सुधार्न सकिएला राष्ट्रिय ध्वजावाहकलाई ?
भाग १ : नेवानीको विकासक्रम
नेपालमा कुनै पनि सार्वजनिक खरिद तथा निर्माणमा चरम भ्रष्टाचार हुन्छ, राजमार्ग तथा पुलहरू निर्माण तथा विस्तार गर्ने नाममा भइरहेका संरचनालाई तहस नहस बनाएर यात्रुहरूको निम्ति दशकौँसम्मको लागि कष्टदायी यात्रा गर्न बाध्य बनाइन्छ र ठेकेदारसँगको मिलोमतोमा अथाह रकम कुम्ल्याइन्छ।
सरकारी क्षेत्रका उद्योगहरूलाई जानी जानी रुग्ण बनाइन्छ र पछि निकै समयसम्म बन्द गरेर कवाडीको मूल्यमा बेचिन्छ। यस्ता धेरै धेरै परियोजनाहरूलाई ध्वस्त तुल्याएर सरकार चलाउने नाइकेहरूले अकुत सम्पत्ति कमाउने गरेका र मुलुकलाई कंगाल र पराजित राज्यमा परिणत गरिरहेका छन्। ठूला नेताहरूबाट हुने हत्या, हिंसा, लुटपाट, भ्रष्टाचार तथा यावत खराब कुराहरूले उनिहरूलाई केही फरक पार्दैनन्।
बरू तल्ला कर्मचारीहरू उनका बदमासीका भागीदार हुन पुग्दछन्। चरम गैरजिम्मेवारी, दण्डहिनता, कानुनी रिक्तता तथा मिलोमतोका कारण नेताहरूलाई खासै कुनै अपराधमा पनि अल्झिनु पर्ने हुँदैन।
समग्रमा लोभीपापी र भ्रष्टहरूले मुलुकका सबै संयन्त्रहरू आफ्नो मुठ्ठीमा राखेर देश र जनतालाई कंगाल बनाइरहेका छन्। अनि तिनै निरीह तथा कंगाल जनतालाई विभिन्न खाले सपनाको जालो बुनेर ‘अब मुलुक बनाउनु पर्छ’ भन्ने नयाँ नयाँ आशामा फँसाउँदै अघि बढिरहेका हुन्छन्। यो प्रक्रिय नेपालमा प्रजातन्त्रको शुरुवात भएदेखि नै चल्दै आएको हो। राणाशासन वा त्यो भन्दा पहिलेका शासन प्रणालीको त कुरै नगरौं।
वास्तवमा नेपाललाई समुन्नत राष्ट्र बनाउने नारा सबै युगमा राजनीतिक स्वार्थको आधारमा मात्र लगाइएको छ। २००७ सालदेखि २०१५ सालसम्म राजनीतिक अराजकतामा नै मुलुक रुमल्लिई रह्यो भने २०१५ सालको निर्वाचनबाट विजयी भएर बनेको बलवान प्रजातान्त्रिक सरकारले पनि विकास कार्यका खासै कुनै ठोस काम गर्न भ्याएन।
त्यतिबेलाको कांग्रेस विजयोल्लास र उन्मादमा नै अड्कियो। तर पनि त्यो समयसम्म आउँदा विकासका कैयन् कार्यहरूको थालनी हुनुका साथै नेपाललाई बाहिरी संसारसँग जोड्ने र चिनाउने काम भने भयो।
राणा प्रधानमन्त्रीहरूले मुलुकको सिमित आम्दानी र राजस्व आफ्नो ढुकुटीमा भर्ने गर्दथे भने प्रजातन्त्र पछि मुलुकको विकासको निम्ति आधुनिक तवरले राजस्व उठाउने नाममा नयाँ भारदारहरूले त्यसमा चलखेल गरेर पैसा बनाउन थाले।
पञ्चायत कालमा राष्ट्रियता र विकासको मुल फुटाउने नारा तथा केही राम्रा कामको थालनी भएको भए पनि यसको पछिल्लो समयमा माथिबाट नै भ्रष्टाचार मौलाउन थालेकोले र पञ्चायतभित्रको दमनकारी नीति र चरम भ्रष्टाचारको कारण २०४६ सालमा भएको जनआन्दोलनले पञ्चायत फ्याँकियो। हामी जस्ता त्यतिबेलाका सशक्त युवा पनि नयाँ नेपालको चाहनामा आन्दोलनमा निस्वार्थ होमिएका थियौं।
