इन्टरनेशनल नेपाली फिल्म फेस्टिभलमा प्रतिस्पर्धाको आह्वान
नयाँदिल्ली। इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड्सको पहिलो संस्करण दिल्लीमा हुने भएको छ । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन र सम्मानलाई लक्ष्य गर्दै आयोजना गर्न लागिएको अवार्ड फेब्रुअरी १ देखि ३ सम्म भारतको नयाँ दिल्लीमा हुनेछ ।
आयोजक संस्थाले सार्वजनिक गरेको विज्ञप्तिअनुसार फेस्टिभलको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रको पहुँच विस्तार गर्नुका साथै सिर्जनात्मक र व्यवसायिक सहकार्यका लागि साझा मञ्च निर्माण गर्नु हो।
फेस्टिभलमा सन २०२५ मा प्रदर्शन भएका नेपाली फिचर फिल्महरू प्रतिस्पर्धाका लागि आह्वान गरिएको छ। सहभागी हुन चाहने फिल्महरूले जनवरी ७ भित्र आवेदन दिनुपर्नेछ।
कार्यक्रमका प्रमुख आकर्षणअन्तर्गत उत्कृष्ट फिल्म, निर्देशन, अभिनय तथा विभिन्न प्राविधिक विधामा अवार्ड प्रदान गरिनेछ। साथै रेड कार्पेट अवार्ड समारोह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मकर्मी र समीक्षकको सहभागिता, प्रिमियर शो, विशेष प्रदर्शन तथा सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश गरिने आयोजकले जनाएको छ।
फेस्टिभलको निर्णायक मण्डलको अध्यक्षमा लोकप्रिय अभिनेता तथा चलचित्रकर्मी कृष्ण मल्ल रहनेछन्। निर्णायक सदस्यमा निर्देशक तुलसी घिमिरे, अभिनेता सुनील थापा, अभिनेत्री बिपना थापा र भारतका चर्चित थिएटर कलाकार अवतार साहनी छन्।
INFFA का अध्यक्ष राजेन्द्र घिमिरेले फेस्टिभल नेपाली चलचित्र उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा छवि विस्तार गर्ने महत्वपूर्ण अवसर हुने बताए। “यस कार्यक्रममार्फत नेपाली प्रतिभालाई विश्व मञ्चसम्म पुर्याउने हाम्रो दृढ संकल्प छ,” उनले भने।
फेस्टिभल निर्देशक (नेपाल) जनक दीप पराजुलीका अनुसार INFFA–२०२६ ले भारत–नेपाल सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै भारतस्थित नेपाली समुदाय र अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रलाई लोकप्रिय बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ।
त्यसैगरी INFFA की प्रवक्ता तथा चिमचुली फाउन्डेशन फर आर्ट एण्ड कल्चर की संस्थापक आकांक्षा शाहले फिल्म प्रदर्शनसँगै प्यानल छलफल, अन्तर्वार्ता र टक शो आयोजना गरिने जानकारी दिइन्। उनका अनुसार कार्यक्रमको उद्देश्य नेपाललाई छायांकन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नु, संयुक्त निर्माणका सम्भावना खोज्नु र नेपाल–भारतबीच सांस्कृतिक कूटनीतिलाई सशक्त बनाउनु हो।
आयोजकले फेस्टिभलमा हजारौँ दर्शक र फिल्मकर्मीको सहभागिता रहने अपेक्षा गरेको छ। यसले उदाउँदा प्रतिभा र चलचित्र उद्योगबीच सहकार्यका लागि प्रभावकारी मञ्च प्रदान गर्ने विश्वास लिइएको छ।
सहभागी हुने फिल्मhttps://filmfreeway.com/INFFA मा अपलोड गर्न अथवा नेपाल स्थित नेपाल चलचित्र निर्देशक समाजको कार्यलयमा उपलब्ध गराउन वा इमेल [email protected] मा गुगल ड्राइभ गरेर पठाउन सक्नु हुनेछ।
सम्पर्क विवरणः +977-01-4772015
आयोजक समिति
INNFA







डिसी नेपाल








Facebook Comment