नवज्योतिसँग जोडिएका स्मृतिहरू

सुभाष संकल्प भण्डारी
२० मंसिर २०८२ ७:२७
28
Shares

बाल्यकालीन घटना परिघटनाहरुलार्ई सम्झने प्रयास गर्छु। कतिपय घटनाहरू सजिलै सम्झिन सक्छु त कतिपय घटनाहरू स्मृतिबाटै लोप भइसकेछन्। औपचारिक शिक्षाको श्रीगणेश त नवज्योति प्राथमिक विद्यालयबाट भएको हो।

नवज्योति स्कुलमा पुग्नुभन्दा पहिला केही पूर्वतयारी स्वरुप क ख रा सिक्ने काम देउखलामा भएको जस्तो लाग्छ। यादहरू धुमिल छन्, सम्झनाहरु मधुरा छन्। केदारको भणार रहेको देउखलाको पवित्र भूमिमा मेरा अक्षरहरू जन्मिन सुरु भएका हुन् जस्तो लाग्छ।

मेरा अबोध बाल हातहरू समातेर कालो स्लेटमा सेता खरीले अक्षर लेख्न लगाउने गुरु दाडमाणुका बाबु (ठूलोबुवा) श्रीधर भट्ट हो। त्यसैले मेरो औपचारिक शिक्षाको पहिलो गुरु उहाँलार्ई नै मान्छु म। जसले मेरा औँलाहरुमा खरी राख्न सिकाउनु भयो।

कालो स्लेटमा सेता अक्षरको खेती गर्न सिकाउनु भयो। तोते बोलीसँगै क ख उच्चारण गर्न सिकाउनु भयो। औँला भाँची भाँची एक दुई गन्न सिकाउनु भयो। धेरै कुराहरु त बिर्सिसकें अहिले। तरपनि दाडमाणुका बाबुले देउखलामा बसेर हामीलार्ई स्कुल जान सक्ने बनाउनुभयो। खरी समातेर कोर्न सिकाउनुभयो।

औपचारिक शिक्षाको लागि तयार गर्नुभयो। कापीका पान्नामा अक्षरको खेती गर्नसक्ने बनाउनुभयो। अझ भनौं हाम्रो शैक्षिक घरको साई लाउने काम गर्नुभयो। अहिले पनि सम्झिन्छु उहाँको छोटो कद, सानो शरीर। खैरो स्वीटर, खरानी रंगको कुर्ता सुरुवाल। सेता हुनलागेका कपाल माथि शिरमा ढाका टोपी।

वर्ष र महिना त ठ्याक्कै याद छैन मलार्ई अहिले। सानै थिएँ। सायद चार पाँच वर्षको हुनुपर्छ म। म भन्दा अगाडि चार दिदीहरू गणेश (खन्टी), उषा (राम), तारा (जसलार्ई म कान्छिदी भन्थें) र कौशल्या।

म घरको एक्लो अनि कान्छो छोरो। जेठी दिदी गणेश र माइली दिदी उषा माथिल्लो स्कुल (नवज्योति प्राथमिक स्कुल) बाट तल्लो स्कुल (नवोदय मा. वि.) गइसकेका थिए। तारा दिदी र कौशिला दिदी थिइन् माथिल्लो स्कुल जाने। हाम्रो घरबाट मास्लो स्कुल जान दुई ओटा खोला पर्थे : भुत्तडी गाड र दुमिल्ली गाड।

भुत्तडी गाडमा साँघु थिएन त्यो बखत। ढुंगामा टेकेर खोला पार गर्नुपथ्र्यो। दुमिल्ली खोलामा साँगुरो साँघु थियो। साँघु पार गर्न डर लाग्थ्यो। घरबाट दुमिल्लासम्म तेर्सो बाटो भए पनि दुमिल्लाबाट स्कुल नपुगुन्जेल ठाडो उकालो हुन्थ्यो। त्यो बेला गोरेटो बाटो बनेको थिएन। साँगुरो थियो बाटो। हिँड्ने ओकालोमा डर लाग्थ्यो। बलौटे माटो।

चिप्लियो भने सिधै दुमिल्ली गाडमा पुग्ने डर। बडो होसियारका साथ हिड्नुपथ्र्यो। त्यसैले सुरुवाती दिनमा कान्छिदिदीसँग स्कुल आउने जाने गर्थें। डांगाकी रेखा भदै र नौलेघरकी रन्जु दिदीको याद छ। त्यो बखत स्कुलमा डटि लड्ने पछि हट्ने ….गीत गाएको याद छ। एक दुई कक्षामा पढ्दाका यादहरु धेरै सम्झिन सकिएनन्।