तर प्रजातन्त्र फर्केर के नै भयो र? नातावाद, कृपावाद, भ्रष्टाचार, शिक्षा, स्वास्थ्य, उद्योग र सेवा सबै क्षेत्रमा दलगत राजनीति र अस्तव्यस्तता। लामो समय प्रजातन्त्रको निम्ति लडेका, जेलनेल भोगेका अधिकांश नेताहरूबाट नै अनियमितता मौलाएर झनै गहिरो जरा गाड्न शुरु भयो। मुलुकमा नवधनाढ्यहरूको जन्म हुन थाल्यो।
आखिर जो सरकारमा आए पनि जनताको जीवनमा खासै बदलाव आउन सकेन, सिवाय दुख र गरिवी। बेरोजगारी, अस्तव्यस्तता, असुरक्षा, स्वार्थी गठवन्धन र निरङ्कुशता, सत्ताको भागवण्डा, सत्ताधारी तथा उच्च नेताहरूले प्रस्तुत गरेको निर्लज्जता आदिले गर्दा आमजनता निकै विचलित हुन पुगे।
आज सडक, बिजुली, शिक्षा, स्वास्थ्य आदि जस्ता पुर्वाधारको जे जति विकास भएको छ, ती सबै आफुहरूले मात्र गरेको भन्ने बकम्फुसे धाक नेताहरूले दिएर हिँड्न थाले। वन र वातावरण विनाश तथा कृषि र यसको बजार विनास, समाज र संस्कृतिको विखण्डिकरण, लाखौं युवाहरूको विदेश पलायन, शिक्षा, स्वास्थ्य तथा अत्यावश्यक सेवाको क्षेत्रमा राजनीतिक घुसपैठ आदिमा भने आफ्नो कुनै हात नभएको भन्दै ओभानो हुन पनि अझै छोडेका छैनन्।
अराजकता, भ्रष्टाचार र अनियमितता तथा छिमेकी मुलुकको चाकडीमा लिप्त हुनेहरूले मुलुकलाई भूराजनीतिक दलदलमा फसाउन गरेको योगदान र राष्ट्रको अस्मिता नै खतरामा पारेर टिकिरहन गरेको लाजमर्दो र घृणा लाग्दो दाउपेचले आज आमजनता झनै दिक्क र खिन्न हुँदै गएका छन्। आमजनताको शहादतको मूल्य दश लाख रुपैयाँमा सीमित भएको छ भने उनिहरू करोडौं लागतको ‘कुटी’मा बस्ने गर्दछन्।
कुनै बेला मुलुकमा रोजगारी सिर्जना गराएर औद्योगिक विकासका मेरुदण्ड भएर उभिएका सरकारी स्वामित्वका उद्योग-धन्दा आर्थिक उदारीकरणको नाममा पुरै धरासायी हुन पुगे।
मुलुकको अर्थतन्त्रलाई दीर्घकालिन रूपमा पछाडि पुर्याउने काम भयो भने दल तथा नेता र कर्मचारीतन्त्रलाई भित्र भित्र फाइदा पुर्याउने केही सार्वजनिक उद्योग र सेवाहरू भने सरकारी नियन्त्रणमा नै राखियो। शाही नेपाल वायुसेवा निगम (शानेवानी) पनि थाहा नपाउने गरी अर्बौं रुपैयाँ घोटाला गर्न पाइने निकाय भएकोले यसलाई सबैजसा व्यवस्था र सरकारहरूले जोगाएर गिजोली रहेका छन्।
सन् १९५८ मा स्थापना भएको शानेवानि नेपालको राष्ट्रिय ध्वजावाहक पनि हो । विश्वभरमा नै आफ्नो मुलुकको राष्ट्रिय ध्वजावाहक विमानसेवा कम्पनीलाई निकै महत्वपूर्ण निकायको रूपमा हेरिन्छ। मुलुकको गरिमालाई उच्च विन्दुमा राख्न तथा जनतालाई एक गौरवपूर्ण राष्ट्रको नागरिक भएको आभाष दिलाउन राष्ट्रिय ध्वजावाहक विमानसेवाको ठूलो भूमिका रहने गर्दछ।
विदेशी विमानस्थलमा आफ्नो मुलुकको ध्वजावाहक विमान आएर त्यसमा घर फर्कन पाउँदा को नै गर्वले गद् गद् हुँदैन होला र! सन् १९५८ मा नेपालको राजपरिवारसँग नातो पर्ने भारतका एक रजौटाको ४९ प्रतिशत शेयर र नेपाल सरकारको ५१ प्रतिशत शेयर लगानीमा एउटा डकोटा विमान ल्याएर शुरु भएको शाही नेपाल वायुसेवा निगम आज स्थापनाको ६७ वर्ष पछिसम्म पनि जिवित छ तर अति अस्वस्थकर अवस्थामा।
