ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित अटो चालक पक्राउ

डिसी नेपाल
११ मंसिर २०८२ १९:१२
144
Shares

मकवानपुर । जिल्लामा लागऔषध रोकथाम तथा नियन्त्रण अभियानलाई कडाइका साथ अघि बढाउँदै आएको नेपाल प्रहरीले हेटौंडामा ठूलो परिमाणको ट्रामाडोल क्याप्सुलसहित एक अटो चालकलाई पक्राउ गरेको छ ।

पछिल्ला दिनमा मकवानपुरमा लागुऔषध कारोबार बढ्दै गएको पृष्ठभूमिमा प्रहरीले गरेको यो सफलताले अवैध कारोबारमा संलग्न समूहमाथि कडा दबाब परेको जनाइएको छ ।

आज बिहान ११ः३० बजे, राप्तिरोड हुँदै थानाभर्‍याङतर्फ जाँदै गरेको बा.प्र.०३००१ह ०१२६८८ नम्बरको अटो प्रहरीले देख्नेबित्तिकै तीव्र गतिमा भाग्न खोजेपछि प्रहरी टोलीले पछ्याएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले अटोलाई पछ्याउँदै जाँदा हेटौंडा उपमहानगरपालिका१, तरकारी बजार क्षेत्रमा फेला पारेको हो ।

नियमित जाँच तथा अनुसन्धानका क्रममा अटो चालक हेटौंडा१३ बस्ने करिब २७ वर्षीय सोनम मोक्तानलाई नियन्त्रणमा लिएर गरिएको खानतलासीमा अटो भित्र लुकाइछिपाइ राखिएको १५ हजार ९६० क्याप्सुल ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका मोक्तानमाथि लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराका अनुसार बरामद गरिएको ट्रामाडोल अत्यधिक मात्रा भएकाले यो घटना संगठित कारोबारी समूहसँग सम्बन्धित रहेको प्रारम्भिक अनुमान गरिएको छ। उनका अनुसार अटो, चालक र बरामद सबै सामग्रीसहित अदालतबाट म्याद थप गरी अनुसन्धान तीव्र पारिएको छ।

एसपी बोहोराले करिब १५ दिनअघि पनि ८,३०० क्याप्सुल ट्रामाडोलसहित पाँच जना पक्राउ परेका घटनालाई स्मरण गर्दै मकवानपुरमा लागुऔषध तस्करी सक्रिय बन्दै गएको बताए। प्रहरीले यस्ता अवैध कारोबारमा संलग्न समूह पहिचान गरी धरपकडलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ।

मकवानपुर प्रहरीले पछिल्लो समय लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै निगरानी, श्रृंखलाबद्ध चेकजाँच तथा गोप्य सूचनाका आधारमा अपरेसन सञ्चालन गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.