चार कक्षा जम्प

मैले नवज्योती स्कुलमा कक्षा ५ सम्म त पढेँ तर चार बर्ष मात्र। अचम्म पर्नुभयो होला। हो, मैले कक्षा १ देखि ५ सम्म जम्मा चार बर्ष मात्र यो स्कुलमा बिताएँ। कक्षा ४ नपढी कक्षा ५ मा भर्ना भएँ। कक्षा ३ उत्तीर्ण भएर तराई गएँ पढ्न। तराईमा बोर्डिङ स्कुलमा मलाई कक्षा १ मा भर्ना गरिदियो।

धनगढी, हसनपुरमा रहेको मेरिगोल्ड इंलिस बोर्डिङ स्कुलमा पढेँ। राम्रै अंकमा कक्षा १ उत्तीर्ण गरेँ। तर बस्न मन भएन तराईमा। घर फर्किएँ। म सँगैका साथीहरु कक्षा ५ मा पुगिसकेका थिए। मलाई कक्षा ४ मा पढ्न मन भएन। पढाइमा अब्बलै थिएँ।

सरहरुले केही मौखिक प्रश्नहरु सोध्नुभयो। सायद सही जवाफ दिएँ। पाँच कक्षामा भर्ना गरिदिनुभयो। यसरी म चार कक्षा नपढी पाँच कक्षामा पुरानै साथीहरुसँग भर्ना भएर पढ्न थाले। केही साथीहरु जिल्ल परे त केही अचम्म। म भने खुब खुशी भएँ पुरानै साथीहरुसँग पाँच कक्षामा पढ्न पाँउदा।

शिक्षकहरु

मलाई हाम्रै गाउँका स्थानीय सरहरुले पढाउनुभयो। म भर्ना हुँदा हरिदत्त भट्ट प्रधानाध्यापक हुनुहुन्थ्यो। उहाँलार्ई हामी ‘खौला सर’ भन्थ्यौँ। किनभने गाउँमा उहाँको घरको नाम खौला थियो। उहाँको २०७५ साल श्रावणमा निधन भइसकेको छ। कृष्णराज भट्ट सर, जसलार्ई हामी ‘डाङ्ङा सर’ भन्थ्यौँ, उहाँको खुब डर लाग्थ्यो। अंग्रेजी पढाउनुभयो कक्षा ५ मा। बिद्यालयमा अनुशासन कायम राख्न उहाँले खुब मिहिनेत गर्नुहुन्थ्यो।

बिद्यालयको सरसफाइ र वातावरण स्वच्छ राख्न उहाँ खुब मिहिनेत गर्नुहुन्थ्यो। बिद्यालयको फूलबारी र वरपरको बारीमा विभिन्न बोटबिरुवाहरु लगाउनुभएको याद छ मलाई। बिद्यालयको वरपरको वातावरण हरियाली बनाउन बिद्यार्थीहरुलाई खटाउनुहुन्थ्यो। धुपीसल्लाका बोटहरु हुर्काउन खुब मिहिनेत गर्नुहुन्थ्यो। भुल्खेता डिल्लिराज भट्ट सरले पनि पढाउनुभयो। उहाँलार्ई हामी ‘भुल्खेता सर’ भन्थ्यौँ। उहाँहरु तीनै जना यो स्कुलमा प्रधानाध्यापक समेत हुनुभयो।

नौलेघरकी यमुना भण्डारी दिदीले नि केही महिना मलाई पढाउनु भएको याद छ। सायद कक्षा पाँचमा हुनुपर्छ। उच्कलाका लिलाधर ओझा काकाले नि मलाई कक्षा ३ मा केही महिना पढाएको याद छ। गणित पढाउनु हुन्थ्यो। दुना कण्ठ गराउनु हुन्थ्यो। डर लाग्थ्यो उहाँको खुब। भुल्खेता लेखराज भट्टले पनि केही महिना पढाएको याद छ।

