विचार

देउवाको योगदान र कांग्रेसको प्राथमिकता

आनन्द विष्ट
१२ मंसिर २०८२ १३:२५
32
Shares

जेनजी आन्दोलनपछि देश विषम संक्रमणकालीन परिस्थितिमा छ। यस्तो बेला प्रत्येक नागरिक जिम्मेवार र संवेदनशील हुनुपर्दछ। हामी जिम्मेवार भएनौं भने राजनीतिक अस्थिरता निम्त्याएर राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिले मुलुकलाई कमजोर पार्ने जोखिम उच्च रहन्छ। देश अप्ठ्यारोमा हुँदा व्यक्तिगत स्वार्थ हेर्नु हुँदैन। बिपी कोइराला देश कठिन समयमा हुँदा सबैले अतीतका अस्वस्थ बहस, अनुभव र मतभेदलाई भुलेर एकताबद्ध हुनुपर्छ भन्नुहुन्थ्यो। आज नेपाल कठिन परिस्थितिको सामना गरिरहेको छ। त्यसैले प्रत्येक नागरिकले मतभेद भुलेर एकताबद्ध हुन आवश्यक छ। त्यसमा पनि राजनीतिक दलहरू थप जिम्मेवार बन्नुपर्छ।

नेपाली कांग्रेस त झन् मुलुकको सबैभन्दा ठूलो र जिम्मेवार दल हो। २००७ साल यताका सबै परिवर्तनको सफल नेतृत्व कांग्रेसले नै गरेको हो। जेनजी आन्दोलनपछिको परिस्थितिलाई सही ठाउँमा पुर्‍याउँदै देशलाई निकास दिन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरोस् भन्ने आम जनताको चाहना छ। तर, कांग्रेस पछिल्लो समय आन्तरिक विवादमा अलमलिएको छ। जुन सुखद पक्ष होइन। जेनजी आन्दोलनमा पार्टी सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी कांग्रेस नेतृ आरजु राणा देउवामाथि आक्रमण भयो। उहाँहरू घाइते हुनुभयो। यस्तो अवस्थामा पार्टी सभापतिको स्वास्थ्यलाभको कामना गर्नुपर्नेमा कांग्रेसभित्र अहिले सभापतिलाई हटाएर मात्र पार्टीको सबै समस्या समाधान हुन्छ भन्ने गलत भाष्य निर्माण गर्ने प्रयास तीव्र रूपमा हुँदैछ। यो भ्रामक सोच हो र यसले पार्टीलाई कमजोर बनाउने निश्चित छ। यस्तो मिथ्या र भ्रामक प्रचार गरिँदैछ कि सम्पूर्ण गल्ती नै देउवा पार्टी सभापति हुनु हो र अरू सबै सही थिए, देउवा मात्र गलत। त्यसैले उहाँले पद नछाडे सबै सकिन्छ भन्ने दूषित प्रचार गरिँदै छ।

८० वर्ष उमेर पार गरिसकेका आफ्नै पार्टीका सभापति आफ्नै निवासमा मरणासन्न अवस्थामा कुटाई खाँदै गरेको रगताम्य शरीरको त्यो क्षण स्मरण गर्दा अहिले पनि रगत तातो हुन्छ। त्यो घटनाको निन्दा गर्दै सभापतिमाथि भएको यो हदको आक्रमणको डटेर सामना गर्दै उहाँको स्वास्थ्यलाभको कामना गरेर पार्टीको आन्तरिक जीवनलाई गति दिनु मानवीय रूपमा पनि उचित हुन्थ्यो। तर, पार्टीभित्रकै एकपक्ष देउवालाई यहीबेला सत्ताच्यूत गर्ने हो भन्दै जसरी हुन्छ देउवा हटाउने र देउवा नै सबै समस्याको जड हो भन्ने ढंगले अराजक रूपमा सामाजिक सञ्जालमा गतिविधि देखिन्छ।

कांग्रेस जस्तो ऐतिहासिक र जिम्मेवार लोकतान्त्रिक पार्टीभित्र सहमति, धैर्य, परिपक्वता र संस्थागत संस्कृति आजको आवश्यकता हो। देउवाले पाँच पटक प्रधानमन्त्री भएर मुलुकको विकास, कूटनीतिक सम्बन्ध र आर्थिक स्थायित्वमा ठूलो काम गर्नु भएको छ। उहाँको लगातारको राजनीतिक सक्रियताले पार्टीको शीर्ष तहदेखि सरकार सञ्चालनसम्म राष्ट्रिय राजनीतिमा दीर्घकालीन प्रभाव पारेको छ।

