नेपाल पत्रकार महासंघ काठमाडौंको समन्वयमा निःशुल्क पर्यटन फोटो पत्रकारिता तालिम

डिसी नेपाल
३ पुष २०८२ १८:४५
108
Shares

काठमाडौं। पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारिताको भूमिका सुदृढ बनाउने उद्देश्यले काठमाडौंमा आयोजित दुई दिने निःशुल्क पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न भएको छ।

बागमती प्रदेशमा पर्यटन तथा फोटो पत्रकारितामा क्रियाशील पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित आयोजना गरिएको तालिम संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र नेपाल पर्यटन बोर्डको साझेदारीमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) अन्तर्गत सम्पन्न भएको हो। तालिम राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) को सहकार्य तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको समन्वयमा सञ्चालन गरिएको थियो।

तालिममा बागमती प्रदेशका विभिन्न जिल्लाबाट आएका ३० जना पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो। उद्घाटन सत्रमा परियोजना प्रबन्धक धर्मराज दवाडीले पर्यटन क्षेत्रको प्रवर्द्धनमा गुणस्तरीय पत्रकारिता आवश्यक रहेको उल्लेख गर्दै फोटो पत्रकारिताले गन्तव्यको पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले दिगो पर्यटन परियोजनाले अपि–सैपाल, मनास्लु र कञ्चनजंघा पदमार्गलाई केन्द्रमा राखेर पूर्वाधार, सेवा र मानव स्रोत विकासमा काम गरिरहेको जानकारी दिए।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शोभा अर्यालले नेपाल प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण देश भएको उल्लेख गर्दै पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारिताको प्रभाव झनै बढाउनुपर्ने आवश्यकता औंल्याइन्। उनले यस्ता तालिमहरू देशका विभिन्न भूगोलसम्म विस्तार गर्न महासंघ सहकार्यका लागि सधैं तयार रहेको बताइन्।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले तस्बिरमार्फत कथा प्रस्तुत गर्ने कला नै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गर्ने बलियो माध्यम भएको बताए।

तालिमका क्रममा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले पर्यटन पत्रकारिताको उद्देश्य, कार्यविधि र यसको प्रभावबारे प्रशिक्षण दिए।

तालिमको दोस्रो दिन सहभागीहरूलाई तस्बिर कथा सम्बन्धी व्यवहारिक अभ्यास तथा फिल्ड भिजिट गराइएको थियो। सहभागी पत्रकारहरूले छोटो समयमा सैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा उपयोगी ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका छन्।

प्रशिक्षार्थीहरूले तालिमले पेशागत आत्मविश्वास बढाएको, नयाँ सम्भावना र अवसरबारे स्पष्ट दृष्टिकोण दिएको तथा आगामी दिनमा एड्भान्स तहका तालिममार्फत अझै सिक्न चाहेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.