स्कुले साथीहरु :
कक्षा १-२ मा पढ्दाका साथीहरुको नाम ठ्याक्कै याद छैन अहिले। केही सम्झनाहरु अस्पस्ट छन्। चोखाल गाउँको कृष्णने थियो। उमेर र उचाईमा हामी भन्दा धेरै अग्लो थियो। डेउडोमराको टेके ( टेकराज भण्डारी, जो अहिले दुर्गालक्ष्मी क्याम्पस, अत्तरियामा उपप्राध्यापक छ ) भाडीको टेक्को (टेकराज भट्ट), बालिबटाको पुसे (पुष्पराज भट्ट, जो अहिले जिल्ला समन्वय समिति, डोटीमा सुब्बा छ), सौसेराको लोग्गो (लोक बहादुर पातली), पातलीगाउँको घनश्याम (घनश्याम पातली) लगायतका केटाहरु कक्षा ३ सम्म सँगै पढ्यौं। उहाँहरु कक्षा ३ हो कि ४ मा अनुत्तीर्ण भएर म भन्दा एक बर्ष पछाडि पर्नुभयो। कक्षा ५ मा म आउँदा उहाँहरु कक्षा ४ मै हुनुहुन्थ्यो।

यति याद छ त्यो बेलाको। कक्षा ५ मा उच्कलाका रम्मो काका (रमेश ओझा, जो अहिले राधाकृष्ण मा. बि. गोपघाटमा प्रधानाध्यापक छन् ) र म मात्र केटा थियौँ। अरु केटीहरु थिए। खौलाकी मुन्नी दिदी (सावित्री भट्ट), मैसरी दिदी (महेश्वरी भट्ट), बेडजरै अनि दिदी (अनिता भट्ट) , काल्डुमराइ टिकी भदै (टिकेश्वरी भट्ट, जो अहिले अस्ट्रेलिया छ), मटेलाई लछ्छी भदै (लक्ष्मी भट्ट), सिरौंतोलाई कुम्मी (कमला पातली) , खल्बटाइ हिल्ली दिदी (हिरा भण्डारी), पथ्थरीघरै शान्ति भदै (शान्ती भट्ट, जसको निधन भैसकेको छ), धौलाकाँडाकी धनीधौली दिदी (धना ओझा र टीकेश्वरी ओझा) र पार्वती भदै (पार्वती ओझा), भुल्खेतै शारदा र रेवतीहरुको नाम आजसम्म याद छ। केटीहरुको बाहुल्यता भएका कारण हामी दुई जना केटाहरु (रमेश ओझा र म ) लाई आपत हुन्थ्यो। उमेरमा पनि हामी अरुभन्दा कान्छा थियौं। उचाइमा झन होचा। कबड्डि खेल्दा समस्या हुन्थ्यो। न तागत हुन्थ्यो हामीसँग न त लामा लामा हात। हामीलाई त चरा समातेको जसरी समातेर नचाइदिन्थे केटीहरुले। नखेलौं खेल्न रहर लागिहाल्ने। खेलौं परानपखेरु उडिहाल्ने डर। डरैडर मानी खेल्थ्यौँ खेल्न त। बेलुकी शरीर दुख्थ्यो खुब।

दुमिल्ली गाडै साँघु 

अहिले गडसेरा जाँदा दुमिल्ली गाडमा सिमेन्टेट साँघु देख्छु। पुराना दिनका यादहरु ताजा भएर आउँछन्। साँघुरो सल्लाको साँघु थिए त्यो बखत। कहिले दुईओटा हुन्थे त कहिले एउटा मात्र।

लम्बाइ अलि धेरै भएको कारण मान्छे हिँड्दा हल्लिन्थ्यो। एक त साँघुरो, अर्खो तर्फ हल्लिने। ओहोरदोहोर गर्दा खुब डर लाग्थ्यो सानो छँदाखेरी। बरिखा गाडमा पानी धेरै हुन्थ्यो। साँघु नै छोइएला जस्तो भएको हुन्थ्यो कुनै कुनै बखत त। साँघुमाथी चढ्नै हिम्मत नआउने।

दुमिल्ली गाडको साँघुसँग अर्खो कुरो नि जोडिएर आउँछ मेरो। सायद एक दुई कक्षामा पढ्थ्यौँ हामी। भुत्तडाको चेत्तो दाइ (चेतराज भण्डारी, जो अहिले बेपत्ता हुनुहुन्छ) साँघुमा बसेर हल्लाइ दिनुहुन्थ्यो। उहाँको स्वभाव नै अनौठो किसिमको लाग्थ्यो।