के हामीले मानवीय धर्म, हाम्रो संस्कार र सम्मान भावलाई बिर्सँदै गएका हौं? पार्टीका जुनसुकै तह र तप्काका साथीहरूको निधन हुँदा तीन दिन शोक मनाउने यही केन्द्रीय समिति आफ्नै बहालवाला निर्वाचित सभापतिमाथि अराजक समूहले यति नृशंस ढंगले आक्रमण हुँदा त्यही सभापतिलाई तीन महिना पहिले हटाउन रातारात सक्रिय हुनुले हाम्रो कस्तो राजनीतिक संस्कारलाई प्रोत्साहन गर्दैछ? सभापतिमाथि अपमान गरेर र सभापतिलाई मात्र सबै दोष थोपरेर केन्द्रीय समिति र समितिका जिम्मेवार नेताहरू मात्र सही कदापि हुन सक्दैनन्। समयले सबैको मूल्यांकन गर्ने नै छ।

यदि सभापति मात्र निर्वाचित भएको भए सबै दोषको जबाफदेही सभापति हो भन्न सकिन्थ्यो होला। तर, निर्वाचित अन्य पदाधिकारी पार्टीका कमी, कमजोरीको लागि जिम्मेवार हुन सक्दैनन्? यो कस्तो भाष्य निर्माण गर्न खोजिँदै छ? शेरबहादुर देउवा हट्नासाथ रातारात सबै सही र ठिकठाक भइहाल्छ भन्ने भ्रम कसैले नपाले हुन्छ। यदि सभापतिलाई दोष दिएर आफू निर्दोष हुने हो भने अब विधान संशोधन गरौँ र सभापति मात्र निर्वाचित गर्ने व्यवस्था गरौँ। सबै पदाधिकारी र केन्द्रीय नेतृत्व सभापतिले आफ्नो खुसीले चयन गर्ने व्यवस्था गरौं, अमेरिकाका निर्वाचित राष्ट्रपतिले आफ्नो क्याबिनेट चयन गर्ने स्वतन्त्रता रहे जस्तै गरी। अन्यथा सामूहिक जिम्मेवारी लिनु उचित हुनेछ र सिंगो केन्द्रीय समिति नै गल्ती,कमजोरीको सामूहिक जबाफदेही पनि।

जीवनभर लोकतन्त्र, स्वतन्त्रता र जनताको अधिकारका लागि लड्नु भएका पार्टीका सभापति उमेरको हिसाबले पनि जीवनको उत्तरार्धमा हुनुहुन्छ। कांग्रेस विधानले पनि उहाँलाई अब सभापति बन्न दिँदैन। यो सबै कुराको बोध हुँदा पनि उहाँमाथि पार्टीभित्रबाटै प्रहार हुन खोज्नु इतिहासप्रतिको सम्मान होइन। जेनजी आन्दोलनमै पनि म भागेर कतै जान्न, मलाई यही घरमा मार्छन् भने मारुन् भन्दै उहाँले अदम्य साहस देखाउनु भएको थियो। आज जसरी देउवालाई निर्लज्ज ढंगले गालीगलौज गरेर आफ्नो रोटी सेकाउने काम भइरहेको छ त्यसका लागि देउवा जिन्दगीभर लड्नुभएको छ। अर्थात् अभिव्यक्ति स्वतन्त्रताका लागि आफ्नो जिब्रोमा करेन्ट लगाउँदा पनि देउवाले जनताको नैसर्गिक अधिकारका लागि लड्न छाड्नु भएन। अस्ति भर्खरै सिंहदरबारमा आगो लगाई दिन्छु भनेर धम्की दिनेलाई थुन्नुपर्छ भन्दा देउवाले पुन: त्यही अडान दोहोर्‍याउनु भयो,-लोकतन्त्रमा बोल्न पाइन्छ। अर्थात् लोकतन्त्रको आधारभूत पक्ष अभिव्यक्ति स्वतन्त्रता हो। जब कसैको बोली बन्देज लगाइन्छ त्यो निरंकुशता हो। तर, के बोल्ने भन्ने कुरा चाहिँ व्यक्तिको चरित्र र अनुशासनमा भर पर्दछ। आज देउवाको विरोध गर्नेहरूले राम्रोसँग बुझ्नुपर्छ कि देउवा आफ्ना विरोधीहरूको उमेर जति त देशको हितमा लड्नु नै भएको छ। त्यसैले देउवाले बुझ्नु भएको छ विरोध गर्न पाइन्छ। लामो राजनीतिक अनुभव र योगदानका प्रतिमूर्ति देउवाविरुद्ध हुने विरोध कसले, केका लागि गर्दैछ भन्ने कुरा छर्लंग छ। केवल आफूलाई केन्द्रमा राखेर लामो राजनीतिक यात्रा तय गर्न सकिन्न। समझदारी,आन्तरिक समन्वय र वृहत् अवधारणाले लामो यात्रालाई सहयोग गर्छ।

