विद्यालयको जीर्ण भवनमा रहेको प्रहरीचौकी १४ वर्षपछि आफ्नै भवनमा
खोटाङ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा निर्माण गरिएको प्रहरीचौकीको नयाँ भवन सञ्चालनमा ल्याइएको छ। चौध वर्षदेखि विद्यालयको जीर्ण भवनबाट काम गर्दै आएको वाप्लुखा प्रहरीचौकीका लागि कोशी प्रदेश सरकारको रु २५ लाख लागतमा निर्माण गरिएको चारकोठे ट्रस भवन सञ्चालनमा ल्याइएको हो।
चालु आर्थिक वर्षमा पनि सोही प्रहरीचौकीलाई कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट पुनःरु २५ लाख बजेट विनियोजन भएको जनाइएको छ। विनियोजित बजेटले प्रहरी चौकीका लागि आवश्यक शौचालय र भान्छा घर निर्माण गर्ने तयारी गरिएको गाउँपालिकाका उपप्रमुख रुपेश राईले जानकारी दिए।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाको वाप्लुखा, लिकुवापोखरी र सावाकटरे क्षेत्रभित्र सुरक्षा प्रदान गर्नेगरी वाप्लुखाको कानढाकामा विसं २०५४ मा सामान्य भवन निर्माण गरेर प्रहरीचौकी स्थापना गरिएको थियो। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र द्वन्द्वको समयमा विसं २०५७ चैतमा प्रहरी चौकी जलेर ध्वस्त भएपछि विसं २०६८ मा पुनःस्थापना गरिएको हो।
वाप्लुखाको महाकन्य आधारभूत विद्यालयलाई पुरानो स्थानभन्दा केही तल विद्यार्थीको पायकपर्ने ठाउँमा सारेपछि विद्यालयको भवन खाली भएको थियो। विद्यार्थीका लागि अपायकपर्ने ठाउँमा रहेको भवन अभिभावकको छलफलअनुसार खाली भएपछि सिर्जनशील आमासमूहले उक्त विद्यालय भवनलाई प्रयोग गर्दै आएको थियो।
द्वन्द्वकालमा विस्थापित भएको वाप्लुखा प्रहरीचौकी पुनःस्थापनापश्चात् आफ्नै भवन नभएपछि सोही विद्यालय भवनको दुई वटा कोठामा राखिएको स्थानीयवासी एवं नेपाली कम्युनिष्ट पार्टी खोटेहाङ गाउँपालिका अध्यक्ष दिपेन थुलुङले जानकारी दिनुभयो। साँघुरो र अँध्यारो कोठामा दिउँसो पनि बत्ती बाल्नुपर्ने अवस्था रहेको विद्यालय भवन विसं २०७२ को भूकम्पका कारण चर्किएर चिरा परेको छ।
भूकम्पले जीर्ण बनेको विद्यालय भवन वर्षात्को समयमा छाना चुहिने समस्या रहेको प्रहरीले बताउँदै आएका थिए। एउटा कोठा चिरा परेर भासिएको छ। सोही भवनमा बसिरहेका प्रहरीले अब भने नयाँ भवन पाएका छन्।
कोशी प्रदेश सरकारको लगानीमा प्रहरीचौकीको आफ्नै भवन निर्माण गरेर सञ्चालनमा आएपछि सेवा प्रवाहमा सहज भएको प्रहरीले जनाएको छ। चारकोठे ट्रस भवनमा कार्यालय, ब्यारेक र हिरासत सञ्चालन गरिएको छ।
प्रहरीचौकीको नवनिर्मित ट्रस भवन कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले औपचारिक उद्घाटन गरे। भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले प्रदेश सरकारले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको जानकारी दिए।







डिसी नेपाल








Facebook Comment