तीन विधामा २०८२ सालको अन्तरदृष्टि पुरस्कार घोषणा
काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तराष्ट्रिय दिवस, ३ डिसेम्बर २०२५ को उपलक्ष्यमा अपाङ्गताप्रति समाजको विद्यमान नकारात्मक, विभेदपूर्ण र पूर्वाग्रही धारणा अनि सोचमा परिवर्तन ल्याई समता, सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान र पहिचान स्वीकार गर्दै सँगसँगै हिँड्न सकियोस् भन्ने हेतुले डा. कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित ‘अन्तरदृष्टि पुरस्कार’ २०८२ सालका लागि तीन विधामा घोषणा गरिएको छ।
देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने दृष्टिविहीन विद्यार्थीहरूको सर्वेक्षणका आधारमा अन्तरदृष्टि नमुना शिक्षक पुरस्कार तथा अन्तरदृष्टि हातेमालो पुरस्कारका लागि एक शिक्षक र एक विद्यार्थी छनोट गरिएको हो भने अन्तरदृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार समितिका सदस्यहरू डा. कमल लामिछाने, होमनाथ अर्याल, सरिता लामिछाने र सुनिता थापाको निर्णयका आधारमा गरिएको हो।
यस वर्षको अन्तरदृष्टि नमुना शिक्षक पुरस्कार शिक्षकको शिक्षण सिकाइ क्रिकयाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपाङ्गताप्रतिको सोच र दृष्टिकोणलगायतलाई आधार मानी विद्यार्थीले छनोट गरे अनुसार बागमती प्रदेशस्थित काठमाडौं जिल्लाको ल्याबोरेटरी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक क्षेत्रबहादुर बुढाथोकीलाई प्रदान गरिनेछ।
यस्तै अन्तरदृष्टि हातेमालो पुरस्कार दृष्टिविहीन विद्यार्थीहरूले आफूसँग हातेमालो गरेका अपाङ्गता नभएका विद्यार्थीहरूको सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदानलगायतलाई आधारमानी छनोट गरे अनुसार बागमती प्रदेशस्थित काठमाडौं जिल्लाको ल्याबोरेटरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थी प्रसिखा भट्टराईलाई प्रदान गरिनेछ।
यस्तै पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास र समतामूलक समाजको अंग बनाउन भूमिका खेल्ने पत्रकारहरूमध्ये यस वर्षको अन्तरदृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनमा कार्यरत आरती चटौतलाई प्रदान गरिनेछ।
प्रमाणपत्रसहित अन्तरदृष्टि नमुना शिक्षक पुरस्कारको रकम २० हजार, अअन्तरदृष्टि हातेमालो पुरस्कारको रकम १० हजार र अन्तरदृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको रकम १५ हजार रहेको छ। पुरस्कारहरू वषन्तपञ्चमीका दिन प्रदान गरिनेछ।







डिसी नेपाल








Facebook Comment