स्कुलबाट हामीभन्दा अलि छिटो आएर साँघुको बीचमा बसिराख्ने। जब हामी साँघु तर्न सुरु गथ्र्यौं, बेस्सरी हल्लाएर तर्साइदिनुहुन्थ्यो। धेरै दिनसम्म यसरी नै सताउनुभयो उहाँले। खुब डर लाग्थ्यो उहाँसँग। उमेरमा हामीभन्दा ४-५ बर्ष जेठो हुनुहुन्थ्यो। तर बानी भने बच्चाजस्तै लाग्थ्यो।

हामीलाई तर्साएर मजा लिनुहुन्थ्यो। खुब रिस उठ्थ्यो त्यो बेला। तर गर्न केही सक्थेनौँ हामी ससाना केटाकेटी। पछि उहाँले ३÷४ कक्षामै पढाइ छोडेर परदेशिनु भयो। कहिलेकाँही घर आउनुहुन्थ्यो। आजकाल धेरै बर्ष भयो चेत्व दाइको हालखबर पाइएको छैन।

छकले स्कुल र सिउँता बिजौलाः

बैशाखदेखि असार महिनासम्म स्कुल बिहानी सत्रमा संचालन हुन्थ्यो। जसलाई हामी ‘कले स्कुल’ भन्थ्यौँ। बिहान सबेरै उठेर जानुपथ्र्यो। बिहान उठ्न धौ धौ हुन्थ्यो। कहिलेकाँही त हामी हन्या उकालोमा हुन्थ्यौं, घन्टी बजिसक्थ्यो। स्याँफ्याँ गर्दै दौडेर उकालो चढ्थ्यौँ।

सास फेर्नै मुस्किल। छकले स्कुलमा हप्ट्यान (हाफ टाइम) मा सिउँता बिजौला टिप्न स्कुलको माथि रहेको डाँडाँमा जान्थ्यौँ। बैशाख जेठको गर्मीमा सिउँता तातेर फक्रन्थे र बिजौला जमिनमा खस्थे। तिनै जमिनमा खसेका बिजौला खोज्न हामी विद्यार्थीहरु हप्ट्यानमा डाँडातिर उकालो लाग्थ्यौँ।

कसले कति बिजौला जम्मा गर्न सक्यौं? प्रतिस्पर्धा हुन्थ्यो हाम्रो। धेरै बिजौला जम्मा गर्ने प्रतिस्पर्धामा हामी धेरै माथि पुगिसकेका हुन्थ्यौँ। कहिलेकाँही त घण्टी बजेकोसमेत सुन्थेनौँ। फर्केर स्कुल पुग्दा सर कक्षामा पुगिसकेका हुन्थे। कुटाइ खान्थ्यौँ। कुटाइको पीडालार्ई सिउँताको बिजौलाले फिक्का बनाइदिन्थ्यो।

छकले स्कुलमा अर्खि बहार काफल खानाइ हुन्थ्यो। स्कुलको माथि धौलाकाँडा जाने डाँडामा काफलका रुखहरु थिए। हप्ट्यान हुने बित्तिकै दौडेर काफलको रुखमा पुगिहाल्थ्यौं। बाँदर जसरी झुम्मिन्थ्यौँ बोटमा। रुख चढ्न सक्ने रुखमा चढेर खान्थ्यौँ त रुख चढ्न नसक्ने हाँगा भाँची माग्थ्यौँ।

रुखको फेदमा खसेका काचापाका दानाहरु टिप्थ्यौँ। नजिक नजिकका रुखका काफल सक्किए पछि टाढा टाढा पुग्थ्यौँ काफल खान। घन्टी बजेको पत्तै हुन्थेन। फेरि उही पिटाइ र गाली। अभ्यस्त भइसकेका हुन्थ्यौं काफलँगै कुटाइ खान।

छकले स्कुलमा किमु पाक्थ्यो। स्कुलको दक्षिणतिर किमुको रुख थियो। रुखमा चढेर खुब खाइयो। किमुको हाँगा कमजोर हुने रहेछ। हाम्रा साथीहरु रुख चढ्दा लडेका धेरै यादहरु ताजै छन आज पनि।

