एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने
काठमाडौं। एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमा नै नयाँ नेतृत्व चयन हुने भएको छ।
सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनको सर्वोच्चतालाई स्वीकार गर्दै यो राष्ट्रिय महाधिवेशनमा १५ सदस्यीय पदाधिकारी र दुई सय ५१ सदस्यीय केन्द्रीय कमिटी नै रहनेगरी आजको बैठकले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार महाधिवेशनको बन्दसत्रमा विगतको भन्दा फरक अभ्यासका रूपमा हालको सिंगो सचिवालय (१९ जना) नै अध्यक्षमण्डलका रूपमा रहनेछन्।
बैठकले निर्वाचित र पदेन प्रतिनिधिहरू (दुई हजार १५४) को पाँच प्रतिशत हुन आउने १०८ सदस्य प्रतिनिधि मनोनयन पनि गरेको छ। उक्त नामावली मंसिर २७ गते सार्वजनिक हुनेछ।
बैठकले महाधिवेशनबाट पारित गर्नुपर्ने विशेष प्रस्तावका लागि उपमहासचिव ज्ञवालीको संयोजकत्व र माइन्युटटिङका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा कमिटी गठन गरेको छ। सचिवालयले बैठकले हालै नेपाल सरकार र जेनजीका प्रतिनिधिबीच भएको १० बुँदे सम्झौताप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको कार्यादेश र संविधानविपरीत भएको निष्कर्ष निकालेको उपमहासचिव ज्ञवालीले बताए।
यसैबीच एमाले ले महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनमा नमूना मतदान अभ्यास प्रतिनिधिलाई गराइएको छ। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमालेले शुक्रबार प्रतिनिधिलाई विद्युतीय भोटिङ मेसिनमा मतदान गर्न सिकाउनका लागि नमूना मतदान अभ्यास गराएको हो।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले केन्द्रीय कार्यालयमा आएका प्रतिनिधिलाई नमूना मतदान गराएर विद्युतीय भोटिङ मेसिनमा मतदान गर्न सिकाइएको जानकारी दिए।
रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालका अनुसार आज एमाले पार्टी कार्यालयमा दुई वटा मेसिनबाट नमूना मतदान अभ्भ्यास गराइएको छ। एमालेको महाधिवेशनमा दुई हजार ४०० प्रतिनिधि सहभागी हुँदैछन्। उनका अनुसार महाधिवेशन स्थल भृकुटीमण्डपमा १० वटा विद्युतीय मेसिन राखेर प्रतिनिधिलाई मतदान गर्न सिकाइने छ। यसअघि चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो। एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ। महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा हुनेछ। राससस







डिसी नेपाल








Facebook Comment