एउटा विवादस्पद व्यक्तित्व
एउटा यस्तो व्यक्तित्व जो अरुभन्दा फरक छ। कुराले मात्र होइन कामले पनि ऊ फरक देखिन्छ। राजनीतिमा यस्तो फरकपना त आवश्यक पनि होला।तर उहाँ यस्तो काम गर्नुहुन्छ, आफैं आफैंले गरेको कामको विपक्षमा बेलाबेला उभिनुहुन्छ। यसैकारण उहाँलाई फरक व्यक्तित्वको रुपमा चर्चा गर्न लागिएको हो।
राजनीतिमा विरोध हुन्छ। त्यसको सामना पहिलो पक्षले गर्नुपर्ने हो। तर पहिलो पक्ष आफैं आफ्नै खिलाफमा व्यवहारमा देखियो भने त्यसको असर के हुन्छ होला, अनुमान गर्न सक्नुहुन्छ?
यसैले यो अनौठो व्यक्तित्वको चर्चा गर्न लागिएको हो। उहाँले उठान गर्नुभएको कतिपय विषय एकदमै सान्दर्भिक र राम्रा विषयहरू पनि छन्। ती राम्रा भनिएका र गनिएका कामको विपक्षमा आफैं उभिएको हुनाले यो फरकपना देखिएको हो।
यही व्यक्तित्वले जन नेता मदन भण्डारीको मृत्युपछि ४ असोज २०५३ मा महाकाली सन्धी हुँदा नेकपा एमालेको तर्फबाट महत्वपूर्ण रोल खेलेको देखिन्छ। महाकाली सन्धी गरेपछि देशलाई अथाह फाइदा हुने कुरा गर्न यी चुक्दैनन्। कालान्तरमा यसबाट फुटिया कौडी फाइदा नहुने कुरा प्रमाणित भइसक्दा पनि यी चल्दैनन्।
फुर्ती लाउन छोड्दैनन्। भारतीय ‘रअ’ का अधिकारीहरूसँग बेलाबेला भेटघाट र उठबस भएको कुरा सुधीर शर्माको प्रयोगशाला भन्ने पुस्तकमा पनि उल्लेख छ। यी किन दक्षिणतिरका गुप्तचर निकायका अधिकारीहरूसँग हिमजिम गर्छन् त्यो भने विवादको विषय छ।
जसले माहाकाली सन्धी गर्न पार्टी भित्र महत्वपूर्ण रोल खेल्यो उसैले कालापानी लिम्पियाधुरा हाम्रो हो भनि संसदबाटै ३१ जेठ २०७७ माअत्याधिक बहुमतले चुच्चे नक्सा पारित गरायो। जबकि महाकाली सन्धिले नै उक्त भू-भाग हाम्रो होइन भन्ने प्रमाणित गरिसकेको थियो।
चुच्चे नक्सा पारित गर्ने उही मानिसले चुच्चे नक्साको बारेमा छापिएको लाखौं कपी पुस्तक बितरण गर्न ठिक्क पारिएको बितरण गर्नै रोक लगायो। सबैभन्दा पहिलाेपटक सरकारी जग्गा छानबिन गर्न उच्च स्तरिय आयोग उसैले बनायो। उसैले त्यस्तो जग्गा प्रयोग गर्ने आफ्नै मान्छे देखेपछि आफ्नो मान्छेलाई बचायो। आफैं नाङ्गियो।
सबैभन्दा पहिले भारतबाट आउने तरकारीको विषादी परीक्षण गरेर मात्र नेपाल भित्र्याउने भन्ने निर्णय गरायो। त्यसमा पनि टिक्न सकेन परीक्षण नगरेर नै भित्र्याउन थाल्यो। यातायातमा सिन्डिकेट प्रथा हटाउने भनेर डंका पिट्यो। तर हटाउन सकेन।
२०७२ आश्विन ६ मा मा भएको भारतीय नाकाबन्दीको कारण उत्तरको छिमेकी देशसँग पारवान सन्धि गर्यो तर लागू गरेन। चिनियाँ बिआरआइ सन्धिमा हस्ताक्षर गर्याे। कांग्रेस माओवादी मिलेर संसदबाट एमसीसी पारित गरिरहेको अवस्थामा देशका सारा जनता एमसीसीको विपक्षमा उर्लेको थियो। उही मानिसले म पनि एमसीसीको पक्षधर नै हुँ भनेर छाती पिट्यो। तलको कार्यकर्तालाई लज्जित बनायो।
