जमुना भट्टराईको मर्नुअघि पढ्दा
पारिवारिक दबाबमा गरिएको विवाहले निम्त्याएको एक संघर्षशील नारीमाथिको पारिवारिक र सामाजिक प्रताडनाको प्रतिनिधि उपन्यास हो-मर्नुअघि। सुदर्शनले न त दीपाको चाहना बुझे न त बुझ्न चाहे। उनले दीपालाई मात्र आफ्नो यौन चाहनाको परिपूर्ति गर्ने वस्तुका रूपमा लिए।
एक संघर्षरत नारीको जीवनमा समाजमा भएका नरपिशाचहरूले गर्ने गरेका प्रताडनाहरू उपन्यासकारले दीपा र राज सरका सम्वादका माध्यमबाट साँच्चिकै कलात्मक ढंगले प्रस्तुत गर्नुभएको छ।
विवाह पश्चात् माइती र घरको इज्जत राख्नलाई दीपाले आफू पलपल मरेर गरेका प्रयासहरू हाम्रा समाजमा नहुने गरेका हैनन्। तिनै दीपाले कम्पनी जोगाउँछिन्, घर परिवार धान्छिन् तर आफ्नो जीवनसाथी दर्बिलो नहुँदा भोगेका कठिन परिस्थितिले म सानो छँदा मेरा भाउजू, आमा र दिदीहरूले भोगेका बुहार्तनलाई फेरि ताजा गराएको छ।
परिवार गतिलो हुन एउटाले मात्रै गतिलो भएर हुँदैन। दुवैको उत्तिकै भूमिका अपरिहार्य छ ।सिक्काको एक पाटो मेटियो भने त्यो सिक्काको अर्थ रहँदैन। त्यस्तै दुर्दशा भोगेकी छन् दीपाले फूपुका धनले बाबुको श्राद्ध गर्ने श्रीमान् बाट।
सम्झौताको सम्बन्ध लामो भए पनि खुसी मरेको छ तथापि उनले आगो निलेर माइतीलाई शीतलता दिई छोरीको कर्तव्य पूरा गरेकी छन्। अक्सर कमजोरहरू आफैँसँगको हारलाई जित्न नसकेर दुखी हुन्छन् तर दीपाले जति नै दुख सहे पनि आफैँले आफ्नो जिन्दगीलाई पढेर जीवन जिउने कला सिकिन्। हार कहिल्यै मानिनन्।
तथापि इच्छाशक्तिकी धनी लगनशील कर्मठ, विवेकी तथा मेहनती दीपालाई धन र रूपसँग दाँजेर समाज तथा पारिवारिक रूपमा कमजोर बनाउने प्रयासले उपन्यासकार आफैँ अस्पष्ट हो कि भन्ने भान हुन्छ।
उपन्यासकी प्रमुखपात्र दीपाका मुखबाट म नराम्री,गरिबकी छोरी, अबला ,एक्ली जस्ता शब्द उच्चारण गर्नाले बुद्धिविवेक र स्वच्छ मनले हैन राम्रो रूप र सम्पत्तिले मान्छे धनी हुन्छ भन्ने सन्देश दिएजस्तो अनुभूति हुन्छ।
त्यस्तै उपन्यासको भाग चारमा दीपाले एक पटकमा २० ओटा सिल्पिङ् ट्याबलेट खाँदा पनि निद्रा समेत नलागेको प्रसंगले उपन्यासकार थोरै चिप्लिनु भयो कि भन्ने दर्साउँछ। भलै जे होस् यसलाई विज्ञानले व्याख्या गर्ला।
पारिवारिक दवावका कारण जबरजस्ती गरेको विवाहमा सुदर्शनले दीपामाथि गरेको शारीरिक र मानसिक प्रताडना त छँदै छ सँगसँगै दीपाले आफ्नै कामदार मनभित्र नजानिँदो गरी बसेको प्रसंग दीपाकै मुखबाट ओकलिनुले रथको एक पाड्ङ्रो मात्र हैन दुवै पाङ्ग्रामा खियाले छोएको हो कि भनेर आँकलन गर्ने ठाउँ दिएको छ।
दीपाले हर कुरामा आफ्ना श्रीमान् र कर्मचारी रघुका कुरालाई मौन समर्थन दिनु, एक्काइसौँ शताब्दीमा तन्त्र मन्त्रमा विश्वास राख्नाले पनि उनलाई कमजोर बनाएको छ। एक नारी भएर पहिलो सन्तान छोरै हुन्छ भन्यो तान्त्रिकले भनेर आफैँले भन्दा परम्परागत पुरातनवादी सोच सुदर्शन र परिवारमा मात्र हैन दीपामा समेत रहेको देखिन्छ।
यो सोचले दीपा आफैँले आफैँलाई विभेद गरेको त हैन भन्ने प्रश्न उठ्छ। आफू हर तरहको शोषणमा परेँ भनेर दीपाका माध्यमबाट उजागर गरे तापनि दीपाले बच्चाको हेरचाह गर्ने बच्चै राख्नाले बालश्रम शोषण हुन्छ भन्ने कुरामा उपन्यासकार केही चुकेको देखिन्छ।
उपन्यासमा पटक पटक एउटै वाक्य दोहोरिनु, “आफू खाना खाइसकेर बच्चालाई दु:ख खुवाएर सुताउँथे” जस्ता भाषागत त्रुटि उपन्यासमा भेटिएकाछन्।
कतिपय ठाउँमा लाक्षणिक संकेत गर्नुको सट्टा एक पटकमा २० ओटा स्लिपिङ ट्याबलेट खाएको, १३औँ पटकसम्म गर्भपतन गरेका जस्ता कुराले उपन्यासमा केही विरोधाभास सिर्जना गरेको छ। आगामी अंकमा यस्ता त्रुटीहरूलाई परिमार्जन गरेर उपन्यास पुन: पाठक सामु आउने कुरामा म विश्वस्त छु।
भलै जे होस् छोटो समयमा तेह्र पटकसम्म गर्भ पतन गराएर व्यबहारमा पटक पटक ठेस खाएर तथा प्राणघातक रोग क्यान्सरबाट पनि नहारेकी एक सशक्त नारी दीपाको कथा समग्र शक्तिशाली नारीहरूको प्रतिनिधि उपन्यास हो मर्नुअघि।
अन्त्यमा,
संघर्ष नै अवसर हो। त्याग नै खुसी हो। त्यही त्याग र संघर्षले जीवन सबल बनाउँछ। त्यसैले त्याग र संघर्षको प्रतिमूर्ति दीपाजस्ता नारीप्रति समर्पित उपन्यास हो-मर्नुअघि। बधाई तथा कृति सफलताको शुभकामना उपन्यासकार जमुना भट्टराईजी। चाँडै अर्को कृति पढ्न पाइयोस्।
कृति सफलताको शुभकामना!
















Facebook Comment