दुई दिने हेटौंडा भ्रमण (अन्तिम भाग)
होटेल स्मारकको चौथो तल्लामा केही बेर सुस्ताए पछि त्यहाँबाट हेटौँडाको बाहिरी भाग, राप्ती नदी, चुरे र महाभारत पर्वत श्रृंखलाको फेदीका हरित पहाडको मनमोहक दृश्यावलोकन गर्यौं।
होटेलमा रहेको रेष्टुरेन्टमा नै दिउँसोको खाना खायौँ। एउटा सानो कामको लागि गएका हामी दुई दिनको मात्र भ्रमण भएकोले खाना खाए लगत्तै बाहिर निस्कियौँ। एकथरी आफ्नो काममा निस्किए भने म त्यतिञ्जेल वुद्धचोकमा ओर्लेर त्यहाँको सेरोफेरो घुम्न पट्टि लागेँ।
पछिल्लो जनगणनाले यहाँको जनसंख्या दुई लाखको हाराहारीमा भएको बताए पनि मुलुकको विभिन्न ठाउँबाट विभिन्न कामको सिलसिलामा बसोबास गर्न आएका मानिसहरू पनि जोड्दा सो भन्दा निकै बढी हुन आउँछ।
समुद्रको सतहबाट ३०० देखि १,८६० मिटर यानी निकै तल्लो समथर भूमिदेखि पहाडको फेदीसम्म फैलिएको यो शहरको मौषम उष्ण र समशितोष्ण दुवै प्रकारको छ। अन्य यस्तै शहरहरूमा जस्तै तल्लो भेगका मानिसहरू गर्मीयाममा माथिल्लो क्षेत्रमा शितल पछ्याउँदै केही बेरको निम्ति जाने गर्दछन्।
बुद्धचोक क्षेत्रमा हेटौंडाका पुराना मानिसहरूका पुर्खौली घरहरू छन् भने ससाना इलम पनि सञ्चालनमा छन्। बाटोको दुवैतिर अशोकका बोटहरू लगाइएका। त्यहीँ एउटा दोकानमा आफ्नो गाडी र मोटरसाइकलको नम्बर प्लेट तथा केही रबर स्टाम्पहरू पनि बनाउन दिएँ। नमुना दिएको केही समयमा नै ती वस्तुहरू निकै सस्तो दाममा तयार भए।
भीमफेदीको बजार सुक्न शुरु भए पछि अर्थात् त्रिभुवन राजपथको निर्माण पश्चात् त्यहाँका अधिकांश व्यापारीहरूले हेटौंडाको बुद्धचोक क्षेत्रमा नै आफ्नो व्यापारलाई सार्न थाले। यसो हुनाले हेटौँडाको यो क्षेत्र छिटै गुल्जार हुन शुरु भयो। चारकोशे झाडी फाँडेर बसाइएको बस्ती भएकोले हेटौँडामा अझै पनि वनजंगलको अवशेष बाँकी नै छ भने काठ र फर्निचरको व्यवसाय पनि राम्रै छ।
आजभन्दा ५० वर्ष पहिलेसम्म पनि हेटौँडा बजार भनेकै बुद्धचोकको सेरोफेरो मात्र थियो। वि.सं. २०२६ सालमा सानो बस्तीबाट नगरपालिकामा रुपान्तरण भएको थियो हेटौंडा। आज आएर उप-महानगरपालिकामा रूपान्तरण भएको छ भने बागमती प्रदेशको राजधानी पनि हो हेटौंडा।
२०२८ साल माघमा राजा भएका वीरेन्द्रले त्यसको केही वर्षपछि हेटौंडा लगायत पोखरा, सुर्खेत आदि साना शहरी बस्तीलाई नगर विकास योजना अन्तर्गत टाउन प्लानिङ गर्न लगाए पछि आज आएर यी शहरका धेरैजसो भागहरू निकै योजनावद्ध तवरले विकास भएका छन्।
हेटौंडा र यसको सेरोफेरोमा रहेका घुम्न लायकका ठाउँहरूमा शहीद स्मारक पार्क, पुष्पलाल पार्क, भुटनदेवी, चुरियामाइ, मनकामना, पशुपतिनाथ, गोरक्षेश्वरको मन्दिर, कुष्माडशरोवर, भैरवडाँडा, गुम्बाडाँडा, ऐतिहासिक सुरुङमार्ग, मकवानपुर गढी, त्रिवेणीधाम आदि छन्।
