कांग्रेसले ‘अन्याय’ गरेपछि पूर्वमन्त्री खड्काले रास्वपा रोजे
काठमाडौं। पूर्वमन्त्री कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन्। पुस १९ गते शनिबार पोखरामा एक कार्यक्रमकाबीच खड्का रास्वपा प्रवेश गर्ने भएका हुन्।
नेपाली कांग्रेसका नेतासमेत रहेका खड्कालाई कांग्रेसको केन्द्रीय अनुशासन आयोगले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेपछि खड्का राजनीतिमा निस्क्रिय थिए। पार्टीले आफूमाथि गरेको कारवाही फिर्ता नलिएपछि उनले रास्वपा रोजेका हुन्।
लामो समयसम्म कांग्रेसको राजनीतिक गरेका खड्का पुस १९ गते पोखरामा आयोजना हुने कार्यक्रममा रास्वपा प्रवेश गर्ने भएका हुन्। कास्कीबाट सुरुमा नेपाल विद्यार्थी संघको राजनीति गरेका खड्का अध्ययनको क्रममा बेलायत बसे।
अध्ययन पूरा गरेर नेपाल फर्किएपछि तत्कालीन माओेवादीले चलाएको जातीय पहिचानसहितको संघीयताको विपक्षमा खड्काले आफूलाई उभ्याए। जातीय राज्य विरुद्ध क्षत्री समाज नै गठन गरेका उनले ०७० सालको दोस्रो संविधानसभामा अखण्ड नेपाल पार्टी गठन गरेर चुनावमा होमिए।
सो पार्टीले समानुपातिकतर्फ एक सिटमा जित हासिल गर्यो। सोही बेला खड्का महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीसमेत बने।
अध्ययनशील मानिने खड्का भाषण कलामा माहिर मानिन्छन्। संविधान जारी भइसकेपछि उनले आफूले नेतृत्व गरेको अखण्ड नेपाल पार्टीलाई नेपाली कांग्रेसमा बिलय गराए। त्यसपछि उनी गृह जिल्ला कास्कीबाट कांग्रेसको राजनीतिमा सक्रिय भए।
उनी ०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसकोतर्फबाट गण्डकी प्रदेशको समानुपातिक सांसद बन्न सफल भए। त्यो बेला केन्द्रदेखि सातवटै प्रदेशमा नेकपाको एकल सरकार थियो।
गण्डकी प्रदेशमा एमाले नेता पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा सरकार थियो। तर नेकपा विभाजन भएपछि अल्पमतमा परेपछि पृथ्वीसुब्बाले मुख्यमन्त्री पदबाट राजीनामा दिए। त्यसपछि नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भयो। सो सरकारको सुत्राधार खड्कालाई नै मानिन्छ। उनी सो सरकारमा मन्त्री थिए।
चुनावको मुखमा गठन भएको सरकार भएका कारण उनले आफ्नो निर्वाचन क्षेत्रमा राम्रै बजेट पारेको आरोप पार्टीभित्रैबाट लाग्न थाल्यो। उनीमाथि आफ्नै सरकारलाई असहयोग गरेको, पार्टीका उम्मेदवार विन्दु थापालाई हराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पोखरेलले थापालाइ मन्त्री पदबाट बर्खात गरिदिए।
नेपाली कांग्रेस कास्कीले त्योबेला नै कारबाहीका लागि केन्द्रीय अनुशासन आयोगमा सिफारिस गरेको थियो। गत असार २५ गते खड्कालाई नेपाली कांग्रेसको साधारण सदस्य पनि नरहने गरी १ वर्षका लागि निस्कासन गरिएको थियो।
कतिपयले बिन्दु थापा कांग्रेस नेतृ आरजू देउवासँग निटक भएका कारण आरजूलाई खुशी बनाएर बिन्दुले आफ्नो प्रतिस्पर्धी रहेका खड्को राजनीति सिद्य्याउन भूमिका खेलेको टिप्पणी गर्दछन्। बौद्धिक नेताको छवि बनाएका खड्का खड्कालाई कांग्रेसले अन्याय गरेपछि उनले रास्वपा रोजेको टिप्पणी हुने गरेको छ।
कास्कीकै नेपाली कांग्रेसका पूर्वसभापति कृष्ण केसीलाई ३ महिनाका लागि निलम्वित गरिएको थियो। उनी कास्की-१ बाट प्रत्यक्षमा सिफारिस भइसकेका छन्।
तर, खड्कालाई भने निष्कासित नै गरिएको थियो र नेताहरूले फुकुवा हुने बताए पनि हुन सकेन। खड्काले नेताहरूले कारवाही फुकुवा हुने बताएपनि हालसम्म फुकुवा नभएपछि रास्वपा प्रवेश गर्न लागेकाे बताए।
‘म रास्वपा प्रवेश गर्ने तय भएको छ। तर मैले केन्द्रको कुनै पनि राजनीति नगर्ने बताइसकेको छु। म प्रतिनिधिसभा, राष्ट्रियसभा वा पार्टीको केन्द्रीय राजनीति गर्दिन,’ खड्काले डिसी नेपालसँग भने, ‘‘म प्रदेशको राजनीतिमा केन्द्रित हुन्छु। अहिले मलाइ प्रदेशको नेतृत्व पनि चाहिँदैन। भोलि महाधिवेशन भयो र पार्टीले आवश्यक ठान्यो भने त्यो विषयमा सोच्न सकिन्छ।’







डिसी नेपाल








Facebook Comment