सन् १९५८ मा नेपालको प्रजातान्त्रिक सरकारले नेपालमा आफ्नै ध्वजावाहक वायुसेवाको स्थापना गर्ने सोच बनाउनु भन्दा पहिले भारतको पटना र कलकत्ताबाट भारतमा नै दर्ता भएका निजी विमानसेवाहरू जाम एयर, कालिंगा एयरवेज र महावीरशमशेरको हिमालयन एभिएशनले राणाशासनको पतन लगत्तै सन् १९५० मा नियमित सेवा शुरु गरेका थिए। त्यस्तै भारतीय सरकारी वायुसेवा इन्डियन नेशनल एयरवेजले १९५१ मा नियमित सेवा शुरु गरेका थियो।
स्थापनाको १५ महिना पछि नै शाही नेपाल वायुसेवा निगममा विदेशीले लगानी गरेको पुरै शेयर नेपाल सरकारले खरिद गरेर यसको सेवा विस्तार गर्दै नेपालभित्रका पोखरा, सिमरा, विराटनगर र भैरहवामा पनि पुर्यायो। शुरुको अवस्थामा शानेवानीले सन् १९६० ताका अमेरिकी सरकारबाट सहयोगको रूपमा प्राप्त भएका तीन वटा डकोटा विमानबाट सेवा प्रदान गर्दै आएको थियो।
अनुदान कै क्रममा स्विस सरकारबाट शानेवानीले सन् १९६१ मा दुई वटा ६ सिटे एक इन्जिनका साना पिलाटस पोर्टर विमान पनि प्राप्त गरेको थियो। त्यस्तै चीन सरकारबाट पनि अनुदान स्वरुप दुई वटा साना फाङ्सु विमान र रुसी सहयोगमा दुई वटा एमआई ४ हेलिकप्टर प्राप्त भएको थियो।
हिमाली र उच्च पर्वतीय क्षेत्रका साना मैदानमा पनि उत्रन र उड्न सक्ने यी विमान थपिए पछि शानेवानीको पखेटा अझै फैलिएको थियो। यसरी शुरुवाती चरणमा विभिन्न मुलुकहरूबाट नेपाल सरकारलाई उपहारको रूपमा प्राप्त विमानहरू शानेवानीको सेवामा तैनाथ गरिएको थियो।
सन् १९६१ देखि १९६४ सम्म पाकिस्तान, निदरल्याण्ड्स र आयरल्याण्डबाट खरिद गरिएका आठ वटा डकोटाको माध्यमबाट मुलुकभित्र भद्रपुर, राजविराज, जनकपुर, भरतपुर, नेपालगञ्ज, धनगढी आदि महत्वपूर्ण ठाउँहरूमा पनि विमानसेवा शुरु भयो।
डकोटा विमानबाटै त्यतिबेला शानेवानीले भारतको पटना, कलकत्ता र दिल्लीसम्म पनि सेवा विस्तार गरेको थियो। पछि सन् १९६६ मा नेदरल्याण्स्मा निर्मित आधुनिक टर्वोप्रप फोक्कर फ्रेन्डशिप एफ२७ विमान खरिद गरेपछि भारतको दिल्ली र पूर्वी पाकिस्तानको ढाकासम्मको आरामदायी यात्राको शुरुवात भयो।
विमानसेवाको विकास र विस्तारसँगै प्राविधिज्ञ तथा विमान चालकको पनि आवश्यकता त्यति नै हुन जान्छ। त्यतिबेला विमान चालक र प्राविधिज्ञको तालिमको निम्ति सरकारले विभिन्न मुलुकसँग सहयोग मागेको थियो।
त्यस्ता जनशक्ति विकास गर्न कलेजहरूमा गई ‘कोही विमान चालक हुन चाहन्छ भने सम्पर्क राख्नु’ भनेर आह्वान गर्दै इच्छुकहरूलाई विदेशमा सो बारेको शिक्षा र तालिममा पठाएको थियो। विमानस्थलहरूको निर्माणमा छिमेकी राष्ट्र भारतले निकै सहयोग पुर्याएको थियो।
