‘डेनिग्रेटेड’ नेता पन्छाउँदै ‘डेलिभरी’ दिने एक अनुहार

जितेन्द्र जिसी
२ मंसिर २०८२ १४:२६
40
Shares

नेपालको राजनीतिको रंगशालामा आज एक स्पष्ट र क्रूर विभाजन देखिएको छ, एकातिर काम गरेर नतिजा दिने ‘डेलिभरी म्यान’ हरूको नयाँ लहर, र अर्कोतिर काम नगर्ने, केवल कुर्सी ताक्ने ‘परम्परागत मैमत्त’ शक्तिहरू। राजनीतिक पाचन प्रणालीले सत्यलाई पचाउने ‘डाइजेस्टिभ सिस्टम पूरा’ हुनसक्छ, तर व्यवहारको सत्य सधैँ अटल हुन्छ।

नेपालको भौतिक पूर्वाधारको कथा केवल सडक र पुलहरूको कथा होइन, यो शासकीय अक्षमता, दण्डहीनता, र जनतामाथिको घोर अत्याचारको कालो इतिहास हो।

वर्षौंदेखि अलपत्र परेका आयोजनाहरू-चाहे त्यो बुटवल-नारायणगढ सडक होस् या राजधानीका हरेक भत्काइएका गल्लीहरू-‘अक्षम सरकारको ऐना’ बनेका छन्। ‘अलपत्र सडक : भत्काउँदै छाड्दै, जनता माथि अत्याचार’ गर्ने छुट दिइयो।

कुलमान घिसिङको नेतृत्वमा नेपालले लोडसेडिङको अन्त्य गर्नु त्यही अटल सत्यको चम्किलो प्रमाण हो। यो कुनै राजनीतिक चमत्कार थिएन, बरु क्षमता, इच्छाशक्ति, र समयबद्ध डेलिभरीको परिणाम थियो। उनीविरुद्ध जति षड्यन्त्र रचिए, जति उनलाई सरकारले खेदेको खेदै गऱ्यो, उनी उति नै जनताको मनमा पपुलर नायकका रूपमा स्थापित हुँदै गए।

म त भन्छु: राज्यले उनलाई विस्थापित गर्न खोजेरै अपवादको रूपमा स्थापित गऱ्यो, खुबी त उनीमा छँदै थियो। निजी विचारमा उनलाई राज्यले लखेट्दै मन्त्रीको कुर्सी मा पुर्‍याएको हो। राज्यले खेदेरै नवराज सिलवाल, प्रहरी अधिकृतबाट सांसद बने, रवी लामिछने उप-प्रधानमन्त्री देखी जेल सम्म पुर्‍याइए। बालेन नचाहँदैपनि प्रधान मन्त्रीपद उनलाई छुँदै गयो, राज्यले ‘फिङ्गर’ गरे कै कारण।

संकटको बेला मन्त्री बन्नु वा बनाइनु पर्ने उनको माग निर्विवाद जस्तै थियो। मन्त्री बनेपछि उनले सम्हालेका प्रत्येक मन्त्रालयमा कामको गति, नतिजामुखी (Result-Oriented) व्यवस्थापन, र उत्तरदायित्व देखिन थाल्यो। एमालेका महेश बस्नेतहरूबाहेक अरू धेरैले सिटामोल खानु परेन।

महेश बस्नेतहरूको नाममा अक्षर बिगार्नुको कुनै अर्थ छैन, किनकि उनीहरू काम गर्नमा होइन, चाकरीका भारी बोकेर कुशासनको आहालमा नुहाउनमा व्यस्त छन्। तर, कुलमानहरूले डेलिभरी दिन थालेका छन।

काम गर्न थालेपछि शंकर पोखरेललाई मुटु पोले छ, भन्दै थिए, “कुलमानलाई हटानु पर्दछ।” हो, पुरानो दलमा हालिमुहाली गरिरहेका नेताहरूको समस्या त्यही निरछ-उनीहरूले काम गरेनन्।