बुद्धचोकबाट पुर्वतिर पनि मुख्य शहर फैलिएको छ भने यो बाटोबाट अघि बढ्दै जाँदा कान्ति राजपथ हुँदै मकवानपुरगढी र काठमाडौं पुग्न सकिन्छ। हेटौंडाबाट यो सडक पछ्याएर थोरै अगाडि गए पछि सडकको दुवैतिर खुवा बनाउने साना साना उद्यमहरू भेटिन्छन्। त्यहाँको खुवा नेपालभरमा नै प्रसिद्ध छ।
उतिबेलै हेटौंडामा औद्योगिक क्षेत्रको समेत विकास भएको र राजा वीरेन्द्र विकास क्षेत्रहरूको भ्रमणको सिलसिलामा प्रत्येक वर्ष राजधानीबाट बाहिर निस्कँदा हेटौँडा पनि उनको प्राथमिकताको सूचिमा पर्ने गर्दथ्यो। हेटौँडामा राजा महेन्द्रको शासनकालदेखि नै एक राजप्रासादको निर्माण गरिएको थियो।
सिमरा क्षेत्र शिकारको लागि पनि निकै लोकप्रिय भएको तथा भारत जाने प्रस्थान विन्दू पनि भएकोले र जाडो छल्न पनि हेटौँडा उपयुक्त ठाउँ भएकोले राजादेखि अन्य सम्भ्रान्त व्यक्तिहरूले समेत हेटौँडामा ठूलासाना बासस्थान बनाएका थिए।
राजा महेन्द्रको शासनकालदेखि नै दरवार भएका यस्ता क्षेत्रमा आफ्ना वफादार मानिसहरूलाई जमीन बकस दिने वा बक्सिने चलनै थियो। चितवनमा पनि धेरैले पञ्चायती व्यवस्थाताका यस्ता घडेरी र खेत बकसमा पाएका थिए।
हेटौंडाको हकमा पछिल्ला राणा शासकहरूबाट पनि धेरै आसेपासेले बकस पाएका थिए भने राणाशासकबाट डाँडा कटाइएका र खदेडिएका चौतारिया र अन्य राणा भारदारहरू पनि हेटौँडा, सिमरा र वीरगञ्जतिर बस्न रुचाउँदथे।
राणाशासन ताका कतिपय भारदारहरूले हेटौंडामा ठूला ठूला पोखरी बनाएर माछा पालन गरेका रहेछन्। २००७ साल पछि त संयुक्त राष्ट्रसंघ, विश्व खाद्य संगठनको सहयोगमा हेटौँडामा कमर्सियल फिस फार्मिङ अन्तर्गतको झण्डै ७५ बिगाहा जमीनमा कैयन् पोखरी बनाएर माछा पालिएको रहेछ।
सो फार्म बनाउन आएका विदेशीहरूले त्यहाँ पोखरी खन्दा दिनहुँ ठूलो संख्यामा भ्यागुता र गँगटा पक्रेर खाने गरेका किस्सा सुन्नमा आएको थियो। हाल पनि माछा पालन गर्ने किसानहरू धेरै छन् हेटौंडाको सेरोफेरोमा।
हामी साना छँदा त्रिभुवन राजपथ हुँदै हेटौंडा जाँदा त्यहाँको खुला आकाश र समथर तथा खुला क्षेत्र, स्वच्छ हावापानी, आँखा अगाडि नै हरिया पहाड र फाँट अनि जंगल देखिने, हेटौंडा औद्योगिक क्षेत्रभित्रका स्टार वियरदेखि जनावरको हाडखोरबाट टाँकदेखि मलखाद बनाउने उद्योग, कपडा कारखाना, काठ चिरान गर्ने मीलहरू र अन्य कारखाना देख्दा मन निकै आनन्दित हुने गर्दथ्यो।
कुनै बेला हेटौँडा राजधानी तथा अन्य क्षेत्रमा काठ र दाउरा आपूर्ति गर्ने केन्द्र नै बनेको थियो। यहाँ अमेरिकी सरकारको सहयोगमा एक आधुनिक काठ चिरानी गर्ने श–मिल नै स्थापना भएको थियो। अलिक पछि त हेटौँडामा ठूलो सिमेन्ट उद्योगको पनि स्थापना भयो। यो उद्योगमा चुनढुंगा ओसार्नको निम्ति रोपवेको पनि निर्माण गरिएको थियो।