दुमिल्लानीर हनिगाडको पुलको मुख्खैमा फल्दाको रुख थियो। स्कुलबाट फर्किँदा फल्दो नखाइ आउन्नथ्यौँ। फल्दाका माना खुब मिठा हुन्थे। म रुख चढ्न डराउँथे। साथीहरु रुखमा चढेर हाँगा भाँचेर हाल्थे। म जमिनमा खसेका फल्दाका काला दाना टिप्दै खान्थे।

छकले स्कुलमा आगलागी बढी हुन्थ्यो। गर्मीको मौसम, सल्लाको कुसुम खसेको हुन्थ्यो। रुखका पातहरु खसेर सुकेका हुन्थे। गोठाला वा धूम्रपान गर्नेहरुले वनमा आगो लगाइदिएका हुन्थे। जंगलमा लगाएको आगो कहिलेकाँही त स्कुल नजिकै पुग्थ्यो, कहिले गाउँ बस्ती नजिकै पुग्थ्यो।

हामी विद्यार्थीहरु गएर रुखका हरिया हाँगा भाँचेर आगो निभाउँथ्यौँ। आगो निभेको दुई चार दिन पछि सिउँता बिजौला खोज्न फेरि सल्याडीका डाँडातिर उक्लन्थ्यौँ। यतिबेला सिउँता बिजौला खोज्न सजिलो हुन्थ्यो। कुसुम र पातहरु हुन्थेनन्। जमिनमा खसेका बिजौला सजिलै देखिन्थे।

हलुवा प्रेम 

स्कुलमा नास्ताको रुपमा हलुवा पाक्थ्यो। विश्व खाध्य कार्यक्रमको सहयोग हो सायद। पौष्टिक आहार कार्यक्रम भन्थे। हप्ट्यानमा हलुवा पाक्थ्यो। स्कुलमा परिचरको ब्यवस्था थिएन त्यो बखत। शिक्षक र विद्यार्थी मिलेर चौथो घण्टीदेखि हलुवा पकाउन सुरु गथ्र्यौं। पिलेटमा भाग लगाउथ्यौँ। खुब मीठो लाग्थ्यो हलुवा।

कहिलेकाँही बच्थ्यो, काफीका पानामा बेरेर घर ल्याउँथे। केही समय त्यो कार्यक्रम बन्द भयो। हामी तल्लो स्कुलमा आइसकेपछि पुनः संचालन भयो। कहिलेकाँही तल्लो स्कुल बिदा भएको दिन हलुवा खान मल्ला स्कुल जान्थ्यौँ।

सरहरु आफ्नै गाउँका भएको कारण र त्यो विद्यालयको पूर्व विद्यार्थी भएको कारण हलुवा पाउन सहजै हुन्थ्यो। म भन्दा पछाडि मल्ला स्कुल पढ्ने भाइबहिनीहरुलाई आफ्नो भागको हलुवा घर ल्याउन फकाउँथे पनि। खुब मीठो मान्थे म त्यो हलुवा। अहिले पनि सम्झदाँ मुखै रसाएर आउँछ।

अतिरिक्त क्रियाकलाप

स्रोतकेन्द्र स्तरीय विभिन्न किसिमका अतिरिक्त क्रियाकलाप हुन्थे। नवज्योती स्कुलले प्रायः सबैजसो प्रतियोगितामा भाग लिन्थ्यो र उत्कृष्ट नतिजा हासिल गरिराखेको हुन्थ्यो। म बौद्धिक प्रतियोगीताहरुमा बढी भाग लिन्थे।

हिसाब दौड, चित्रकला, हाजिरी जवाफ प्रतियोगितामा स्कुलको प्रतिनिधित्व गर्दै थुप्रै पटक उत्कृष्ट नतिजा ल्याउन सफल भएको थिएँ। एक पटक स्रोतकेन्द्र स्तरीय हिसाब दौडमा प्रथम हुँदा आधा दर्जन पिलेट पाएको थिएँ।

धेरै समयसम्म ती पिलेटहरु मेरो घरमा थिए। चित्रकलामा खुब रुची थियो मेरो। ठ्याक्कै तिथिमिती त याद छैन, तत्कालीन मन्त्री सिद्धराज ओझा हाम्रो स्कुलमा आउनुभएको थियो। उहाँको फोटो दुरुस्त उतारेर चित्र बनाएको थिएँ, उहाँलार्ई देखाएँ। औधी खुशी हुनुभयो र केही नगद पुरस्कार दिनुभएको थियो। त्यो पैसाले सम्पूर्ण बिद्यार्थीहरुले चाउचाउ पकाएर खाएका थियौं।