डेलिभरी भन्ने कुरा उनीहरूका लागि ‘श्रीमती सुत्केरी हुँदा बच्चा दिने कुरा’ बाहेक अरू कुनै अर्थमा बुझिएन। तर, कुलमानहरू डेलिभरीमै तल्लीन, व्यस्त र मस्त छन्। अनि शंकर पोखरेलहरूलाई चुर्नापर्नु वा टिमुर लाग्नु स्वभाविकै हो।

‘डेनिग्रेट’को राजनीति

ल्याटिन भाषाबाट आएको शब्द ‘डेनिग्रेट’ (Denigrate) को मूल अर्थ हो: ‘कसैलाई पूर्णरूपमा कालो बनाउनु’ वा ‘खुइल्याउनु’।

लाग्छ, नेपाली राजनीतिको नाममा हालिमुहाली गरिरहेका मुट्ठीभर सो कल्ड नेताहरू लाई परिभाषित गर्न यो शब्द बनेको हो। उनीहरूले जानेको र गर्ने त्यही हो: एक अर्कालाई खुइल्याउने, बदनाम गर्ने, र गाली गर्ने। त्यो क्रम अब कुलमानहरूसम्म पुर्‍याउने कोसिस सुरु भएको छ।

कुलमानको ‘बेस्ट डेलिभरी’ विरुद्ध ठेकेदारको जालो

मन्त्री घिसिङको अग्रसरतामा सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार २५ रुग्ण ठेक्का एकसाथ तोड्ने सूचना जारी गरेर पुरानो राजनीतिक चेतमाथि डोजर चलाएको छ। सिँचाइका १२ रुग्ण ठेक्का तोडिएको र सडकका थप ४० ठेक्का तोड्ने तयारी ले यो लहर देशभर फैलिने संकेत दिएको छ।

 इतिहासको भण्डाफोर:  ठेक्का तोडिएका आयोजनाहरू आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० मा सम्झौता भएका छन्। यसले विगत दशकौँसम्मको राजनीतिक मिलिभगत, कमजोरी, र अक्षमता लाई एकैपटक उजागर गरिदिएको छ। ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका आयोजनाले नेपाली विकासको ‘कालो दाग’ बोकेका थिए।

खुम्ले किराहरूको सफाया:  विकासे कामको ठेक्का ओगटेर देशलाई पछि धकेल्ने ती ठेकेदारहरू देशकै ‘खुम्ले किरा’ हुन्। यी खुम्ले किराहरूलाई संरक्षण गर्ने नेताहरू ‘देशका दुश्मन’ हुन्। कुलमानले ‘ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति’ अन्त्यकालागि यो हदको निर्णय गर्नु ‘बेस्ट डेलिभरी यात्राराम्भ’ गरे कै हो।

प्रशासनिक कठोरता: सडक डिभिजन कार्यालय काठमाडौंबाट गत ११ कात्तिकमा ठेक्का किन नतोड्ने ? भन्दै सम्बन्धित २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधिएको थियो। निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको हो। यो कठोरताले ‘माया र पैसा थपेर’ ठेक्का मोलाहिजामा देशको विकास बन्धक बनाउने प्रवृत्तिको अन्त्य गरेको छ।

काम गर्नेलाई खेद्ने यो प्रवृत्ति बन्द हुनैपर्छ। कमजोरी भए कानुन छ, तर काम गर्नेलाई खेद्न छोडेनौँ भने, विगतका घटनाहरू (जस्तै: भदौमा केही मानिसका घर जले) भन्दा ठूलो विद्रोह हुन सक्छ।

 शासकीय अक्षमताको ‘रोग’ र ‘उपचार’: अन्तर-मन्त्रालय समन्वयको क्रान्ति

मन्त्री घिसिङको सचिवालयले दिएको अर्को महत्त्वपूर्ण खबरले नेपालका सरकारी अड्डामा हुने ढिलाइको मूल कारण माथि प्रकाश पारेकोछ- अन्तर-मन्त्रालय समन्वयको अभाव।

