देशमा देखिएको आजको राजनीतिक परिदृश्य

कृष्ण बोहरा
२६ मंसिर २०८२ ७:३७
20
Shares

जुन कुरा मान्न कतिपय मानिसहरू तयार छैनन् त्यही कुरा भैरहेको छ यहाँ। घटना र परिघटनाहरूको निर्माण अन्तर्विरोधहरुकै कारणले हुने गर्छन्।

नयाँ र स्वतन्त्र मेयरहरुले देशका दुई तीन वटा नगरपालिकामा जितेसँगै काठमाडौंका मेयर बालेन शाहलाई पनि नयाँ केही गरौं भन्ने लाग्यो। उनले तीनवटा कुरामा बढता केन्द्रित भएर कामहरु शुरु गरेको देखिन्छ।

– सार्वजनिक जग्गाको खोजतलास र तिनको अधिकरण।

-कर नतिरी संचालन भएका सत्ता र पावरको भरमा खाइपाइ आएका ब्यक्ति र समूहहरुलाई निस्तेज पार्दै करको दायरामा ल्याउनु

– पुराना संरचनाहरुलाई यथासंभव संरक्षण र पुननिर्माण गर्ने काम।

माथिका १ र २ नं बुँदालाई कुनै मुलाहिजा बिना बेरोकटोक लागू गरेका कारणले देशका शक्तिशाली व्यक्ति र समूहहरु यसबाट प्रभावित हुन थाले। जसबाट मेयर बालेनको यहाँको शक्तिशाली केन्द्रीय सत्तासँग भयानक ठूलो अन्तरविरोध पैदा भयो।

केन्द्रीय सत्ताले स्थानीय स्वायत्त अधिकार कानुनको समेत धज्जी उडाउँदै महानगरपालिकालाई नत्थी लगाउन र उसलाई असफल बनाउन हरसम्भव कोसिस गर्यो। महानगर भित्र यहाँको आदिवासी नेवारहरूको समेत वाही वाही पाएका बालेनले पनि आफ्नो सम्पूर्ण साधनस्रोत बुद्धि प्रयोग गरी केन्द्रीय सरकारको बिरुद्धमा जाइलाग्न आन्तरिक रुपमा तयारी अवस्थामा नै भएको भन्ने बुझियो।

भ्रष्टतन्त्रको जग आफैंमा मक्काएर कामै नलाग्ने भएको थियो। पार्टी पार्टीहरु बीचको अन्तरविरोध पनि पेचिलो बनेकै थियो। राजावादीको आन्दोलन भर्खरै मथ्थर भएजस्तो भएतापनि आन्तरिक रुपमा बदलाव र टकरावको अवस्था छँदै थियो। सामाजिक संजाल बन्द गर्नु सबैको आक्रोशको बिषय बन्यो। बिशेष गरेर जेनजी समूह त्यसबाट बढी प्रभावित बने। भाद्र २३ र २४ गतेको आन्दोलन त्यसैको पेरिफेरीमा भएको बुझियो।

पुराना परिवर्तन नहुने संस्कार बोकेकालाई यसले सबक महसुस गराएको छ। तर पनि नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण एउटा समस्याको बिषय छँदैछ। पार्टीहरु भित्र आफ्ना शिर्ष नेतृत्वको बिरुद्ध नेतृत्व खोसेर लिनसक्ने ल्याकत युवा नेताहरुमा पनि देखिँदैन।

नयाँ केही गरौ भन्ने भावना भएका पार्टीहरु भित्रैका नयाँ पुस्ताले नेतृत्व हातमा लिनु भन्ने समयले आदेश गरेको जस्तो बुझिन्छ। बाहिरका जेनजीहरु कुहिरोको काग जस्तै अलमलिरहेको हामी सबैले देखेकै छौं। न कुनै नेतृत्व न पार्टी न कुनै नीति सिद्धान्त केही पनि छैन।