एक पटकको हाम्रो भ्रमणमा मेरा पिताजीका भाइ सरहका चेला रविन्द्रनाथ रिमाल सो सिमेन्ट उद्योगका महाप्रवन्धक थिए। हामी बुवाआमा र म एक रात उनको पाहुना भएर उनकै भव्य क्वार्टरमा बसेका थियौँ। भोलिपल्ट उनले सो विशाल सिमेन्ट कारखानाको अवलोकन समेत गराएका थिए।
समयको निरन्तर प्रवाहसँगै आज आएर न त त्यो सिमेन्ट कारखाना जिवित छ, न नै ती रोपवेहरू। कैयन् भारतीय कम्पनीहरूले स्थापना गरेका प्रख्यात कारखाना तथा कम्पनीहरू पनि मजदूर आन्दोलन र हिंसात्मक द्वन्द्वका कारण बन्द हुन पुगे भने कैयन् नयाँ उद्योगधन्दाको स्थापना हुँदै पनि गएको छ।
पछिल्लो समयको मधेश आन्दोलनले गर्दा हेटौँडा लगायत मुलुकका अधिकांश भित्री मधेशका शहरहरू मधेशबाट बसाइँ सरेका पहाडियाहरूका बसोबासका केन्द्र बन्न पुगे। एक किसिमले यस्ता वृहत् बसाइँले इटहरी, नारायणगढ, बुटवल, सुर्खेत लगायत अन्य शहर जस्तै हेटौँडामा पनि जग्गा किनबेच बढ्न गएर र यो एक गुल्जार शहर बन्न पुग्यो।
अर्को तर्फ यो शहर र यसको सेरोफेरोको पुरानो पहिचान र स्वच्छता गुम्दै पनि गएको छ। जनसंख्याको वृद्धिसँगै जताततै घरटहरा, उद्योग, व्यापारिक संरचना, शिक्षण र स्वास्थ्य संस्थाहरू बनेका छन् भने यातायातका साधन पनि ह्वात्तै बढेका छन् र फोहरमैला पनि।
पहिलेका जस्ता मनमोहक फाँट तथा बाँझा र सजिव जमिन अब ज्यादै कम मात्र भेटिने गरेका छन् र नदी तथा खोलाहरू पनि फोहर हुन थालेका छन्। तर एक सानो बस्तीले ठूलो शहरको रूप धारण गरेपछि यहाँको अर्थतन्त्रमा भने कायापलट भएको छ।
जनताको समृद्धिको निम्ति मुलुकको चौतर्फी विकास नभइ नहुने कुरा हो तर त्यसलाई उचित तवरले अगाडि बढाउन सकिएन भने त्यो विकासबाट नै धेरै कुराको विनास हुन सक्दछ।
खासगरी स्थानीय सरकारहरू सबल र दूरदर्शी हुन सके भने शहरीकरणले पनि व्यवस्थित ढङ्गले अघि बढ्ने मौका पाउँछ र त्यो क्षेत्रको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पक्षको पनि संरक्षण र सम्वद्र्धन हुन पाउँछ।
नेपालको पुर्वी भागबाट रात्रीबसमा त्यतिबेर कैयन् पटक काठ्माडौँ ओहोरदोहोर गर्ने क्रममा आधा रातमा हेटौँडा पुग्दा लहरै मधुरो ट्युब लाइट जडित बत्तिका खम्बाहरू करिव आधा किलोमिटर जति देखिन्थे।
हेटौंडाको रात्रीकालीन पहिचान त्यति मात्र थियो। हामी चढेको बस त्यहाँबाट थोरै अगाडि बढेर पश्चिमतर्फ मोडिए पछि एउटा अँध्यारो झाडी जस्तो जङ्गलमा रोकिन्थ्यो र त्यहाँबाट टर्चलाइट बाल्दै आएको व्यक्तिले बस चालकलाई बदली गरेर बाँकी यात्रा तय गराउँथ्यो।