माओबादी पार्टी र एमाले मिलाएर नेकपा भन्ने बिशाल कम्युनिस्ट पार्टी बनाए। एमालेका अध्यक्ष स्वयं आफैं र माओवादीका अध्यक्ष स्वयं प्रचण्ड मिलाएर नेकपाको दुईवटा अध्यक्ष भएको थियो त्यतिखेर। दुईवटा अध्यक्ष भएकोले राजनीतिक जगतमा निकै टिकाटिप्पणीहरु भए।
यसको प्रति उत्तरमा उहाँले भन्नुभयो साना साना गाडी र ट्याम्पुको मात्रै एउटा ड्राइभर हुन्छ। तर हाम्रो विशाल पार्टी भनेको एउटा जेट विमान हो। जेट विमानमा त दुईवटा पाइलट अनिवार्य आवश्यक हुन्छ भन्ने अभिव्यक्ति दिएर सबैको मुखमा बुझो लगाइदिनुभयो।
लामो समय नबित्दै पार्टीका दुई अध्यक्षहरूको अन्तर्विरोध चरमचुलीमा पुग्यो। पछि सर्बोच्च अदालतको फैसला अनुसार नेकपा नाम कामरेड ऋषि कट्टेलको पार्टीसँग जुद्न गएकोले ” नेकपा एमाले र नेकपा माओवादी छुट्टाछुट्टै पार्टी हो” भनी फैसला गरिदिएकाले दुवै पार्टी पुन छुट्टिए।
दुवै पार्टी छुट्टिए मात्र होइन पुनः नेकपा एमालेमा यसैबेलादेखि झांगिएको अन्तरबिरोधको कारण पार्टी टुक्रिएर नेकपा यस गठन भयो। गफ तुक्का र भाषणमा माहिर भएतापनि व्यवहारमा सबैलाई मिलाएर लाने क्षमतामा कमी देखियो।
राष्ट्रियताको मुद्दा बेसरी उछाल्न सक्ने क्षमता देखिएता पनि त्यसलाई व्यवहारमा परिणत गर्न सकेको देखिएन। ५ कार्तिक २०७७ मा उहाँको प्रधानमन्त्रीत्व कालमा सुटुक्क मध्य रातमा भारतीय गुप्तचर निकाय ‘रअ’ को प्रमुख सामन्त कुमार गोयलसँग प्रधानमन्त्री क्वाटरमै भलाकुसारी गरेको दृश्य पनि देखियो।
गत भाद्र २३ गते जेन्जी आन्दोलनमा शान्तिपूर्ण जुलुस गरिरहेका बालकहरू माथि गोली हानियो। १९ जना जेन्जी बालबालिकाहरुको घटनास्थलमै मृत्यु भयो। जबकि १९ दिन सम्म भएको दोस्रो जनआन्दोलनमा पनि देसभरीबाट जम्मा २६ जना ले मात्र सहादत प्राप्त गरेका थिए।
लोकतान्त्रिक भनिएको यो व्यवस्थामा कमरेड खड्गप्रसाद ओली प्रधानमन्त्री रहँदा एकै दिन यतिका मानिसहरुले सहादत प्राप्त गरे। २३ र २४ गते भएको दुई दिने आन्दोलनमा ७८ जना व्यक्तिहरूले ज्यान गुमाउन पुगे। मानिसहरू भन्ने गर्छन् २३ गतेको नरसंहार नभैदिएको भए २४ गतेको विध्वंसकारी घटना पनि हुने थिएन।
त्यसैले यसको दोष तत्कालीन सरकारलाई दिनुपर्छ। निवर्तमान प्रधानमन्त्री खड्क प्रसाद ओली भन्नुहुन्छ ” गोली हान्ने आदेश मैले दिएकै छैन। यसको जिम्मा म लिन सक्दिन।” प्रधानमन्त्री उहाँ आफैं जिम्मा चाहिँ कसले लिईदिनु पर्ने हो?
धरहरा बनाएको जस चाहिँ आफैं लिन चाहनुहुन्छ उहाँ, मानिस मारेको अब्जस चाहिँ लिन खै को तयार होला? लोकतन्त्रमा जस अबजस जेसुकै भएतापनि पदमा हुनेले जिम्मेवारी लिने विश्वव्यापी मान्यता हो। तर उहाँ यसो गर्न चाहनुहुन्न। जस आफूले लिनुहुन्छ अबजस अरुलाई दिन चाहनुहुन्छ। यसकारण उहाँको व्यक्तित्व अलि फरक खालको छ र विवादास्पद छ।
मुखले प्रखर भ्रष्टाचार विरोधी देखिनुहुन्छ। भ्रष्टाचारीको त मुखै हेर्दिन पनि भन्नुहुन्छ तर उहाँको प्रधानमन्त्रीत्वकालमा भ्रष्टाचार न्यूनीकरण भएको देखिँदैन। बरु भ्रष्टाचार अझ बढेको देखिन्छ। मानिसहरू भन्ने गर्छन् कांग्रेस र एमालेको गठजोड सरकार नै भ्रष्टाचारलाई बढवा दिन बनेको हो।
भ्रष्टाचारीहरुलाई कारबाही भइरहेको समयमा यस कारबाहीलाई रोक्न यो सरकार बनेको थियो भन्ने गर्दछन्। आखिर देखियो पनि त्यस्तै भुटानी शरणार्थी काण्ड र टिकापुर जग्गा काण्डमा मुछिएकी आरजू राणा देउवालाई नै गठ्जोर सरकारले परराष्ट्रमन्त्री बनायो। यो कुराले निवर्तमान प्रधानमन्त्री खड्कप्रसाद ओली भ्रष्टाचार विरोधी हुन् कि भ्रष्टाचारीहरुको संरक्षण कर्ता हुन पुष्टि गरेको छ।
झापाकाण्डमा जेल परेका उनका सबै सहयात्रीहरु नेकपा एमालेबाट बाहिरिने वातावरण उनकै कारण बनेको हो भन्ने कुरा मानिसहरू चर्चा गर्छन्। व्यवहारमा त्यो देखिँदै पनि आएको छ।
सीपी मैनालीदेखि राधाकृष्ण मैनालीसम्म र नरेश खरेलदेखि नेपालका नेसनल मण्डेला भनी चर्चा पाएका मोहनचन्द्र अधिकारीसम्म पार्टीबाट अलग भएको देखिन्छ। चाकडी गर्नेहरू सबै ठिक र उनलाई चाकडी नगर्नेहरू सबै बेठिक भन्ने भाष्य उहाँले निर्माण गर्नुभएको छ। यसैले उहाँ अरु नेताहरु भन्दा फरक हुनुहुन्छ।
पछिल्लो समयमा उहाँको अभिव्यक्तिले समाजमा वातावरणलाई अशान्त बनाउने काम गरिरहेको छ। उहाँको निकट सहयोगी नेता महेश बस्नेतले अशान्त वातावरणलाई अझ अशान्त बनाउन आगोमा घिउ थप्ने काम गरिरहेको छ।
गत भाद्र २३ गते भएको आन्दोलनमा हेलिकप्टर चढेर भागेका खड्गप्रसाद ओली गुण्डुमा गएर पनि सुरक्षित हुन सक्नुभएको छैन। सयौँ सुरक्षा दस्ता बनाएर महेश बस्नेतले ब्यबस्थापन गरेको दृश्य देखिन्छ।
बोलीमा ज्यादा तडकभडक र कडा अभिव्यक्तिका कारण उहाँ आफ्नै अवस्थाको समेत ख्याल गर्न सकेको जस्तो बुझिँदैन। त्यतिका धेरै बालबालिकाहरूको हत्या गरेकोमा यिनलाई कुनै पश्चाताप पनि देखिँदैन। यसैले उहाँको व्यक्तित्व एकदमै फरक छ र विवादास्पद पनि छ।
२०४७/४८ सम्म पाटनको एउटा घरमा कमरेड वली जम्मा दुईवटा कोठा भाडामा लिएर बस्नुहुन्थ्यो। हुन त त्यो घर नै चार तल्ले भएतापनि प्रत्येक तल्लामा दुई कोठा मात्र थियो। उहाँकी धर्मपत्नी राधिका शाक्यको अधिकृत लेभलको जागिर पनि नभएको होइन।
उहाँको जीवीका धान्ने मेसो पनि त्यही जागिर न थ्यो। अरु बन्द व्यापार केही पनि थिएन। खड्कप्रसाद ओली राजाको जन्मोत्सवमा जेलबाट छुट्नुभएको अवस्थामा राजनीतिबाहेक अरु कुनै व्यवसाय थिएन। हुन त अहिले पनि उहाँको अन्य कुनै व्यवसाय देखिँदैन।
उहाँको जेलका सहयात्री तत्कालीन एमाले पार्टीका नेता राधाकृष्ण मैनालीले बेलुका बेलुका अलिअलि रकम जुटाई बाहिर कतै दुई भाइले ठर्रा पिउने गरेको कुरा जो गर्नुभएको थियो यसै बेलाको कुरा हो। राधाकृष्ण मैनालीको अन्तर्वार्तामा पनि यो कुरा खुलेको छ।
कामरेड खड्गप्रसाद ओली गृहमन्त्री हुनु भन्दा अघिसम्म त्यही दुईवटा कोठा भाडामा लिई आफ्नो जीवन चर्या चलाइरहनु भएको थियो। अधिकृत लेभलको जागिरले मुस्किलले एउटा घर त बन्न सक्थ्यो होला।
अन्य कम्बोडियाको लगानी जस्ता पुष्टि नहुने कुरा त किन गर्नु र? तर बालकोटको दरबार चाहिँ कसरी बन्यो होला होला? भनी मानिसहरू प्रश्न गर्ने गर्छन्।भ्रष्टाचार विरोधी भाषण र उहाँको बालकोट दरबार आफैमा विवादास्पद देखिन्छ।
अब भन्नुस् यस्तो विवादास्पद व्यक्तित्व देखिनुको खास कारण के हो? के कारणले गर्दा उहाँ आफ्नो भनाइमा टिक्न सक्नुभएन? चर्चामा आउने महत्वकांक्षाका कारण, बिचौलियाका कारण, सत्ता मोहका कारण, अर्थ मोहको कारण के हो मैले बुझ्न सकिरहेको छैन।
सायद ज्यादा महत्वकांक्षाका कारण उहाँ केही राम्रो काम गरेको जस्तो देखाउन चाहनुहुन्छ। विदेशी जासुसहरूको डरका कारण यसलाई त्यही बिट मार्नुहुन्छ। लोभका कारण उहाँ भित्रभित्रै भ्रष्टाचारलाई बढावा पनि दिनुहुन्छ तर यो कुरा देखाउन चाहनुहुन्न भनियो भने के गल्ती होला त?
















Facebook Comment