कविता : सपनाहरु

शंकरप्रसाद रिजाल
६ मंसिर २०८२ ७:४१
180
Shares

सपनाहरु एकान्त र रातका सुसेलीहरु हुन्
आशा उमंगका चम्किला संगीतका लहर हुन्
चन्द्राकासमा झिलिमिली गरी नाच्ने तरंग हुन्
जसले हाम्रो हृदयलाई शुद्ध र उज्यालो बनाउँछ

सपना गहिरो निद्रा हो जसले आत्मालाई पर
परसम्म उडाइ स्वर्गदेखि पाताल घुमाउँछ
चन्द्रसूर्य र तारा छुने जस्ता भावना जगाउँछ
यो बिशाल संसारमा स्वतन्त्र कल्पना बनाउँछ

यो एक बिचार उडानको सफा क्यान्भास हो
हरेक बिचार एक सपनाको सानो बत्ती हो
हृदयका हरेक अँध्यारोलाइ उज्यालो बनाउँछ
सपनाको संसार जहाँ स्वतन्त्र घुम्न पाउँछौं

यसैबाट हामी ठूलो भाग्यमानी मानिस बन्दछौं
हरेक जीवनको अँध्यारोबाट उज्यालोमा आउँछौ
सपनामा हाम्रो गहिरो इच्छाले बास गर्छ
आशा र भय साथसाथै पछि लागेको हुन्छ

आफूले नपाएका कुरा सपनामा पाउने गर
आश गर तर त्यो कुराको भर नपर किनकि
त्यो बिपना होइन सपना हो, हो कल्पना सरि
महाराजा बन्ने इच्छामा सपनामा भुली रहें

सिकन्दर बन्ने धोकोमा घोडा चढी हिँडी रहें
हवाई जहाज उडाएंँ, भ्रष्टाचारको दोलो कटाएँ
इमान धर्म र नैतिकताको जग बसालें
तर सपना सरी भइगयो बिपनामा सब गुमाएँ

हा! सपना अहो! सपना के सपना! कस्तो सपना
आखिर जीवन बिपनामा नै सधैं बिताएँ
आखिर जीवन बिपनामा नै सधैं बिताएँ।

गरीबी माथिको अत्त्याचार

भगवान एक छिन मात्र मानिस भई हेर
धर्तीमा चार दिन मात्र पाहुना भई हेर

हरेक दिनको यादमा म कुरेको छुँ तिमीलाई
आउँछौ कि भन्ने बिश्वाश छ हामी निर्धनलाई

पूजा गर्छु म तिम्रो हरदिन हातजोडी मिलाई
बर्सियोस् म माथि फूल तिम्रो हातले मलाई

आशा उमंग ती सारा मनभरी भरिँदै गयो
बस्दा बस्दै सबै आशा निराशामा बदली गयो

दुःखी गरीब सबै रुन्छन् तिम्रो एक दर्शनमा
आएर सबै हेर हामी दुःखी गरीब मानिसमा

यो धनी संसारमा गरिबी कुन्नि केले भयो
तिमी सृष्टिकर्तामा के के ले छेक्न गयो

हिमाल पाहाड तराइ सब तिमीले बनायौ
संसारमा सबैखाले झिली मिली रचायौ

तर सबै निर्धनदेखि तिमी किन हरायौ
भगवान तिमी धर्तीमा दुई दिन मानिस बनी आउ

धर्तीमा चार दिन मात्र तिमी पाहुना बनी आउ
धर्तीमा भगवान तिमी पाहुना बनी आउ

पुकार मेरो सुनीदेउ मुसुक्क हाँसीकन
सुटुक्क आउ हृदय भित्र नडराई कन

शिलशिला

कहाँ छन् यहाँ लिपिबद्धका कुरा
ज्ञानको सागरमा मुछिएका सबै कुरा
बिषय प्रवेश गर्दा पहिलो शिर्षकको कुरा
सुरुगर्दा मन भित्र उम्रिएका सयौं कुरा

ज्ञानको मातले शिर्षक अनुसार हुन्न त्यो
तैपनि लेखन लेख्दा बढारी आउँछ यो
राजनीति लेख्दा इतिहास दोहरिन्छ नै
शिलशिला नमिलेदेखि लिपिबद्ध बिग्रन्छ नै