बुद्धचोक हाल निकै गुल्जार ठाउँ भएको छ। वास्तवमा नेपालका धेरै शहरहरूमा बुद्धचोक रहेका छन्। हेटौँडाको जीरो प्वाइन्ट भने पनि फरक नपर्ने बुद्धचोक महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको मिलनबिन्दु पनि हो।
यहाँबाट उत्तरतिर गए पुरानो बजार र भीमफेदीतिर जाने बाटो शुरु हुन्छ भने यसको दक्षिणतिरबाट कर्राखोलासम्म फैलिएको यो शहरबाट पथलैया हुँदै दक्षिणमा सिमरा तथा वीरगञ्ज र पुर्वमा नेपालको पुर्वी भाग जाने बाटो पर्छ।
यो बाटोको शहरी क्षेत्रको झण्डै आधा किलोमिटरसम्म दुवैतिर अशोकको वृक्षहरू रोपिएका छन्। यो सडकलाई चौडा बनाउने पुरानै योजना भए पनि अझसम्म सोको शुरुवात भएको देखिँदैन। बैंकहरूका शाखा तथा विभिन्न व्यवसायका कार्यालयहरू बुद्धचोक वरीपरी नै अवस्थित छन्।
यहीँबाट हामी अगाडि जाँदा नेपालकै तेस्रो औद्योगिक शहर हेटौँडामा अवस्थित हेटौँडा औद्योगिक क्षेत्र पुगिन्छ। पहिलेको दाँजोमा नेपालका सबै औद्योगिक क्षेत्रभैmँ यो पनि ज्यादै अव्यवस्थित भएको छ भने कलकारखानाहरू थपिएर यहाँ स्थानाभाव पनि हुँदै गएको महसुस हुन्छ।
चुरियामाईको दर्शन गर्ने हेतुले हामी यही बाटोबाट अघि बढेपछि राजमार्गको बायाँतर्फ सो मन्दिरको बाहिरी भागमा पुग्यौँ। यो मन्दिर हेटौँडाको एक प्रख्यात धार्मिकस्थल हो। यहाँ देवीको दर्शन गर्न मुलुकभरबाट भक्तजनहरू आउने गर्दछन्।
मंगलबार र शनिबारको दिन विशेष भीड लाग्ने यो मन्दिरमा भक्तजनहरू आफ्नो मनोकामना पुरा हुने आशामा जाने गर्दछन्। राजमार्गको किनारामा सानो मन्दिर छ र त्यहाँबाट उकाली लागे पछि चुरियामाइको मुल मन्दिरमा पुगिन्छ।
चुरे पर्वतमालामा देवीको उत्पत्ति भएको विश्वासमा यो चुरियामाइको मन्दिर निकै पहिले नै स्थापना भएको हो। महाभारतको किम्बदन्तीमा घटोत्कच र हिडिम्बाको बासस्थानको रूपमा लिइएको क्षेत्र आजको हेटौँडा हो। त्यसैले पनि यहाँ धेरै पुराना धार्मिक सम्पदा र मठ-मन्दिरहरू रहेका छन्।
मन्दिरको दर्शन गरेपछि हामी दक्षिण एशियाकै प्रथम सुरुङमार्ग हेर्न त्यहाँ नजिकै पुग्यौँ। प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा बनेको यो सुरुङमार्ग शुरुमा करिव आधा किलोमिटर लम्बाइको थियो। तर पछि नयाँ सडकको निर्माणसँगै यो सुरुङमार्ग निकै समयदेखि अवरुद्ध भएको थियो।
वि.सं. २०७२ सालको महाभूकम्पमा निकै क्षतिग्रस्त भएपछि बागमती प्रदेश सरकारले पुनर्निर्माण गरेर हाल २२५ मिटर जति खोलेको र सशुल्क प्रवेश गर्ने गरी संग्रहालयको रूपमा अवलोकन गर्ने व्यवस्था मिलाएको छ।
सन् १९१७ मा नेपाली सेनाका इन्जिनियर डिल्ली जङ्ग थापाको डिजाइन र अग्रसरतामा निर्माण भएको यो सुरुङमार्ग नौ फिट चौडा र दश फिट अग्लो छ भने सम्भवतः यो दक्षिण एशियाकै पहिलो सुरुङमार्ग हो। हामी धेरै विकासे कुराहरूमा पहिलो भए पनि पछि ती कुरामा निकै पछाडि पर्ने गरेका छौं।
