमन्त्रण गरेर राष्ट्रिय पश्चाताप दिवस मनाउने।
मातृभूमि खरानी बनाउनमा हामी आफैं दोषी छौं भनेर २ घण्टा डाको छोडेर रुने र बिना भाषण रोएरै दिवस समापन गर्ने। यो इमोसनल इन्टेलिजेन्स र गल्ती स्वीकारले बिक्री भएको देशभक्ति फर्किने छ। राष्ट्रिय एकताको मालामा पुनः उनिने राष्ट्रभाव जागृत हुनेछ। सुशासन संकल्पको बीजारोपण हुनेछ।
तेश्रो, श्रम शून्य, उत्पादन शून्य, वितरण शून्य, नाै लाख राजनीतिक झोलेहरुले आज राष्ट्रिय प्रकृति, संस्कृति, ढुकुटी दोहन गरेर लुट्मा विलासी जीवन बिताइरहेका छन्। पेन्सनर झोले किन थपिने ? सक्छौ भने आफ्नै सैनिक कल्याणकारी दश लाख बढी हिताधिकारीहरुलाई संगठित गरेर दासको कमारो होइन, आफू मालिक हुने राष्ट्रबादी पार्टी खोल। हर्क साम्पाङ मोडलको ढुंगा बोक्ने, सडक खन्ने, हरित कृषि क्रान्ति गर्ने, हरित अर्थतन्त्र विकासले देशलाई हरित समृद्धिमा पुर्याउने हरित पार्टी खाेल्ने हिम्मत गर।
अनुसासित, इमान्दार, बफादार, तठस्थ, नैतिकवान, बहादुरहरुको “हामी नेपाली” पार्टी खाेल। माटोले मागिरहेको छ। हीरा जनता, हीरा युवाको एउटा मात्र आश त्यही बाँकी छ।
अमेरिकालाई शून्यबाट महाशक्ति बनाएको सेनाले हो। जापानलाई हिरोसिमा नागासाकी घाउ निको पारेर विश्वकै चामत्कारिक अर्थतन्त्र बनाएको भूतपूर्व सैनिकहरूले हाे। नेपालमा भूतपूर्वकहरूकाे इख बिष र एकता खोई ?
सलाम भूपूहरूलाई
एकपटकको सैनिक सधैंको सैनिक आदर्शमा रहेर पीएचडी गर्ने र शिक्षा क्षेत्रमा योगदान दिने सिपाही, अन्य दर्जा, पदिकहरुलाई पहिलो सलाम। सोही कर्ममा संलग्न अनगिन्ती रथीबृन्द र अधिकृतहरुलाई दोश्रो सलाम। कृषिकर्म, उद्योग व्यवसाय, सुरक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, निर्माण क्षेत्रमा पौरख देखाउने र योगदान पुर्याउने सकलदर्जालाई तेश्रो सलाम।
गौरवमय इतिहास भएको गौरवशाली संस्थालाई बाधा, बोझ, अपमान हुन्छ भनेर राजनीतिक नियुक्ति, पद, सुबिधा धारण गर्न भद्र इन्कार गर्ने प्रधानसेनापति रथीवृन्द र अधिकृतहरुलाई चौथो सलाम।
जेन-जी आन्दोलन पछि जेन-जी प्रतिनिधिहरुलाई पद इन्कार गरेर पहिला राष्ट्र जोगाउ, प्रयोग नहोउ भनी अर्ती दिने स्वाभिमान प्रधानसेनापति तथा रथीबृन्दहरुप्रति नतमस्तक छु र स-सम्मान सलाम अर्पण गर्दछु। सामुदायिक वन संरक्षण सेवा, पिउने पानी र सडक मर्मत सेवा, समाज सेवा, स्वयंसेवामा समर्पित सकलदर्जालाई उच्च सम्मान र सबैभन्दा धेरै सलाम।
सेनालाई सुझाव
सेनाले राजनीतिको सुक्ष्म अध्ययन गर्नुपर्छ। बुझ्नुपर्छ। राजनीतिक शुद्धीकरण र सुशासनलाई लगातार माग, दवाव दिनुपर्छ। तर राजनीति गर्नु हुँदैन। निवृत्तलाई समेत अंकुश लाएर निरुत्साहित गर्नुपर्छ। सक्कली लोकतन्त्र नभएसम्म।
“सैनिक शासन गर” भन्ने आन्तरिक र बाह्य माग, दबाब, प्रभाव टारेर नागरिक सरकार गठन गर्न सेनापतिले देखाएको सदाशयता प्रशंसनीय छ। तर यो नागरिक सरकार असफल भए के? यसलाई गतिशील र सफल कसरी बनाउने ? सबै बिकल्पको गृहकार्य जरुरी छ।
