मदेइरामा दूतावासको घुम्ती शिविर सुरु : पहिलो दिन ५५ नेपालीले लिए सेवा
लिस्बन। पोर्चुगलको लिस्बनस्थित रहेको नेपाली दूतावासले सामुद्रिक टापु ‘मदेइरा’मा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ।
पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलको नेतृत्वमा गएको दूतावासको टोलीले मदेइरा आइल्याण्डको फुन्चालमा घुम्ती शिविर सञ्चालन गरेर शनिबारदेखि राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन थालेको हो। घुम्ती सेवाको पहिलो दिन शनिबार करिब ५५ जना सेवाग्राही नेपालीले सेवा लिएको टोलीले जनाएको छ।
राहदानी नवीकरण तथा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई घुम्ती शिविरमार्फत मदेइरामै सेवा दिन सुरु गरिएको राजदूत पौडेलले बताए।
दुई दिनसम्म सञ्चालन हुने घुम्ती शिविरबाट मदेइरा क्षेत्रमा बसोबास गर्ने एक सय बढी नेपालीले सेवा लिने अपेक्षा गरिएको उनले बताए। आइतबारसम्म सञ्चालन हुने शिविरमा उपस्थित भई राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणसम्बन्धी सेवा लिन राजदूत पौडेलले मदेइरावासी नेपाली समुदायलाई विशेष आग्रहसमेत गरे।
शिविर अवधिभर दूतावासको टोलीले राहदानीको म्याद सकिएका, हराएका, क्षति भएका तथा राहदानीको म्याद छ महिनाभन्दा कम रहेकाको विद्युतीय राहदानी (ई-पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन संकलन गर्नेछ।
यस्तै प्रहरी रिपोर्ट, पारिवारिक कागजातलगायत अन्य कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा प्रमाणीकरणलगायतका सेवा प्रदान गरिने दूतावासले जनाएको छ। दूतावासले मदेइरा टापुमा पहिलोपटक घुम्ती शिविर सञ्चालन गरेको हो।
घुम्ती शिविरले राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका मदेइरावासी नेपालीलाई राहत मिलेको गैर आवासीय नेपाली संघ पोर्चुगलका पूर्व महासचिव निराजन सुवेदीले बताए। मदेइरामै राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी सेवा लिन पाउँदा मदेइरा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूका लागि अत्यन्तै सहज भएको सुवेदीले बताए।
यसअघि गत महिना पनि दूतावासले पोर्चुगलको फारो सहरमा घुम्ती शिविर सञ्चालन गरेर दुई सय नेपालीलाई सेवा दिएको थियो।
















Facebook Comment