शानेवानीका कैयन् विमानहरू दुर्घटनामा पनि परेका थिए । डकोटादेखि फोक्करसम्म दुर्घटनामा पर्दा धेरै यात्रुहरूको ज्यान गएको थियो। त्यस्ता घटनाहरूबाट शिक्षा र अनुभव बटुल्दै शानेवानी अघि बढ्दै नै गएको थियो।
सन् १९७० मा शानेवानीले बेलायतमा बनेका दुई वटा टर्वोप्रप हकर सिड्ले एचएस७४८ एभ्रो विमान खरिद गर्यो। यतिबेलासम्म नेपालको पर्यटन विकास र आन्तरिक तथा वाह्य उडानमा शानेवानीको ठूलो योगदान देखिन थालिसकेको थियो। अनि नेपालका हिमालहरूको दृश्यावलोकनको निम्ति निकै लोकप्रिय माउन्टेन फ्लाइटको पनि शुरुवात भयो।
नेपालको राष्ट्रिय ध्वजावाहकलाई आधुनिकीकरणतिर लग्न सन् १९७० मा तीन वर्षसम्म एयर फ्रान्सले व्यवस्थापन सम्हाल्दा शानेवानीले निकै कुरा सिक्ने मौका पायो। आन्तरिक र वाह्य उडानमा विमानलाई कसरी पूर्ण क्षमतामा परिचालन गर्ने, विमानको उडान तथा मर्मत सम्भारमा के के कुरामा विशेष ध्यान दिने, बजार व्यवस्थापन कसरी गर्ने, प्राविधिक र प्रशासकीय जनशक्तिलाई कसरी परिचालन गर्ने, विमानको छनोट कसरी गर्ने, उच्च पहाडी क्षेत्रमा स्टोल (सर्ट टेकअफ एण्ड ल्याण्डिङ) सेवाको विकास कसरी गर्ने जस्ता धेरै कुराहरू शानेवानी तथा सम्बन्धित सरकारी निकायहरूले सिक्ने मौका पाए।
यसै बेलातिर अष्ट्रेलियन सरकारको उपहार स्वरुप दुई वटा डकोटा प्राप्त भएको थियो। स्टोल विमानहरू जस्तै एक इन्जिनको स्वीस पिलाटस-पोर्टर पीसी६ र क्यानाडाको डी-हेभील्याण्डको डीएचसी६ ट्वीन-ओट्टर विमान भित्राएर शानेवानीले उच्च हिमाली र पहाडी क्षेत्रका दुर्गम स्थानहरूमा हवाईसेवा पुर्यायो।
त्यतिबेला आज जस्तो नेपालका धेरै स्थानमा मोटर बाटो नपुगेकोले हवाईसेवाले ठूलो भूमिका खेलेको थियो। यस्ता स्टोल विमानको सेवालाई प्रभावकारी बनाउन स्वीस कम्पनी एयर आल्प्स्को सहयोग पनि जुटेको थियो भने केही चालकहरू त्यतैबाट आएका थिए।
स्वीट्जल्र्याण्ड जस्तै नेपाल पनि पहाडी भूपरिवेष्ठित मुलुक भएकोले उसले खासगरी सन् १९७० र ८० को दशकमा नेपाललाई निकै माया गरेर यहाँको नागरिक उड्डयन, पर्यटन, कृषि, साना उद्यम, लघु जलविद्युत, ग्रामिण तथा पहाडी सडक यातायात, झोलुङ्गे पुल, प्राविधिक शिक्षा, एकिकृत ग्रामिण विकास आदिमा निकै सहयोग पुर्याएको थियो।
सन् १९५० को दशकमा संयुक्त राष्ट्रसंघको अनुसन्धानकर्ताको रूपमा नेपाल आएका स्वीस नागरिक डा. टोनी हेगनलाई पछि स्वीस सरकारले आफ्नो तर्फबाट पनि निकै वर्षसम्म नेपालको विकासमा सहयोग गर्न खटाएको थियो।
हेगनजस्तै अन्य कैयन् स्वीस विशेषज्ञहरूले नेपालमा चीज बनाउनेदेखि पहिरो रोक्नेसम्मका सरल प्रविधि हस्तान्तरण गरेका थिए। तर नेपालमा बढ्दो नातावाद, कृपावाद, भ्रष्टाचार र पछिल्लो समयमा बढ्दै गएको चरम बेथिती र अराजकताबाट वाक्क भएर स्वीस र अन्य धेरै मुलकको सहयोगमा कमी आउन शुरु भयो। यानी यो मुलुक असफलतातिर उन्मुख हुँदै गएकोले यहाँ कुनै पनि प्रकारको सहयोगले काम नगर्ने देखेरै उनिहरू टाढिँदै गएका हुन सक्छन्।