वार्षिकोत्सव कार्यक्रम :

वार्षिकोत्सव कार्यक्रमलार्ई पर्खेर बसेका हुन्थ्यौँ। हामी बिद्यार्थीहरुको लागि काजबार आए जस्तै हुन्थ्यो। अन्धेर रमाइलो हुन्थ्यो। सदन बिभाजन गरिएको हुन्थ्यो। प्रत्येक सदनका भिन्न भिन्न नृत्य प्रस्तुत हुन्थे। डाङ्ङा सरले गीत बनाउनु हुन्थ्यो। केटीहरु नाच्थे।

केटा र केटी मिलेर गीत गाउने, मादल बजाउने, मुजुरा बजाउने गथ्र्यौं। गाउँगाउँबाट अभिभावकहरु आउँथे। एककिसिमको महोत्सव जस्तै लाग्थ्यो। विभिन्न अतिरिक्त क्रियाकलाप सन्चालन हुन्थे। बिजेताहरुलाई पुरस्कार प्रदान गरिन्थ्यो।

कक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पनि पुरस्कार दिइन्थ्यो। मैले पनि धेरै पटक पुरस्कार पाएको थिएँ। अभिभावकको अगाडि पुरस्कार ग्रहण गर्न पाउँदा छाती चौडा हुन्थ्यो। थप हौसला र उर्जा मिल्थ्यो। अझ बढी मिहिनेत गर्ने प्रेरणा मिल्थ्यो।

स्कुलको बार्षिकोत्सव समारोह हुँदा मेरा बुवा घर आउनुहुन्थ्यो। त्यो बखत उहाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्थ्यो सायद। अहिले सम्झिन्छु म ती दिन। बुवा ब्यापार गर्न दिपायल बस्नुहुन्थ्यो। दिपायलबाट आउँदा बिस्कुट र चकलेट ल्याइदिनु हुन्थ्यो। राम्रा राम्रा कपी र डट्पेन ल्याइदिनु हुन्थ्यो। त्यसकारण पनि म स्कुलको बार्षिकोत्सव समारोहलाई कुरेर बस्थे मल्लो स्कुल पढ्दा।

बाउन्जरो दोकान 

डेउडोमरा नवराज दाइको पसलको अलि अलि याद छ। सायद म २-३ कक्षामा पढ्थे। त्यो बखत दारु बेचिन्थ्यो। साना शिशिमा आउँन्थ्यो दारु। दारु खाएर रित्तिएका सिसीहरु करेटीतिर थन्क्याइएका हुन्थे। हामी केटाकेटीहरु दारुको बासना सुम्थ्यौँ। बाउन्जरमा बाम पातली दाइले लामो समयसम्म दोकान चलाउनु भयो।

पैसा त कहाँ पो हुन्थ्यो र धेरै? तरपनि कहिलेकाँही आमाले पैसा दिनुभयो भने बाउन्जर बाम दाइको पसलमा बिस्कुट किन्न जान्थे। चमेना बिस्कुटको याद छ। एक रुपैयाँ र दुई रुपैयाँमा पाइन्थ्यो। म्याङ्गो टफी किन्थ्यौँ। बलगम किन्थ्यौँ। एक रुपैयाँको दुई आउँथे।

कहिलेकाँही पिपिलमेट र गट्टा किन्थ्यौँ। बाम दाइले मेलनस्पाती लगाएका थिए। खुब फल्थे असोज कार्तिक तिर। कहिले मागेर खान्थ्यौँ त कहिले किनेर। जे होस नवज्योती स्कुल पढ्दा बाउन्जरो दोकान खुब गैयो।

खेलकुद 

मल्ला स्कुल पढ्दा सानै त थिएँ। दश बर्ष हुँदा कक्षा पाँचमा पढ्थे। कबड्डी खेल्थ्यौँ हप्ट्याना बखत। अहिलेका जस्ता कबड्डिका नियम थाहा थिएनन्। कबड्डी कबड्डी बन्दै दौडिरहेन्थ्यौँ चौर भरी। लुगा च्यातिन्थ्यो तान्दा।

