फरक खेलका ‘महान जर्सी नम्बर १०’ एकसाथ, विश्वकप जित्दाको जर्सी उपहार
काठमाडौं । अर्जेन्टिनाका फुटबल स्टार लियोनेल मेस्सी आइतबार मुम्बईको वानखेडे स्टेडियममा आइपुगे र उनलाई हेर्न उनका फ्यानहरू ठूलो संख्या जम्मा भए।
चार शहरको गोट भारत भ्रमणको दोस्रो दिन लियोनेल मेस्सीले वानखेडे रंगशालामा लगभग एक घण्टा बिताए। उनीसँगै महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस पनि थिए।
यस क्रममा उनले युवा फुटबल खेलाडीहरू, क्रिकेटर सचिन तेन्दुलकर, भारतीय फुटबल खेलाडी सुनील क्षेत्री र चलचित्र जगतका व्यक्तित्वहरूसँग अन्तरक्रिया गरे।
यस क्रममा सचिन तेन्दुलकरले आफूले २०११ को एकदिवसीय क्रिकेट जित्दाको आफ्नो हस्ताक्षर गरिएको जर्सी मेस्सीलाई उपहार दिए । मेस्सीले पनि भारतीय फुटबल स्टार तथा पूर्वकप्तान सुनिल क्षेत्रीलाई आफूले २०२२ फिफा विश्वकप जित्दाको आफ्नो हस्ताक्षर गरिएको जर्सी उपहार दिए ।
लियोनेल मेस्सी र सचिन तेन्दुलकरको भेटलाई आइकोनिक मानिएको छ । किनकि दुवैले १० नम्बर जर्सी लगाएर राष्ट्रिय टिमबाट खेले । दुवैले आ-आफ्नो खेलको विश्वकप यही जर्सी लगाएर जिते । तेन्दुलकरको जर्सी नम्बर रिटायर भइसकेको छ । मेस्सीको जर्सी नम्बर भने अझै सक्रिय छ ।
आफ्नो सक्रिय खेल जीवनकालमा सचिन तेन्दुलकरलाई ‘क्रिकेटका भगवान’ नाम दिइयो । मेस्सीलाई ‘फुटबलका जादुगर’ भनियो । मेस्सीअघि यो उपनामले अर्जेन्टिनाका अर्का महान फुटबलर डिएगो म्याराडोनालाई सम्बोधन गरिन्थ्यो । मेस्सीले अर्जेन्टिनाको १० नम्बर जर्सी म्याराडोनाकै विरासतको रूपमा पाएका थिए ।







डिसी नेपाल








Facebook Comment