जेनजी एउटा उमेर समूहको नाम मात्र हो। उनीहरु भ्रष्टीकरणको बिरुद्ध स्वतः स्फुर्त उठेका थिए। आन्दोलन शान्तिपूर्ण गर्ने भन्ने थियो। कुनै विध्वंस गर्ने त योजना नै थिएन। भइ दियो पुराना बुढाहरुको सत्ता ढाल्ने आन्दोलन। सत्तासीन सबैलाई आर्मीको हेलिकप्टरमा भाग्नुपर्ने अवस्था बनाइदियो। तैपनि जेनजीहरुलाई राजनीतिमा चासो समेत थिएन।

नयाँ गर्न नयाँ सोच नयाँ उमंग र नयाँ चाहनाको आवश्यक पर्छ। हर्क, बालेन, गोपी हमाल, कुलमान, महावीर पुनको लाइनमा काम गर्ने नेतृत्व भएमा देशले छिट्टै काँचुली फेर्न सक्छ भन्ने पाठ पनि नयाँ युवाहरुलाई आजको परिस्थितिले सिकाएको देखिन्छ।

देशमा देखिएको आजको राजनीतिक परिदृश्य

नियालेर हेर्दा नेपालको अहिलेको परिदृश्य यस्तो छ। विस्थापित सत्ताधारी पुराना नेतृत्व जेन्जी आन्दोलनलाई सम्पूर्ण रुपमा विदेशीहरूको इसारामा भएको आन्दोलन भनिरहेका छन्। नयाँ युवा पंक्तिहरू भ्रष्टतन्त्रको जग हल्लाउने गरी भएको यो आन्दोलनलाई भ्रष्टतन्त्रको विरुद्ध भएको आन्दोलनको रुपमा यसलाई व्याख्या गर्छन्।

पुरानो पार्टीहरू एकले अर्कोलाई दोषारोपण गर्न पनि लागि परेको देखिन्छ। जनसाधारणको ठूलो पंक्ति पनि विभाजित भएको देखिन्छ। कसैले यसलाई विदेशीको इशारामा भएको आन्दोलन भनिरहेका छन्। कसैले ओलीतन्त्रलाई यसको दोष थोपरिरहेका छन् भने एउटा ठूलै हिस्सा बालेन र युरोपियन युनियन तथा सिआइएको उक्साटमा भएको आन्दोलनको रुपमा व्याख्या विश्लेषण गर्ने गर्छन्।

विदेशी हस्तक्षेपको सम्बन्धमा एउटा धारणा

हाम्रो देश नेपालमा विदेशी हस्तक्षेपको कुरो गर्दा छिमेकी देश भारत, युरोपियन युनियन र विश्वशक्ति राष्ट्र अमेरिका नेपालमा प्रभाव पार्न र रणनीतिक रुपमा नेपाली भूमिमा खेल्न उनीहरुलाई मनपर्छ। यसको मुख्य कारण उत्तरतिर रहेको शक्तिराष्ट्र चीनको विरुद्धमा पश्चिमा राष्ट्रहरू विशेष गरेर केन्द्रीकृत भइरहेका छन्।

फ्री तिब्बतको नारा उजगार गर्न तिब्बती शरणार्थीहरूलाई तिखारी रहेका छन्। यो उनीहरूको आजको मात्र योजना होइन, उहिले देखि कै हो। यसलाई निस्तेज पार्न राजा वीरेन्द्रले असंलग्न परराष्ट्र नीतिको अवलम्बन गरेका थिए।

यस्तो तटस्थताको नीति नेपाल जस्तो दुईटा शक्ति सम्पन्न देशको बीचमा रहेको सानो देशको लागि निकै महत्वपूर्ण कुरा हो। यो बडामहाराज पृथ्वीनारायण शाहको दिव्य उपदेशमा पनि उल्लेख भएको कुरा नै हो। अर्को कुरा देशको सुरक्षाको लागि गुप्तचर निकायको पनि भूमिका महत्वपूर्ण हुन जान्छ।