अर्को कुरा देउवा समकालीन अन्य पार्टीका नेताहरू जस्तो सस्तो लोकप्रियताका लागि आफूलाई केन्द्रमा राखेर बोल्नुहुन्न। यसको अर्थ यो होइन कि उहाँ समयको प्रवाहलाई वास्ता गर्नुहुन्न। देउवा जे बोल्नुहुन्छ परिस्थितिको ठोस् विश्लेषण गरेर जायज मात्र बोल्नुहुन्छ। उहाँ कसैप्रति आवेग, आक्रोश र उत्तेजना लक्षित अभिव्यक्ति दिनुहुन्न। त्यसैले उहाँको उचाइ अरूको भन्दा बढी छ। सौम्य, धैर्य र शान्त स्वभाव देउवाको शैली र विशेषता हो। जसको पछिल्लो ताजा उदाहरण आफूले मरणासन्न भएर कुटाई खाएर उपचारपछि कांग्रेस केन्द्रीय समितिमा प्रस्तुत हुँदा उहाँले दिनु भएको अभिव्यक्ति हो। यसबाट पनि प्रस्ट हुन्छ, देउवा सुझबुझको राजनीति गर्नुहुन्छ, न कि आवेश र उत्तेजनाको। कांग्रेसको चरित्र र संस्कार देउवाले राम्रोसँग बुझ्नु भएको छ। किनकि उहाँ कुनै समयको जेनजी उमेर समूहमै हुँदा महामानव बिपी कोइरालाले समेत विश्वास गरेको कांग्रेसको जेनजी पुस्ताको नेता हुनुहुन्थ्यो। त्यसैले शेरबहादुर देउवा आफू अन्याय सहेर पनि अरूको अधिकारका लागि लड्ने योद्धा हो। उहाँको योगदानको अवमूल्यन भनेको कांग्रेसको संस्कार हुँदै होइन। यो समय आन्तरिक एकता, सद्भाव र कांग्रेसभित्र जिम्मेवारी बोधसहित हार्दिकता बलियो बनाउने समय हो। त्यसैले नेतृत्वलाई दोष थुपारेर आफू मात्र सही भन्ने गलत प्रयास कसैले गर्नुहुन्न। पार्टी कांग्रेसप्रति आस्था राख्ने सबैको साझा घर हो। घर बलियो बनाउन सबैले योगदान पुर्‍याउनुपर्छ। कांग्रेस केवल पार्टी मात्र नभएर संस्कार, सभ्यता, नैतिकता र संस्कृतिको पाठशाला पनि हो।

देउवाले गरेको लामो योगदान र त्यागको कदर नगरेर, नेतृत्वलाई बारम्बार अपमानित गर्नु पार्टीको नैतिक संस्कृतिमाथि नै चोट पुर्‍याउने काम हो। आजको वास्तविक चुनौती सभापति हटाउने होइनन्। यो पार्टीभित्र विभाजित भावनालाई जोड्ने, आपसी अविश्वास हटाउने, संगठनलाई एक ढिक्का बनाएर आगामी राष्ट्रिय मार्गचित्र तयार गर्ने बेला हो। नेपाली कांग्रेस विचार, सिद्धान्त र संस्थागत परिपाटीको पार्टी हो।