समस्या: उपत्यकामा ‘एक अर्कालाई देखाएर काम नगर्ने प्रचलन’ निकै बलियो अनि पुरानो हो। शहरी विकास मन्त्रालय, उपत्यका विकास प्राधिकरण, सडक विभाग जस्ता निकायहरू ‘ब्यबधान खडा’ गर्नमा तल्लिन थिए। यी नेपालका सरकारी अड्डामा हुने ढिलाईका नमुना हुन् जस्ले विकासमा सधैँ ब्यबधान खडा गर्छन्, एक-अर्कालाई देखार काम बाट पन्छिने।

त्यो पुरानो रोगमा कुलमानको उपचार: मन्त्री घिसिङ आफैं अग्रसर भएर यी निकायहरूलाई एकै ठाउँ भेला गरेर, काममा एकरूपता दिन, योजना अघी बढाउन, र नतिजा दिन निर्देशन दिएको बुझियो।

यसले स्पस्ट सन्देश के दिन्छ भने मन्त्री घिसिङले झैँ अन्य मन्त्रालयले पनि अन्तर मन्त्रालय समन्वय गराएर काम गर्दा नतिजा निस्किन सक्छ। नेपालमा विकासको बाधक स्रोत वा पैसा होइन, बरु राजनीतिक इच्छाशक्ति र समन्वयको अभाव हो।

 नयाँ चुनौतीको विस्फोट र ‘उज्यालो नेपाल’ को आवश्यकता

जनताले वर्षौंसम्म आशाको याचना गरेपछि, त्यो आशा टुटेको विस्फोट नतिजामुखी नेतृत्वमा देखिएको छ।

 नायकहरूको उदय: रवि लामिछाने, बालेन शाह र ‘डेलिभरी म्यान’ कुलमान घिसिङ जस्ता पात्रहरू नतिजामुखी नेतृत्वमा देखिएका छन्। “बिहानीले दिनको आँकलन गर्न सहज बनाउछ” भनेझैँ, अब धेरै समय कुर्नु पर्दैन, यी र यस्तै पात्र अघी बढ्दै र अन्य निस्किदै गरेमा।

चुनौती स्वीकार: कुलमान बन्चरे डाँडादेखि मेलम्ची, पूर्वका पहिरोसम्म जनताकै बीचमा पुगेका छन्। उनको यो कामको शैलीले पुरानो पुस्तालाई पसिना काढ्न बाध्य बनाएको छ। पसिना काढ्नु त ठीकै हो, तर उनीहरूले ‘उछीतो काढ्नु’ सरासर गलत हो।

खुइल्याउने, बदनाम गर्ने, गाली गर्ने क्रम रोक्नुपर्छ। यदि त्यस्तो दिन आयो भने, अब घर जल्ने छैनन्,  बरु सेख हसिनाको शैलीमा ज्यान जोगाउन मानसिक रुपमा तयार हुँदै गर्दा राम्रो होला। किनकि तिमीहरूसँग आशार टुटे पछीको विस्फोट देखिएको छ।

 समापन: अबको विकल्प डेलिभरी हो

काम नगर्ने ‘डेनिग्रेट’ राजनीति गर्नेहरूका लागि अब समय समाप्त हुँदैछ। रवि, बालेन, कुलमानहरूको उदयले दिएको सन्देश स्पष्ट छ: ‘काम नगरेर उछितो काढ्ने होइन, काम गरेर परिणाम दिने हो।’डर होइन, डेलिभरी को राजनीतिलाई संस्थागत गर्नुपर्छ।

काम गर्नेलाई त्रास हुँदैन, किनकि उनीहरूलाई जनताको साथ हुन्छ। पुरानो चेतका नेताहरूले बुझून्- उछितो काढ्नु गलत हो, पसिना काढेर परिणाम दिनु नै आजको युगको सबैभन्दा ठूलो क्रान्ति हो। यो नै नेपालको नयाँ बिहानी हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.