जस्तै जलविद्युत उत्पादन (फर्पिङ), रोपवे सञ्चालन (धुर्सिङ-मातातिर्थ), तोप (गेहेन्द्रशमशेरको वीरगज) को निर्माण, चन्द्र नहर, पछिल्लो समयमा ट्रलिबसको निर्माण आदि इत्यादि। यो सुरुङमार्ग निरै एउटा पार्कको पनि निर्माण हुँदै रहेछ। जे होस् नेपालको एक गौरवपूर्ण इतिहासको साक्षी यो सुरुङमार्ग पुगेर अवलोकन गर्दा मन निकै प्रसन्न भयो।
फर्कँदा बुद्धचोक पुग्ने बेलामा सडकको बायाँतर्फ रहेको वन अध्ययन क्याम्पसनिरको भुटनदेवी चौरबाट अलिक परको भुटनदेवीको मन्दिरमा गएर हामीले भुटनदेवीको विशाल प्रतिमा र भगवान शिवको दर्शन गर्यौं।
माथि उल्लेख गरिए जस्तै कान्ति राजपथ शुरु हुने ठाउँमा पुगेर खुवा र अन्य स्थानीय खानाको दिव्य आनन्द लिएपछि हामी होटेलतिर फर्किंदा पाथिभराको मन्दिरको दर्शन गर्ने सोचका साथ राप्तीको पुलनिरबाट दाहिने तर्फ रहेको बुद्धको मुर्तिसँगैको ढलान गरिएको बाटो हुँदै उकाली लाग्यौं।
अति सुनसान र साँघुरो र भिरालो बाटो हुँदै अगाडि बढ्दै गएपछि हामी पार्किङ क्षेत्रमा पुग्यौं। पुजाको सामान त्यहीँ किन्न पाइँदो रहेछ। त्यहाँको मुलगेटबाट भित्र पसेपछि पाथिभराको सून्दर मन्दिरमा पुग्यौँ र दर्शन पनि गर्यौं।
मन्दिर परिसरमा रहेका भगवान विष्णुको बुढानिलकण्ठ रूपी विशाल प्रतिमा र अन्य देवदेवीको दर्शन गरेर त्यहाँ रहेको भ्यूटावरबाट हामीले हेटौंडाको दृश्यावलोकन गर्यौं। मौषम राम्रो भएको बेलामा वीरगञ्जसम्म पनि देखिन्छ भनेको पनि सुनियो।
फर्केर होटेलमा केहीबेर आराम गरेपछि जलक्रिडाको निम्ति होटेल परिसरको पौडी पोखरीमा पस्यौं। दिनभरीको थकाई मेटेर हामीले होटेल कै रेष्टुरेन्टमा गएर रात्रिकालीन हल्का र मिठो खाना खाए पछि त्यहीँ नजिक रहेको शहीद स्मारक पार्कमा घुम्न गयौं।
बुद्धपार्कबाट चितवन जाने पश्चिमी राजमार्गको राप्ती नदी तरेपछि यानी हेटौँडा बजारबाट सात किलोमिटर पर गएपछि दाहिने तर्पm पार्कको प्रवेशद्वार कटेर उकाली लाग्दै हाम्रो होटेलबाट अलिक अगाडि गएपछि शहीद स्मारक पार्कको भव्य मुलढोका पुग्यौं हामी। बाहिर थुप्रै मोटरसाइकल र अन्य सवारीसाधन पार्क गरिरहेको। गर्मीको याम भएकोले बेलुकीपख त्यहाँको बत्तीको उज्यालोमा घुम्नेहरूको भीडै लाग्दो रहेछ।
प्रवेश शुल्क तिरेर भित्र पस्ने वित्तिकै एक संग्रहालयमा हामी पस्यौँ। संग्रहालयमा अन्य सामग्रीका साथै विभिन्न नेताहरूका पूर्णकदका शालिकहरू पनि हे¥यौँ भने सम्झनाको निम्ति सोभेनियर र पुस्तकहरू पनि किन्यौँ।
