सकिँदै खेतबारी, मँहगिँदै खाद्यान्न र तरकारी, विषादीयुक्त खानाले बढ्दै बिरामी
ह्रियो सागपात स्वास्थ्यका लागि लाभदायक तरकारी हो। सर्वसाधारण बिहानबेलुका हरियो सागपात र तरकारी खान रुचाउँछन्। यता, डाक्टरहरुले पनि सागपात र हरियो तरकारी खानामा छुटाउनुहुँदैन भन्छन्। सागपातमा रायो, चमसुर, तोरी, पालुङ्गो, मेथी, गान्टेमूला, हरियो लसुन, प्याज, धनियाँ, मूलालगायत पर्दछ।
काउली, बन्दा, खुर्सानी, टमाटर, सिमी, बोडी, काँक्रोलगायत धेरै भेराइटीका हरियो तरकारी बजारमा पाइन्छ। तर, अहिले तरकारी छोइनसक्नु भएको छ। केही समयपछि भातमा नुन हालेर खानुपर्ने अवस्था आउने देखिएको छ। साग पनि किलोमा बेच्न थालिएको छ। एक किलो सागको दुईदेखि तीन सय रुपैयाँ पर्छ।
एक मुठो सागको ३० देखि ५० रुपैयाँ पर्छ। हरियो लसुन त झन् मँहगो छ। दुईटा पत्ता राखेर २० देखि ३० रुपैयाँमा बेचिन्छ। अन्य हरियो तरकारीको भाउ पनि आकाशिएको छ। डेढ सय रुपैयाँ किलोभन्दा कममा कुनै तरकारी नै पाइँदैन । अनि सर्वसाधारणले कसरी खाने ? तरकारीको भाउ मँहगिदा सर्वसाधारणलाई बिहान बेलुका चुल्हो बाल्न धौ धौ परेको छ।
जति पनि तरकारी छ, त्यो जमिनमा फल्छ। अन्न उब्जनी हुने पनि जमिनमै हो । खेतीयोग्य जमिन बाटो र घर बनाएर सखाप भइसकेको छ। उपत्यकाभित्र होस् या बाहिर, खेतबारी देख्न मुश्किल पर्न थालेको छ। गाउँको खेतबारी बाँझो छ। गाँउबासीहरु शहर र विदेश पस्दा गाउँमा कोही भेटिँदैनन्।
घरमा ताल्चा लगाएको छ, खेतमा झार उम्रिएको छ। तरकारी र अन्न नभईकन कोही बाँच्न सक्दैन। घरधनी होस् या भाडामा बस्ने, दिनमा दुईपटक तरकारी पकाउनैपर्छ। यहाँ उत्पादन छैन, बाहिरबाट आयात गर्नुपर्छ । नेपाली बजारमा आइपुग्दा तरकारीको भाउले आकाश छोइसक्छ।
पहिलेपहिले सर्वसाधारणलाई आफ्नै खेतबारीमा उब्जाएको अन्न र तरकारीले पुग्थ्यो। अन्न र तरकारी उब्जनीका लागि चाहिने मलका निम्ति उनीहरुले गाईँ, भैंसी, गोरु, बाख्रा, भेडा, कुखुरा पाल्ने गर्दथें। एकातिर घरमै दूध र मासु उत्पादन हुने, अर्कोतिर बालीनाली र तरकारी पनि मज्जाले फल्ने।
काठमाडौं उपत्यकासहित देशको शहरी एरियामा घर भएकाहरुसँग तरकारी खेती गर्ने जग्गा छैन। कोठा बस्ने त कहाँकहाँबाट आएका हुन्छन्, उनीहरुसँग के जग्गा हुन्थ्यो। जग्गा भएपछि रोपेर मात्र अन्न र तरकारी फल्दैन। गाईवस्तुको मल चाहिन्छ। अहिले त कसैले गाईँवस्तु नै पालेको देखिँदैन।
अनि युरिया मलको भर परेर मात्र कसरी तरकारी र अन्न फल्छ? खानु सबैलाई छ, तर उब्जनी कसैलाई गर्नु छैन। जसका कारण तरकारीको भाउ ह्वात्तै बढेको हो। कसैकसैले मात्र व्यवसायिक खेती गर्न थालेका छन्। तैपनि, मलको चरम अभाव छ। बिचौलियाले कुखुरा फर्मबाट तीन सयमा उठाएको ७५ किलोको बोराको मल आठदेखि ९ सयमा बेच्छन्।
त्यो मल लगेर उनीहरुले खेतमा हाल्छन्। अनि मलको पैसा कोसँग असुलिन्छ? ग्राहकसँग। कुखुराको मासुदेखि अण्डासम्म बिक्री गर्छ। केही महिनायता अण्डाको भाउ ह्वात्तै बढेको छ। उपत्यकाभित्र घडेरी आनाको २५ लाखदेखि करोडसम्म पर्छ। त्यो घडेरीको मूल्य पनि तरकारीमा जोडिन्छ।
पछिल्लो समय किसान बन्न सबैलाई लाज लाग्न थाल्यो। समाजले पनि किसानलाई नराम्रो दृष्टिकोणले हेर्न थालेको छ। सबै जागिर खाने, विदेश जाने, तर कोही खेती नगर्ने। जबकि, किसानबिना संसार टिक्नै सक्दैन। यदि किसानले अन्न नउब्जाउने हो भने पैसा भएर पनि काम छैन।
त्यसैले किसानलाई सम्मान गरौं। उनीहरुले खेती गरेका छन् र हामीले खान पाएका छौं। सानो परिवारलाई २५ सयदेखि तीन हजार रुपैयाँ बोराको चामलले एक महिना धान्छ । तर, तरकारीमा चाँहि आठदेखि १० हजार रुपैयाँ सकिन्छ। उपत्यकाभित्र बस्नेले न धित मर्नेगरी तरकारी खान पाउँछन् न पानी।
किन कि, यहाँ पानी पनि किन्नुपर्ने अवस्था छ । एक जार पानीको ६० देखि ८० रुपैयाँ पर्छ। मिनिरल वाटर २० देखि २५ रुपैयाँ पर्छ । त्यो मिनिरल वाटर दुई घुट्की लिँदै सकिन्छ । दही, दूध, घिऊ सबै मिसावट आउँछ । तैपनि एकदमै मँहगो छ । खसीको मासु केही समय अघिसम्म साढे १३ सय किलो थियो ।
अहिले पसलैपिच्छे रेट छ । कुनैमा १४ सय कुनैमा १५ सय । खसी भन्दै बाख्रा पनि बेच्ने गरिएको छ । ६ सय रुपैयाँ किलोको राँगाको मासु झण्डै आठ सय रुपैयाँ किलो पुगेको छ । यहाँ त राँगा भनेर भैंसी मिसाएर बेचिन्छ । बुंगुर भनेर सुंगुरको मासु बेचिन्छ । यसको पनि पसलैपिच्छे बेग्लाबेग्लै रेट छ ।
फर्म र गाडीमा ओसारपसार गर्दा मरेका कुखुरा पनि मासु पसलेले बेच्छन् । बजारमा सबै उपभोग्य सामान मँहगो त छँदैछ, सँगै मिसावट र विषादीयुक्त पनि छ । अन्न र तरकारीमा विषादी मिसाइएको हुन्छ । तर, सरकारले परीक्षण गर्दैन । मँहगो पैसा तिरेर सर्वसाधारणले आफ्नो स्वास्थ्यलाई हानि पुर्याइरहेका छन् ।
यी विषादीयुक्त खाद्यान्नका कारण धेरै रोगी बनेका छन् । तर, नखाई नहुने बाध्यता छ । नखाऊँ भने के खाऊँ ? खाऊँ भने कसरी खाऊँ ? को अवस्थामा सर्वसाधारण छन्। अहिले भान्सामा पाक्ने सबै बजारबाट आउँछ । पहिलेपहिले आफ्नो खेतबारीको कोदो, मकै, धान, गहुँ, मस्याङ्ग, सिमी हुन्थ्यो।
बजारमा यी वस्तु पाइन्छ, तर गुणस्तरहीन र मिसावटयुक्त । विगतमा मान्छेहरु कोदो र मकै खाएर आफ्नो स्वास्थ्य राम्रो बनाउँथे, अहिलेका मान्छेहरु विषादीयुक्त खान खाएर आफ्नो ज्यान सकाइरहेका छन् । भन्नलाई नेपाललाई कृषिप्रधान देश भनिन्छ । तर, कुनैपनि वस्तुमा नेपाल आत्मनिर्भर छैन ।
कृषि क्षेत्रको विकासका लागि मुलुकमा कृषि तथा पशुपन्छी मन्त्रालय छ । तर, कृषि मन्त्रालयले के गर्यो ? बाहिरबाट खाद्यान्न ल्याएर खान सिकायो । भूमि मन्त्रालयले जग्गा सकाउने काम गर्यो । जग्गा प्लानिङ गर्न दिने अनि यति राजश्व उठ्यो भन्ने । जहाँ खेतीपानी हुन्थ्यो, त्यहाँ अहिले घर छ । सबैतिर घर बनेपछि जनताले खान्छन् चाहिँ के ?
यी दुई मन्त्रालयले विदेशीको पक्षमा काम गरेको देखिन्छ । यी दुई मन्त्रालयले राम्रो काम गरेको भए न आज मुलुक अस्तव्यस्त हुन्थ्यो न खाद्यान्नका लागि बाहिरी मुलुकको भार पर्नुपर्थ्यो । कृषिप्रधान देश भनेको छ, एक किलो सागलाई तीन सय रुपैयाँ पर्छ । जलस्रोतको धनी देश भनिएको छ, पानी बोतल र जारमा किन्नुपर्छ ।
यता, नेपालीले पनि गरिखान जानेनन् । उनीहरुले ठग्न पनि सिके । जसरी हुन्छ ठग्ने, अनि आफू मोटाउने । राजनीतिक दलले पनि यही गरे, जनता पनि त्यही बाटो हिँडेका छन् । एउटाले अर्कोलाई ठग्ने, सम्पत्ति जोड्ने । नेपालीले हातमा दुईटा मोबाइल बोक्न, कोट लगाउन र ठग्न मात्र जाने ।
सरकारले जनतालाई कृषि गर्न प्रोत्साहन गरेन । बरु, जनतालाई धमाधम विदेश जान प्रोत्साहन गरो । कृषि पेशा गरिरहेकाहरु सबै वैदेशिक रोजगारीमा गइरहेका छन् । सबै विदेश हिँडेपछि कसले कृषि गर्ने ? जुन देश कृषिमा आत्मनिर्भर हुन्छ, त्यो देश कसैको सामुन्ने निहुँरिन पर्दैन ।
विडम्बना, सरकारले नै जनतालाई अरुको अगाडि हात फैलाउनुपर्ने अवस्थामा पुर्याएको छ । छिमेकीले खाद्यान्न रोकिदियो भने जनता भोकभोकै मर्नुपर्छ । राजनीतिक दलले देश र जनतालाई यो अवस्थामा पुर्याए । अब नेपाल कृषिप्रधान र जलस्रोतको धनी देश भन्न छोड्नुपर्छ ।
















Facebook Comment