सन् १९७२ मा शानेवानी जेट युगमा प्रवेश गर्यो। त्यो वर्ष प्रथम बोइङ ७२७ नेपालमा भित्रियो, जसको नाम ‘यति’ राखियो। त्यतिबेला नेपालमा रहेको अमेरिकी सूचना केन्द्रले प्रकाशन गर्ने पत्रिका ‘स्वतन्त्र विश्व’मा ‘यतिको प्रभावशाली उडान’ शिर्षकमा सो जेट विमान र शानेवानीको बारेमा निकै रोचक तथा फोटो फिचरसहितको आलेख प्रकाशन भएको थियो।
अमेरिकाबाट तालिम लिएर आएका चालकहरूले नेपालमा जेट भित्रिए पछि केही समय दिनभर काठमाडौंको आकाशमा नयाँ जेटको अभ्यास उडान भरिरहन्थे। हामी साना केटाकेटीलाई सो उडानको दृश्यले निकै रोमाञ्चित तुल्याउँथ्यो।
जेट युगमा प्रवेशसँगै शानेवानीको सञ्जाल दक्षिण एशियाका मुलुकहरू भारतका कलकत्ता, पटना र राजधानी दिल्ली, बंगलादेशको राजधानी ढाका, पाकिस्तानको तत्कालीन राजधानी कराँची, श्रीलंकाको राजधानी कोलम्बो र माल्दिभ्सको राजधानी मालेसम्म फैलियो भने वर्माको राजधानी रङ्गुन, थाइल्याण्डको राजधानी व्यांकक, हङकङ, सिंगापुर तथा दुवईसम्म पनि हवाई सेवाको शुरुवात भयो।
सन् १९७८ मा दोस्रो बोइङ ७२७ को आगमन पछि यी सेवामा अझ वृद्धि हुन थाल्यो। दोस्रो जेट विमान कम्बाई अर्थात् यात्रु र सामान दुवै ओसार्न सक्ने खालको थियो। त्यसो भएकोले नेपालका विभिन्न वस्तु निर्यातमा पनि यो विमानले अहम् भूमिका खेल्न शुरु गर्यो।
सन् १९८९-९० को भारतीय नाकाबन्दीको बेलामा त यी विमानले सिंगापुरदेखि पेट्रोलियम पदार्थ समेत ओसारेका थिए। शानेवानीले त्यतिबेला आवश्यकता मुताविक अफगानिस्तानको अरियाना एयरलाइन्स र अन्य मुलुकका वायुसेवाबाट बोइङ ७२७ भाँडामा लिएर पनि थप उडान गरेको थियो।
त्रिभुवन विमानस्थलको धावनमार्ग र टर्मिनल भवनको विस्तार हुँदै गएसँगै नेपालमा विभिन्न मुलुकका विमानसेवाहरूले आफ्नो सेवा प्रदान गर्न थाले। थाइ एयरवेज, इन्डियन एयरलाइन्स, पाकिस्तान एयरवेज, बंगलादेश विमान आदिको सेवा शुरु भए पछि शानेवानीले यी विमानसेवाहरूसँग प्रतिष्पर्धा गर्न आफ्नो सेवाको स्तरमा अझ वृद्धि गर्नु पर्ने आवश्यकता आयो।
उता आन्तरिक विमानसेवा तर्फपनि त्यतिबेलासम्ममा नै सानो मुलुक नेपालमा करिव चार दर्जन जति मझौला तथा साना विमानस्थल बनिसकेकाले तिनमा सेवा विस्तार गर्नु पर्ने दायित्व शानेवानीमा नै निहित थियो। शानेवानीले मुलुकका विभिन्न स्थानहरूमा सेवा विस्तार गर्नुका साथै ती अधिकांश स्थानमा आफ्नो कार्यालय राख्नको निम्ति आफ्नै जमीन खरिद गरेको थियो।
काठमाडौँको नयाँसडकमा प्रधान कार्यालयको निर्माण गरेको यो विमानसेवाले सिनामंगलमा पनि जमीन खरिद गरेको थियो भने सोल्टी होटेलमा ठूलो परिमाणमा शेयर लगानी गरेको थियो। आज आएर ती जमीन र शेयर नेवानीको निम्ति ठूलो सम्पत्तिको रूपमा रहेका छन्।