लेखकले लेख लेख्दा दोहोरिन्छ कहीँ कहीँ
मन बचनले पढ्दा भाव झल्किन्छ जहीँत्यहीँ
को छ त्यो दुनियामा जसले सर्बत्र मिलाउने
शिलशिलानै मिलाउँ भन्दा भावना पल्टीआउँछ

पल्टी पल्टी आउँदा मनभित्र दोहोर्याउँछ
गतिमा शिलशिला हुन्न भाव मनको ठूलो
यसले नै बढाउँछ सारा दिमागको दुलो
ज्ञानीको ज्ञान खिचडी हो सारा विश्व अटाउने

लेखमा अलेख थप्दै थप्दै सारा कुरा मिसाउने
लेख इतिहासका पानामा राजनीति किन घुस्दछ
ठूला विद्वानले जे लेख्छन् त्यो सबै किन चुस्तछ।

सुन्दरता

सुन्दरता एक अनमोल हार हो
यो जीवनको एक उपहार हो
कायाले प्रेम सुन्दरता कहलाउँछ
भित्र मनलाई चम्किलो बनाउँछ

यो हाम्रो आत्मामा बसेको हुन्छ
जसले जीवनमा महिमा बढाउँछ
सुन्दरता हाम्रो आँखामा छ
हाम्रो हृदयमा छ, आत्मामा छ
र बिचारमापनि छ
सुन्दरता एक अविरल शक्ति हो
जसले हामीलाई बलियो बनाउँछ।
यसले हामीलाई सजिलो बनाउँछ र
अर्काको जीबनमापनि सकारात्मकता
पैदा गर्दछ।

यो अनमोल उपहार हो, यो चम्किलो छ
सुन्दरता मनको प्यासी भित्र भित्रै हसाउँछ
दया माया र प्रेममा यो हाँसी रमाउँछ
लागेको दागका बादल हावाले उडाउँछ
नीलो आकासमा सूर्यझैं तेजिलो बनाउँछ
सबै तारा बनुन् म चन्द्रमा बनीरहु
म आकासमा ज्योति फैलाई रहुँ
धर्तीमा म सधैं उज्यालो पारी रहुँ
म सधैं सुन्दरताको गीत गाइ रहुँ
सधैं सुन्दरताको गीत गाइ रहु

भाग्य

भाग्य कहाँ सबैको एकै हुन्छ र
कोही पत्नीसँग बिछोडीएका छन् त
कोही मातापितासँग बिछोड़ीएका छन्
कोही भाई बहिनीसँग बिछोडीएक छन् त
कोही आफन्तसँग बिछोड़ीएका छन्।

मानिसको के कुरा देवताकोपनि उही कुरा
भाग्यले कसैलाई छोड्दैन यही हो जीवनको लिला
शिवजीपनि रोएथेँ सतिदेवीको बिछोडमा
रामैपनि वनवन घुमेथे सीताजीको खोजमा।

कृष्ण योगेश्वरपनि रोएथे राधाको बिछोडमा
हामी मानिसहरु त के हो भाग्यको नजरमा
भाग्यलाई नसम्झ सानो ठूलो हुनपनि सक्तछ
गरीबलाई धनी बनाइ धनीलाई थचार्न सक्तछ।

कर्मको हातले नै भाग्यको जन्म गराउँछ
हिँड्ने दुई खुट्टाले नै भाग्य बलियो बनाउँछ।
भाग्यमा थोर आशा राखी कर्म नै गरने गर
भाग्यमा छ भन्दैमा डोकोमा दुध नभर्ने गर।

इमान्दार बनी सधैं कर्ममा लागने गर
कर्मै छोड्यौ भने फेरि दुःख भोग्नु पर्ला हेर
आफ्नो काममा लाग आशा कसैको नगर
भाग्यलाई सम्झी सम्झी रुने कैले नगर।

भाग्य एउटा विश्वाश हो गर या नगर
कर्म तिम्रो कर्तब्य हो यसैमा बिश्वाश गर
कर्म तिम्रो कर्तब्य हो यसैमा बिश्वाश गर।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *