रौतहटमा परिवारकै सदस्यद्वारा महिलाको विभत्स ह*त्या, घरभित्र गाडिएको अवस्थामा शव फेला

डिसी नेपाल
९ मंसिर २०८२ १७:२३
212
Shares

सर्लाही। रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा २५ वर्षीया महिलाको आफ्नै घरभित्र खाडल खनेर गाडिएको अवस्थामा शव फेला परेको छ।

भुसाहा निवासी तरीमा खातुनलाई सोमबार राति परिवारका सदस्यहरूले मिलेमतोमा हत्यागरी घरको भुस राख्ने स्थानमा पुरेको अवस्थामा मंगलबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थलमा पुगेर खाडल खनेर पुरिएको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मृतकका पति शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा हाल साउदी अरबमा रहेका छन्। घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका अन्य सदस्य फरार रहेको प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले जानकारी दिए।

उनीहरूले मृतकको डेढ वर्षका छोरा मोहम्मद आरिफलाई समेत साथमै लिएर फरार भएको प्रहरीले जनाएको छ। घटनाको मूल कारण अनैतिक सम्बन्धको आरोपसँग जोडिएको अनुमान गरिएको छ।

मृतकका बुबा ताज मोहम्मदका अनुसार गत कात्तिक १८ गते माइतीतर्फ आयोजित विवाह समारोहका क्रममा खातुन नातामा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग सम्बन्ध राखिरहेकै अवस्थामा फेला परेकी थिइन्।

दुवै जनाले विवाह गर्ने मौखिक सहमति जनाएपनि परिवारका सदस्यले स्वीकार नगरेपछि विवाद झन् चर्किएको र सोमबार राति सोही विषयलाई लिएर हत्या भएको अनुमान गरिएको छ। मृतकका भाइ शेख आस मोहम्मदले दिदीको हत्या प्रत्यक्ष देखेका छन्।

उनका अनुसार परिवारका सदस्यले हत्या गरिरहेको बेला विरोध जनाउँदा ‘हल्ला ग¥यांै भने तिमीलाई पनि मारिदिन्छौं’ भन्दै धम्की दिएपछि उनी त्यहाँबाट भाग्न सफल भएका थिए। भाइले दिदीको हत्या भएको पुष्टि गर्ने तस्वीर माइतीतर्फ पठाएको परिवारजनले बताएका छन्।

प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको र टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ। घटनास्थलबाट चक्कुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ।

प्रहरीले फरार रहेका उनका घरका सदस्यहरुको खोजीकार्य तीव्र रुपमा गरिरहेको र घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाइएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.