हिमाली गाउँ उमाकुण्डले दियो नागरिकलाई वडाबाटै सबै सरकारी सेवा

डिसी नेपाल
७ मंसिर २०८२ १९:०१
24
Shares

रामेछाप । रामेछापको एक मात्र हिमाली गाउँपालिका उमाकुण्डले नागरिकलाई वडास्तरबाट नै सबै सरकारी सेवा दिन एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ।

भौगोलिक हिसाबले विकट गाउँका नागरिकलाई सरकारी सेवा लिन सदरमुकामसम्म पुग्नु नपरोस् भनेर गाउँपालिकाको आयोजनामा सबै प्रशासनिक सेवा वडा कार्यालयबाट नै घुम्ती शिविर मार्फत दिइएको हो।

शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र, अपाङ्गता परिचयपत्र, उद्योग दर्ता तथा नवीकरण, योजना सम्झौता, पशुबस्तुको औषधि वितरण लगायतका सेवा दिइएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए। यो कार्यक्रम गाउँपालिकाले लगातार ४ वर्षदेखि हरेक वर्ष सञ्चालन गर्दै आएको उनले जानकारी दिए।

गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले गाउँपालिकाबाट सात आठवटा सेवा लिएर नागरिकको घर दैलोमा पुगिएको बताइन्। यो सेवाले नागरिकको ठुलो रकम बचत भएको उनको भनाइ छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले गाउँपालिकाको केन्द्रमा आउन समेत चार घण्टा लाग्ने नागरिकलाई वडामा नै गएर दिने सेवाले निक्कै सहयोग पुगेको बताए। गाउँपालिकाको सानो खर्चले नागरिकले ठुलो सेवा पाएका उनले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयको तर्फबाट नेपाली नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचयपत्र लगायतका कार्यक्रम लिएर उमाकुण्ड पुगेका अधिकृत भीमराज बस्नेतले सेवा लिने नागरिकहरूको उत्साहजनक सहभागिता रहेको बताए। रातिसम्म काम गरेर भए पनि नागरिकका काम सकेर मात्रै हिँड्ने गरेको उनले जानकारी दिए।

उमाकुण्ड गाउँपालिकाको यो प्रयासले संविधानले परिकल्पना गरेको हेर्न सकिने, देख्नु सकिने, छुन सकिने र भेट्न सकिने स्थानीय सरकारको अनुभूति नागरिकलाई दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.