कांग्रेस जस्तो ऐतिहासिक र जिम्मेवार लोकतान्त्रिक पार्टीभित्र सहमति, धैर्य, परिपक्वता र संस्थागत संस्कृति आजको आवश्यकता हो। देउवाले पाँच पटक प्रधानमन्त्री भएर मुलुकको विकास, कूटनीतिक सम्बन्ध र आर्थिक स्थायित्वमा ठूलो काम गर्नु भएको छ। उहाँको लगातारको राजनीतिक सक्रियताले पार्टीको शीर्ष तहदेखि सरकार सञ्चालनसम्म राष्ट्रिय राजनीतिमा दीर्घकालीन प्रभाव पारेको छ। उहाँले नै भूमि सुधार नीति ल्याउनु भएको थियो। उहाँले दलित, महिला, जनजातिको उत्थान र अधिकार सुनिश्चित गर्न आयोग बनाउने रचनात्मक विकास गर्नु भयो। २०७८ साल असारमा प्रतिनिधिसभा विघटन गरिएको थियो। सर्वोच्च अदालतले त्यो विघटनलाई असंवैधानिक ठहर गर्दै संसद् पुनर्स्थापना गर्‍यो र देउवालाई प्रधानमन्त्री नियुक्तिलाई आदेश दियो। यस घटनाले नेपालको संविधान, पार्टी लोकतन्त्र र संवैधानिक शासनप्रणालीको रक्षामा ठूलो योगदान दिएको थियो। नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित अध्यक्षसमेत रहनु भएका देउवा पाँच पटक प्रधानमन्त्री त बन्नुभयो तर दुर्भाग्य! कुनै पनि अवधि पाँच वर्ष नै नेतृत्व गर्न पाउनु भएन। न त नेपाली कांग्रेसको एकल बहुमतको सरकारको नेतृत्व नै उहाँले गर्नु भएको छ। तैपनि अन्य दलललाई समेत विश्वासमा लिएर उहाँले आफ्नो तर्फबाट जेजति गर्नु भएको छ, त्यसको उचित मूल्यांकन इतिहासले गर्नेछ।

कर्णाली, दलित, महिला, जनजाती र मधेशीलाई अधिकार दिलाउने कदमजन्य अभियानको नेतृत्व देउवाले नै गरेको इतिहास धेरै पुरानो भएको छैन। वर्तमान संविधानको कार्यान्वयनमा तीनै चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएर पार्टीलाई तीनै तहमा पहिलो बनाउने श्रेय पार्टी नेतृत्वकर्ताको हैसियतले देउवालाई नै जान्छ। वर्तमान संविधानले नै कुनै पनि दललाई एकल बहुमत दिलाएर आफ्नै पार्टीको बहुमतको सरकार बनाउनका लागि धेरै अप्ठ्यारो बनाएको छ। त्यसैले गठबन्धन आवश्यक छ भन्ने बुझेरै उहाँले अन्य दलसँग पार्टीलाई गठबन्धनमा लगेर पनि पहिलो दल बनाउनु भएको छ। यस्तो अवस्थामा मुलुकको समृद्धिका लागि विभिन्न राजनीतिक दलहरू मिलेर सरकार गठन गर्नुपर्ने हुन्छ। देउवामा अन्य दलहरूलाई समेटेर गठबन्धन गर्दै मुलुकको समृद्धिमा काम गर्ने र गराउन सक्ने अद्भुत क्षमता छ।

देउवाले गरेको लामो योगदान र त्यागको कदर नगरेर, नेतृत्वलाई बारम्बार अपमानित गर्नु पार्टीको नैतिक संस्कृतिमाथि नै चोट पुर्‍याउने काम हो। आजको वास्तविक चुनौती सभापति हटाउने होइनन्। यो पार्टीभित्र विभाजित भावनालाई जोड्ने, आपसी अविश्वास हटाउने, संगठनलाई एक ढिक्का बनाएर आगामी राष्ट्रिय मार्गचित्र तयार गर्ने बेला हो। नेपाली कांग्रेस विचार, सिद्धान्त र संस्थागत परिपाटीको पार्टी हो। यहाँ सबैको अस्तित्व र योगदान स्वीकार गर्दै लोकतान्त्रिक शैलीमा अधिवेशनको वातावरण निर्माण गर्नु नै उचित मार्ग हो। अहिलेको आवश्यकता नेतृत्व र कार्यकर्ताबीच विश्वास पुनर्स्थापना, स्वस्थ संवाद, संगठनात्मक एकता, आगामी राष्ट्रिय चुनौतीहरूको साझा तयारी हो। पार्टी एक भएर अघि बढ्न सकेमा मात्र देशमा लोकतन्त्र, विकास र स्थायित्वको मार्ग मजबुत हुन्छ। विभाजन र व्यक्तिमाथि प्रहारले कसैलाई फाइदा नपुग्ने स्पष्ट सत्य हो। मुलुक,कांग्रेस र जनताका साझा समस्यालाई बलियो र संगठित कांग्रेसले एक भएर मात्र समाधान गर्न सक्छ। संस्थागत निरन्तरता र सभ्य राजनीतिक संस्कार- यही हो नेपाली कांग्रेसको पहिचान। लोकतन्त्रको पहरेदार नेपाली कांग्रेसले लोकतान्त्रिक आचरण,संस्कार र पद्धति अवलम्बन गरेर निकासको बाटो खोज्नुपर्छ। व्यक्ति होइन, पार्टी बलियो बनाउन योगदान गरौं।

(लेखक नेपाली कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य हुन्।)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.