नेपालको सेनाले धेरै पहिलेदेखि नेपालको सत्ताधारीहरूलाई देशको हालत नाजुक भएको कुरा उल्लेख गरेका थिए। सम्भाब्य घटनाको सूचना पनि नआएको होइन। सो कुरालाई सरकारको शीर्ष भागमा बस्ने नेतृत्वले नपत्याएको र टेरपुच्छर नलगाएकै हो।

स्वतन्त्र रूपमा काम गर्ने नेपालको गुप्तचर निकायलाई प्रधानमन्त्रीको मातहतमा ल्याएर राख्ने काम पनि गलत थियो। झन् कुनै सिप दक्षता नभएका कार्यकर्तालाई जागिर दिन यस्तो संवेदनशील संस्थामा समाविष्ट गर्नु लापरवाहीको पराकाष्ट थियो। भाद्र २३ आइपुग्दा समेत प्रधानमन्त्री सूचनाविहीन बनेकै हुन। कसैलाई नटेर्ने बानी भएका हाम्रा निवर्तमान प्रधानमन्त्रीले बच्चालाई आन्दोलन गर्न नसक्ने दुधमुखे भनेर खिल्ली उडाएका थिए। उनैलाई भोलिपल्ट आफ्नै यो बानी अभिशाप बन्यो।

राजनीतिक नेतृत्वले बुझ्नुपर्ने कुरा

देशभित्रका जुनसुकै सृजनशील दक्ष र जनतामा प्रभाव पार्न सक्ने व्यक्ति सबैलाई आवश्यक हुन्छ। त्यो ’ रअ’’ सिआइए युरोपियन युनियनका गुप्तचर निकाय सबैका दृष्टि उनीहरुमा परेकै हुन्छ। उनीहरुलाई कसले प्रयोग गर्ने भन्ने कुरा चाहिँ महत्वपूर्ण हो।

देशभित्रको राजनीतिक नेतृत्वले हर्क बालेन गोपी हमाल कुलमान घिसिङग महावीर पुन जस्ता महत्वपूर्ण व्यक्तिहरुलाई राज्यको पक्षमा देश हितको लागि प्रयोग गर्नुपर्ने हुन्छ। यदि यसो गर्न सकिएन भने घुमाउरो ढंगले अरुले पनि प्रयोग गर्ने नै छन्। सबैलाई विदेशी एजेन्टको ट्याग पहिराएर समस्याको समाधान हुनेवाला छैन।

पुराना राजनीतिक नेतृत्वका नकारात्मक पक्ष

सर्वसाधारण सबैको सोझो आँखाले हेर्दा स्वतन्त्र मेयर बालेन शाहले सार्वजनिक जग्गा मिच्ने अतिक्रमण गर्नेका घर टहरा भत्काउनु कानुन अनुसारकै काम हो। उनले त राज्यलाई सघाएको नै देखिन्छ तर यसैलाई राजनीतिक नेतृत्वले नकारात्मक रुपमा हेर्न थाल्यो। यसको कारण हो यसरी जग्गा मिच्ने काम नेतृत्व पंक्तिका आफ्नै नेता कार्यकर्ता र सहयोगी चन्दा दाताहरू थिए।

आँखा चिम्म चिम्लेर शीर्ष नेतृत्वले मेयर बालेनले गरेको कानुन सम्मत त्यस्ता कामलाई प्रोत्साहन दिँदै समर्थन गरेको भए बालेन स्वयं राजनीतिक नेतृत्वको पक्षमा नै हुने थिए। अथवा जनसाधारणको ठूलो पंक्ति त्यतिखेर सरकारको पक्षमा हुने थियो। घुसखोरी र भ्रष्टाचारको विरुद्ध नेतृत्व लागिपरेको भए नेतृत्व स्वयं हाइ हाई हुने थियो। यहाँ कुनै विदेशी इशारा नाकाम सिद्ध हुने थियो। त्यो काम हाम्रो नेतृत्वबाट नभएकै हो।