बलौटे माटोमा घिर्सिँदा हात र खुट्टामा बालुवाँले चोट लाग्थ्यो। पाँचछ जना साथीहरु शरीरमाथि पल्टिँदा शरीर दुख्थ्यो। तरपनि जब जितिन्थ्यो एउटा युद्ध जितेजस्तै भान हुन्थ्यो। खुशी मिल्थ्यो। पीडा र दुखाइ सब बिर्सिन्थ्यौँ।

केटाहरु लोडेबाग खेल्थ्यौँ। खेल्दाखेल्दै कतिका नथनी फुट्थे त कतिका ओठ। कतिका भुक्कुल जान्थे त कतिका हात मण्किन्थे। तरपनि लोडेबागमा जित्नै पर्ने दम्ब हुन्थ्यो।

खेलमा यति डुब्थ्यौँ कि न नाकबाट रगत आएको प्रवाह हुन्थ्यो, न घुँणा फुटेको। बस, आफ्नो जोडी नछुट्टिन बल गथ्र्यौँ एक जोडी भने अर्को कुटाइ खाएर पनि जोडी छुटाउन बल गथ्र्यो। एक किसिमको युद्ध नै चल्थ्यो लोडेबागमा। तरपनि जित्दा साह्रै आनन्द महसुस हुन्थ्यो त्यो बखत।

मल्ला ग्राउन्डमी घुसुडी खेल्थ्यौँ। दुमिल्ला नीर एउटा ढंगो थियो। चिप्लेटी खेल्थ्यौँ। पाइन्ट फाटेर ढोड पढिसक्दा पनि घुसुडी खेल्न छोड्थेनाँै। राजा कबड्डी खेल्थ्यौँ। स्कुलको उत्तरतिरको बगैंचामा विभिन्न बोटबिरुवाहरु लगाइएका थिए।

रुखका ससाना पोथ्राहरुमाथि चढेर बाँदरको एक्टिङ गर्दै जिस्किन्थ्यौँ। खेल्थ्यौँ। सल्याडीमा कुसुम जम्मा गरेर घुसुडी खेल्थ्यौँ। मल्लो ग्राउन्डको माथितिर देवताको बिण्णी बनाएर जाँत गथ्र्यौं। धामी बन्थ्यौँ, देवता सोध्थ्यौँ। स्कुल पनि त एउटा समाज थियो। समाजमा मनाइने हरेक चाडपर्व र मेलापातको नक्कल गथ्र्यौं स्कुलमा।

एउटा परिवार पनि त थियो स्कुल। परिवारका हरेक सदस्यको भूमिका निर्वाह गर्दै नाटक मन्चन गथ्र्यौं स्कुलमा। कोही बुबा बन्थ्यौँ त कोही आमा। कसैको बिहे गरिदिन्थ्यौँ त कसैको बच्चा जन्माइदिन्थ्यौँ। कसैलाई परदेश पठाइदिन्थ्यौं त कसैलाई बिहे गरेर पराँइ घर। न लाज लाग्थ्यो, न डर। यसैमा आनन्द लाग्थ्यो।

खेल नै जीवन हो जस्तो लाग्थ्यो त्यो बखत। खेलेरै जिन्दगी कटाउन सकिन्छ जस्तो लाग्थ्यो। भाँडाकुटी खेल्थ्यौँ। लुक्काचोर खेल्थ्यौँ। उमेर र कक्षा बढे सँगै हामीले खेल्ने खेलहरु बदलिए, स्वभाव बदलियो, खेल्ने साथीहरु बदलिए। प्रबिधि बदलियो। जिम्मेवारी र भूमिका बदलियो।

दो एक्का दो, घर जाने को ?

अहिले सम्झिन खोज्छु, ‘दो एक्का दो’ कति पटक उच्चारण गरे हुँला मल्लो स्कुल पढ्दा? कति पटक काफिमा लेख्यौँ होला? त्यसको एक चौथाइ पटक “घर जाने को“ भनेर पनि साथिहरुलाई जिस्क्याए हुँला। कति कक्षाबाट दुनोट कण्ठ गर्न थालेँ? ठ्याक्कै याद छैन अहिले। तर यति चाहिँ याद छ कि २-३ कक्षामा पढ्दा प्रत्येक दिन दुनोट कण्ठ गरेकै हुन्थ्यौँ।