राष्ट्रिय सम्पदा सम्पत्ति खरानी हुँदर्नुन थियाे सम्पदा सैनिक श्रमदानले उठ्ला रे। तर राजनीतिक खेलवाडले मारेको मेटेको इतिहास, सम्पदा, नेपाली भाषा, कला साहित्य संस्कृति, परम्परा, राष्ट्रिय एकता, सामाजिक सहिष्णुता, सहअस्तित्व, सु-संस्कार, कुटनीति र सैनिक गौरव जस्ता सफ्ट पावरको पहरा र संरक्षणमा सेनाले ध्यान दिन जरुरी छ।
निवृत्त सैनिक सफ्ट पावर रक्षक हुन सक्छन्। १८ देखि २८ बर्ष उमेरका जेन-जी सैनिकहरुको मनोविज्ञान, आकांक्षा र अपेक्षा बुझेर समयानुकूल परिवर्तन र सुधारका आयामहरु आउन र देखिनु पर्दछ।
यो सेराेमोनियल जिम्मेवारीको आकार घटाएर राष्ट्र निर्माणमा योगदान गर्ने समय हो। निवृत्त सैनिकहरू राष्ट्र निर्माणमा मूल्यवान हुन सक्छन्।
देश हल्ला र र्युमर्सले चलेको छ। साइकोलोजी वारफेर जारी छ। एआईको प्रयोग र केमिकल प्रयोगको फ्युजनले केही घण्टामा देश खरानी हुनु सुरक्षा असफलता हो। बायो टेरोरिज्मको उत्तिकै खतरा छ।
निवृत्त सैनिकलाई सु-संगठित गरेर देश निर्माणमा नलाउने हो भने उनीहरुको सीप र बल आतंककारी कित्तामा जान सक्छ। भूपू सैनिक संगठनलाई पुनर्संरचना पुनर्गठन र पुनर्ताजगी गर्ने यो अपूर्व अवसरको जंङ्गी अड्डाले सदुपयोग गर्नुपर्छ।
संगठनलाई अराजनीतिक, व्यावसायिक, मर्यादित राख्न कडा अनुगमन र दण्ड पुरस्कार नीति जरुरी छ। सम्पूर्ण संयन्त्र ध्वस्त भए भनेर सेनालाई बिग्रने, सुस्ताउने, सेलाउने छुट छैन।
प्रहरीको हौसला मनोवल उठाउने र सबलीकरणको लागि पहल गरिदिने काम सैनिक नेतृत्वको हो। अवैध युथ फोर्सको होइन।
भ्रष्टाचार र भदौ २४ को आतंकबादको छानविन र निरुपण भएन भने दोष सेनालाई आउने छ। बन्दुक र गोलीगठ्ठा फिर्ता, अपराधी नियन्त्रण शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने काम गृह र प्रहरीबाट मात्र सम्भव छैन। हतियार खरिद (बाई ब्याक) अभियान सञ्चालन गर्न बिलम्व भइसक्यो।
निरीह राष्ट्रिय सुरक्षा परिषदलाई अहिले पुनर्ताजगी नगरे कहिले गर्ने? खोई दुरुस्त सूचना संकलन र विश्लेषण संरचना, सञ्जाल, समन्वय र सहकार्य? राष्ट्रिय सुरक्षा परिषद र राष्ट्रिय अनुसन्धान विभाग सुधार र सक्रिय बनाउने यो महत्वपूर्ण अवसर हो। परम्परागत थोत्रे सुरक्षा योजनाको म्याद गुज्रियो। साइवर र एआई सुरक्षा, बायो टेरोरिज्म सुरक्षामा ध्यान केन्द्रित गर्न जरुरी भइसक्यो।
राजीनामा जानु अघि भूपू सैनिक संगठनको सदस्यता अनिवार्य गर्न जरुरी छ। कल्याणकारी कार्डमा भूपू सैनिक सदस्यता नम्बर दर्ज भएपछि मात्र कल्याणकारी सुविधा पाउने प्रावधान राख्नासाथ पूर्व सैनिकहरु एउटै सुरक्षा छातामुनी ओत लाग्ने छन्। गोलबद्ध हुने छन्। बाेलाएदेखि राष्ट्र निर्माणमा समेत जुट्ने छन्।
सैनिक नेतृत्वको सुझबुझ, सक्रियता, पहलता, स्वविवेक र असीम देशभक्तिले मुलुकको कायापलट हुन सक्छ। जुन संभव छ।
















Facebook Comment