भगवान वुद्धको जन्म हुँदाको विस्तृत विवरण झल्कने एक सानो पार्क पनि बनेको रहेछ सो परिसरमा। पार्कभित्र निकै कलात्मक बेन्चीहरू राखिएका। पानीका फोहरा र निकै राम्रो बगैंचासहित आधुनिक कलाकृतिले सजिसजाउ यो पार्क निकै आकर्षक छ।
शहीद स्मारक पार्कको बीचमा एउटै विशाल ढुंगामा खोपिएर शहीदहरूको प्रतिमूर्तिहरू बनाइएको छ। पञ्चायती कालदेखि नै बन्न शुरु भएको यो पार्कमा पछिल्ला शहीदहरू समेतको प्रतिमाहरूको साथै हिमाल, पहाडको प्रतिमूर्ति राखिनुका साथै नेपालमा पाइने विभिन्न प्रकारका जीवजन्तुहरूलाई एकत्रित गरेर एक चिडियाखानाको पनि निर्माण गरिएको रहेछ।
एउटै परिसरभित्र शहीदहरूको प्रतिमा, प्राकृतिक सम्पदाहरूको संग्रह, निकै आकर्षक संग्रहालय र एक वृहत् चिडियाखाना र निकै सून्दर र सफा पार्कको समेत अवलोकन भ्रमण गर्दा निकै खुशी महसुस भयो।
तर समयाभावले गर्दा हामीले यो सब कुराको अवलोकन छिटो छिटो गर्नुप¥यो। अर्को पटक आउँदा कम्तीमा पनि आधा दिन व्यतित गर्ने प्रणका साथ हामी होटेलमा फर्केर त्यो दिनलाई विसर्जन गरी निद्रादेवीको काखमा लुटपुटियौं।
बिहान छिटै उठेर नित्यकर्म गरेपछि केहीबेर हिजोको यात्राको टिपोटहरू बनाउन र डायरी लेख्ने काममा व्यस्त भएँ भने केहीबेर हेटौँडामा अन्य कुन कुन ठाउँ हेर्न बाँकी रहेछ भनेर पनि बुझ्ने कोशिश गरेँ। हेटौँडा धार्मिक हिसाबले निकै महत्वपूर्ण स्थल रहेछ।
यहाँको त्रिवेणी धाम र एक सय आठ धारामा नुहाउनु भनेको मुक्तिनाथ नै पुगे सरह हुने रहेछ भने काठमाडौँतर्फ जाँदा यहाँको मनकामना माईको मन्दिर पनि घुम्नै पर्ने तीर्थ रहेछ। त्यसैले यसपालीको लागि धेरै ठाउँ घुम्न नभ्याए पनि हामीले फर्कंदा मनकामनाको मन्दिरमा भने दर्शन गर्ने निधो गर्यौं।
केहीबेर होटेल बाहिर गएर शहीद पार्कसम्मको बिहानीको हिँडाई पश्चात् होटेलमा फर्केर स्नान तथा नास्ता गरे पछि हामी काठमाडौँको यात्राको निम्ति निस्कियौं। बिहानीको समयको शान्त बुद्धचोक पुगेर उत्तरतर्फ लागेपछि हामी पहिलो बस स्टपबाट दाहिनेतर्कोफ बाटो समाएर मनकामना मल्टिपल क्याम्पस हुँदै गाडीमा उकालो उक्लियौं।
जंगलको शान्त र साँघुरो बाटो हुँदै घुमाउरो उकालो चढ्दा बाटोमा धेरै मोटरसाइकल र ट्याम्पोहरू ओहोरदोहोर गरिरहेको पनि देख्यौँ। करिव १५ मिनेटको उकालो मोटर यात्रा पछि हामी मनकामनाको सून्दर र पावन मन्दिरमा पुग्यौं।
मनकामनाको मन्दिरको दर्शन पछि हामी यसपालीको हेटौँडा भ्रमणलाई बिट मारेर हिजो आएको बाटो हुँदै नै आरामले काठमाडौं फर्कियौं र दक्षिणकालीको मन्दिर आइपुगे पछि मनमनै मातालाई यात्रा सफल भएकोमा नमन गर्दै धन्यबाद दिएर घरतर्फ हिँड्यौ।
-लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल एवम् समसामयिक गायक समाजका अध्यक्ष हुन्।
















Facebook Comment