विदेशी वायुसेवासँग प्रतिष्पर्धा गर्न र अन्तर्राष्ट्रिय गन्तव्य बढाउने उद्देश्यका साथ सन् १९८७ मा शानेवानीले दुई वटा मध्यम दूरीमा सेवा प्रदान गर्न सक्ने नयाँ बोइङ ७५७ जेट विमान सिधै अमेरिकाको सियाटलस्थित बोइङको कारखानाबाटै खरिद गरेको थियो।
यसपछि शानेवानीको युरोपको उडान अन्तर्गत जर्मनीको फ्रांकफर्ट, बेलायतको लण्डन र फ्रान्सको पेरिस तथा चीनको सांघाई र जापानको ओसाकाको उडान समेत शुरु भयो। नयाँ जेट विमानको आगमनसँगै शानेवानीले निकै लोकप्रिय ‘साङ्ग्रीला क्लास’ नामको बिजनेस क्लासको पनि थालनी गर्यो। नयाँ विमान मध्ये पनि एउटा कम्बाई विमान थियो।
युरोप तथा जापानको उडानमा जाने यो विमानबाट कार्गो पनि प्रसस्त ओसारिएको थियो। नेपालका कार्पेट, तयारी पोशाक, हस्तकलाका सामान र अन्य उत्पादन यो विमान मार्फत युरोप, जापान, सिंगापुर, दुवई, हङकङ जस्ता विकसित मुलुकसम्म पुग्न सकेको थियो भने त्यताबाट पनि कैयन् सामानहरू नेपालमा आयात भएका थिए। एक प्रकारले शानेवानीको यस्तो कम्बाई विमानको रोजाई ज्यादै उत्तम थियो।
सन् १९९० को जनआन्दोलन अघिको पञ्चायती व्यवस्थाको समयमा पनि मुलुकलाई भ्रष्टाचारले निकै गिजोलेको नै थियो। तर पनि त्यो बेलासम्म नेपालका सार्वजनिक उद्योगधन्दा र सेवा प्रदायक संस्थाहरू निकै हदसम्म स्वशाषित, पारदर्शी, व्यवस्थित र फाइदाजनक नै थिए।
शानेवानिको कुरा गर्दा यो वायुसेवासँग त्यतिबेला चार वटा जेट विमान र झण्डै एक दर्जन भन्दा बढी विभिन्न क्षमताका आन्तरिक उडानको लागि योग्य विमानहरू थिए। सबै विमानहरू चुस्त-स्फूर्त रूपमा नै चलिरहेका थिए। आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा यो वायुसेवाको छुट्टै प्रतिष्ठा थियो।
त्यतिबेला देखि नै नेपालका सबै विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ शानेवानीले नै गर्दथ्यो। चालक तथा प्राविधिक कर्मचारी पनि निकै तालिम प्राप्त थिए भने प्रशासकीय कर्मचारीको संख्या चाहिँदो संख्यामा मात्र थियो। त्यसैले पनि यो विमानसेवाको आम्दानी र प्रतिष्ठा दुवै उच्च बिन्दुमा थियो।
सन् १९८९ तिर शानेवानीले यसको भावी योजनाको बारेमा एक अध्ययन गराएको थियो। सो अध्ययनमा सहायकको रूपमा यो आलेखको लेखकले पनि काम गर्ने मौका पाएको थियो।
सो अध्ययनले शानेवानीले आउँदो दश वर्षमा क्रमैसँग बढाउनु पर्ने आन्तरिक र अन्तर्राष्ट्रिय रुटका विमानको संख्या, चालक, प्राविधिज्ञ र अन्य कर्मचारीको संख्या र तालिम तथा अन्य व्यवस्थापकीय बन्दोवस्तीका साथै आधुनिकीकरणको बारेमा निकै राम्ररी सुझावहरू दिएको थियो।
तर सन् १९९० को जनआन्दोलनसँगै पञ्चायतको अवसान भए पछि मुलुकका सबै क्षेत्रमा नयाँ किसिमका सोचको सञ्चार हुन थालेकोले त्यसको प्रभाव शानेवानीमा पनि पर्न गयो।
क्रमश…
-लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।
















Facebook Comment