अबको बाटो

हाम्रा पार्टीहरू भित्र विचार र सिद्धान्तको कुनै कमी छैन। नभएको काम मात्र हो। नैतिकता र काम गर्ने उत्कट चाहनाको कमी हो। यो कुरालाई मध्यनजर गरी युवा पंक्तिका नेताहरूले शीर्ष नेतृत्वलाई खबरदारी गर्नैपर्छ। उहाँहरुले नयाँ र असल कामको लागि लागिपर्नुपर्ने हुन्छ। ती असल कामहरू भनेको पहिलो काम नै भ्रष्टाचारलाई न्यूनीकरण गर्नु हो। घुसखोरी हटाउन कर्मचारीतन्त्रमा व्यापक फेरबदल गर्नु आवश्यक छ।

उद्योग धन्दाहरू व्यापक रुपमा खोल्दै जाने र विदेश पलायन भइरहेका युवाहरुलाई देशभित्रै रोजगारीको व्यवस्था गर्दै जानुपर्ने आवश्यक छ। कृषि क्षेत्रको समस्याहरू समाधान गर्न कृषक समूहहरू स्वयंलाई कृषि नीति बनाउनलाई समावेश गराउनु आवश्यक छ। हरेक क्षेत्रमा काम गर्नेको उचित मूल्यांकन प्रोत्साहन र बढोत्तरी गर्ने र काम नगर्ने ठगी गर्नेलाई निरुत्साहित गर्दै लाने परिपाटी बसाउँदै लानु आवश्यक छ।

कार्यकर्ता भर्ती केन्द्र बन्द गरिनुपर्छ

संघसंस्था सबैतिर कार्यकर्ता भर्ती गर्ने होइन सक्षम र दक्ष व्यक्तिहरू लोकसेवा आयोगको माध्यमबाट पूर्ति गर्ने व्यवस्था गरिनुपर्छ। आफ्नो होइन राम्रा मान्छेहरु छनोट गरी काम दिनुपर्छ। विज्ञ व्यक्तिहरूको समूहलाई प्रोत्साहन गर्नुपर्छ। उचित ठाउँमा उनीहरुलाई नै काम दिनुपर्छ।

यसो नगरी हाम्रा पुराना नेतृत्वले सिआइबी जस्तो संस्थालाई पनि कार्यकर्ता भर्ती गर्ने ठाउँ बनाए। विश्वविद्यालय शिक्षालयहरूमा यसैगरी कार्यकर्ताहरु भर्ती गरियो। जसले गर्दा न हाम्रा विश्वविद्यालयहरू राम्रोसँग चल्न पाएका छन्। न देशको पक्षमा सूचना दिने संस्थाले सही सूचना दिनसकेको छ।

बरु विदेशी जासुसी संस्थाहरूको प्रभाव हाम्रो राज्य यन्त्रको चारैतिर प्रभाव जमाउन सक्षम बनेको छ। राजा महेन्द्रको शासनकालमा देशका सूचना विदेशीलाई बेच्नेलाई राजद्रोहको अपराधमा ठाउँको ठाउँ कारबाही हुने चलन थियो। यसले गर्दा विदेशी गुप्तचर निकाय निस्तेज बन्दै गएको थियो। अहिलेको अवस्था त्यस्तो छैन। उनीहरूको लागि यहाँको राजनीतिक अवस्था वातानुकुलित बनेको छ। कमसेकम राम्रो कुरा त राजाबाट पनि सिकौन।

अदालत जस्तो निष्पक्ष हुनुपर्ने निकायमा समेत पार्टीका कार्यकर्ता भर्ती गर्ने नियम बसालेकाले अदालत निष्पक्ष हुन सकेको छैन। त्यसको प्रभाव जनतामा नराम्रो परेको छ। जसले गर्दा पनि आम जनता नकारात्मक र आक्रोशित बनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.