सुशील कोइराला सरकारमा भूमिसुधारमन्त्री रहेका एमाले नेता रानाले राजनीतिबाट सन्यास लिए
काठमाडौं । एमाले नेता तथा पूर्वमन्त्री दलबहादुर रानाले राजनीतिबाट सन्यास घोषणा गरेका छन् । शुक्रबार सामाजिक संजाल फेसबुकमा एक पोस्ट गर्दै रानाले सन्यासको घोषणा गरेका हुन् ।
राना २०५१ सालको आम निर्वाचनमा पाल्पा क्षेत्र नम्बर १ बाट पहिलो पटक सांसद निर्वाचित भएका थिए । २०५६ को निर्वाचनमा एमाले फुटेर बनेको मालेबाट पराजित भएका उनी २०६४ को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा समेत सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
२०७० र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा भने उनी उम्मेदवार नै भएनन् । उनी २०७० सालको संविधानसभा निर्वाचनपछि गठित तत्कालीन कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारमा भूमिसुधार तथा व्यवस्था मन्त्री नियुक्त भएका थिए ।
रानाले भोलिदेखि सुरु हुने एमालेको एघारौं महाधिवेशनदेखि आफूले सक्रिय राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन् । उनी अहिले पार्टीको पोलिटब्युरो सदस्य र भूमि व्यवस्था विभागको इन्चार्ज छन् ।







डिसी नेपाल








Facebook Comment