बागमती गाउँपालिकाको बगाहमा पहिलोपटक बस सेवा सञ्चालन
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–२ बगाहका स्थानीयवासीले गाउँमा पहिलोपटक बस सेवा संचालन भएपछि बसका चालक र सहचालकलाई हार्दिक स्वागत गरेका छन्।
बिहीवारदेखि हेटौंडा–राईगाउँ–बगाह–डोटे हुँदै रौतहटको क्यान्टिनसम्म नियमित बस सेवा औपचारिक रूपमा सञ्चालनमा आएपछि दशकौँदेखि यातायातको सहज पहुँच नपाउँदै आएका स्थानीयहरू उत्साहित बनेका हुन्।
यसअघि बगाह क्षेत्रमा साना गाडीहरूले मात्र यात्रा सुगम बनाउने प्रयास गरे पनि भौगोलिक कठिनाइ र सडक संरचनाका कारण ठूला सवारीसाधन चल्न सकेका थिएनन्। अब भने पहिलोपटक बस नियमित रूपमा गाउँसम्म पुगेपछि स्थानीयले यसलाई ऐतिहासिक क्षणका रूपमा मनाएका छन्।
गाउँको चोकमै भेला भएका स्थानीयहरूले चालक–सहचालकलाई फुलमाला र अबिर लगाई सम्मान गर्दै बस संचालन सुरु भएकोमा खुसी व्यक्त गरे। बस सेवा प्रारम्भ भएपछि बगाह र आसपासका बस्तीमा बसोबास गर्दै आएका सर्वसाधारणलाई तराई तथा जिल्ला सदरमुकाम हेटौंडासम्म पुग्न निकै सजिलो हुने स्थानीयको भनाइ छ।
नयाँ बस सेवा सुरु भएपछि दैनिक जीवन, व्यापार–व्यवसाय, शिक्षाको पहुँच तथा रोगी बोक्ने सुविधामा समेत ठूलो सहजता आउने अपेक्षा गरिएको छ। स्थानीयहरूले सरोकारवालाहरुलाई नियमित मर्मत–सम्भार र सेवाको निरन्तरतामा ध्यान दिन पनि आग्रह गरेका छन्।
बगाह–डोटे–राईगाउँ हुँदै क्यान्टिनसम्म चल्ने यस बस सेवाले ग्रामीण क्षेत्रको आवतजावतलाई नयाँ आयाम दिएको स्थानीयहरूले बताएका छन्।







डिसी नेपाल








Facebook Comment