कण्ठ भैसकेपनी पढिराखेकै हुन्थ्यौँ। सुरुमा आफ्ना लागि कण्ठ गरेँ, पछि साथीहरुका लागि पढेँ। त्यसपछि भने सरहरुका लागि भनें। सरहरु थोरै थिए। एकै सरले दुई दुई कक्षा हेर्नुपथ्र्यो। बाहिर चौरमा बसायो कि दुनोट पढ्नु पथ्र्यो या पाठ सार्नुपथ्र्यो। त्यसकारण दुनोट कति पढेँ, पाठ कति सारेँ कुनै लेखाजोखा छैन।

खासगरी अन्तिम तिरका घण्टीहरुमा दुनोट पढ्ने र पाठ सार्ने काम बढी हुन्थ्यो सानो कक्षामा। अझ हिउँद तिरका दिनहरुमा यो क्रम बढी चल्थ्यो। बाहिर चौरमा बस्यो कि उही दैनिकी सुरु हुन्थ्यो। त्यो बखत कार्यालय सहयोगीको व्यवस्था थिएन। सरहरु कि त आफैं घण्टी बजाउनु हुन्थ्यो कि त बिद्यार्थीलार्ई पठाउनुहुन्थ्यो।

विद्यार्थी कसैका पनि हातमा घडी हुन्थेनन्। अन्तिम पिरियडमा सबैको आँखा किताब भन्दा पनि घण्टीतिर बढी हुन्थ्यो। घण्टी बज्नु भन्दा पहिल्यै बिद्यार्थीहरु झोला बोकेर घर जान तयार भैसक्थे। घण्टी बज्ने बित्तिकै पिँजडाबाट निस्केका चरा जस्तै खुल्ला आकाशमा उडान भर्थे।

डोकामा छोपी राखेका बाख्राका पाठाहरु जसरी निस्किन्छन, त्यसरी नै निस्किन्थौँ उफ्रिन। एकै सासमा दुमिल्ला पुगेर रोक्किन्थ्यौँ। को छिटो दौड्न सक्छ ? को छिटो दुमिल्ला पुग्न सक्छ ? प्रतिस्पर्धा हुन्थ्यो हाम्रो। नतिजा त आउँथ्यो। तर न पुरस्कार हुन्थ्यो, न निर्णायक नै। अथाह खुशी मिल्थ्यो जितेकोमा। बेग्लै आत्मसन्तुष्टि। यहि त थियो बालापनको आनन्द र मजा। जुन न खरिद गर्न सकिन्थ्यो, न बेच्न नै।

उपद्रो र उट्पट्याङ 
प्राथमिक बिद्यालयको उमेर अलिअलि जिज्ञासु, अलिअलि चकचके र अलिअली उपद्रो गर्ने खालको हुनु स्वभाविकै हो। हामी केही स्वभाविक थियौँ त केही अस्वभाविक। केही जानी जानी बिगार गथ्र्यौँ त केही अन्जानमै। उमेर नै त्यस्तै त्योबेलाको। अलिअली डर लागे पनि बिगार गर्नैपर्ने।

हप्ट्यानको बखत कहिले बाउन्जर बाम दाइको मेलनस्पाती चोर्न जान्थ्यौँ त कहिले डेउडोमरा नवराज दाइका घडिखाता हालेका केरा चोर्न निस्किन्थ्यौँ। स्कुल परिसरमा सुन्तलाका बोटहरु थिए। मङ्सिरको महिना जब सुन्तला पाक्थे, हामी बिद्यार्थीहरु सरहरुका आँखा छलेर चोर्न तम्सिहाल्थ्यौँ।

कहिले सुन्तला चोर्दा चोर्दै रङ्गेहात पक्रिन्थ्यौँ त कहिले मुख सुघेर पक्रिन्थ्यौँ। त्यसपछि पाउने सजाय सम्झिदाँ अहिले पनि आङ जिरिङ्ग हुन्छ। स्कुले जीवनमा गर्नुपर्ने बदमासी र उटपट्याङ सबै गरियो सायद। साथीहरुको आङमा कुरो लगाउनेदेखि लिएर झोला लुकाइदिने काम सम्म गरियो।

एउटा साथीको काफी अर्को साथीको झोलामा हालेर सरसङ्ग कुटाइ खुवाउने काम पनि गरियो। कहिले साथिहरुले ल्याएका नास्ता चोरेर पनि खाइयो। धेरै कुराहरु अहिले बिर्सिएँ। तरपनी बालापनमा नवज्योती बिद्यालयमा बिताएका पलहरुले अहिले पनि रोमान्चित बनाउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.