‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन
काठमाडौं । गत असोज ३१ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘जेरी अन टप’ ले शनिबार प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ।
उक्त चलचित्रले शनिबार काठमाडौँ उपत्यकामा रहेका क्युएफएक्स सिटी स्क्वाएर, रञ्जना सिनेप्लेक्स, वान सिनेमाज नयाँ बानेश्वर र कालीमाटी, एफक्युब चाबहिल र इलाइट सिनेमा इटहरीमा प्रदर्शनको ५१औँ दिन पूरा गरेको उक्त चलचित्रका वितरक करण श्रेष्ठले जानकारी दिए।
“सगरमाथा आरोहण र प्रेम कथामा आधारित चलचित्रले घरेलु बजारमा राम्रो व्यापार गर्नाका साथै दर्शकको ५१औँ दिनको यात्रा सफलतापूर्वक तय गर्न सफल भएको छ। यो समग्रमा नेपाली चलचित्रकर्मीका लागि सुखद खबर हो। यसको सफलताले विधागत चलचित्र निर्माण गर्न अन्य निर्मातालाई प्रोत्साहन मिलेको छ,” वितरक श्रेष्ठले भने।
उनका अनुसार चलचित्रले १२ करोडभन्दा बढी रकम घरेलु बजारमा व्यापार (ग्रस कलेक्सन) गर्न सफल भएको छ। सरोज न्यौपानेले निर्माण गर्नुभएको उक्त चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, उषा खड्गी लगायतका कलाकारले अभिनय गरेका छन्।
सुयोग गुरुङले निर्देशन गर्नुभएको चलचित्र ‘जेरी अन टप’ यो वर्ष (विसं २०८२) सर्वाधिक व्यापार गर्ने दोस्रो नेपाली चलचित्रसमेत बनेको छ। अभिनेता अनमोल केसीले यो समग्र नेपाली चलचित्र क्षेत्रकै उत्सव भएको बताए।
“म अहिले नयाँ चलचित्रको छायाङ्कनमा व्यस्त छु, तर पछिल्लो चलचित्रको सफलताले थपेको ऊर्जालाई म शब्दमा व्यक्त गर्न सक्दिनँ। मैले अझै दायित्व बोध गरेर नयाँ काम गर्ने कोसिस गरेको छु। नेपालको सान मानिने सगरमाथाको विषयलाई केन्द्रमा राखेर हामीले प्रेमकथा प्रस्तुत गरेका थियौँ, दर्शकले रुचाउनुभएका कारण आगामी दिनमा अन्य निर्मातालाई पनि प्रकृति र संस्कृतिसँग जोडिएको विषयलाई चलचित्रमा ल्याउन प्रोत्साहन मिल्ने छ”, अभिनेता केसीले भने।
काठमाडौँका केही चलचित्र भवनमा ‘जेरी अन टप’ आगामी साता पनि प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएका छन्।







डिसी नेपाल








Facebook Comment