नेपालमा क्यान्सर रोगको एकदमै भयावह अवस्था छ : डा.समिम अख्तर
क्यान्सरलाई नेपालीमा अर्बुद् रोग भन्ने गर्छौं । शरीरमा कुनैपनि गाँठो अथवा कुनै पनि मांसपेशी आफ्नो परिधिभन्दा बढी भयो, मल्टिप्लाई हुनथाल्यो, बढ्न थाल्यो, आफ्नो सीमा नाघेर अरु ठाउँमा छेड्न थाल्यो, रगत अथवा अन्य तत्वको माध्यमबाट शरीरको एक ठाउँबाट अर्को ठाउँमा फैलिन थाल्यो, विकार रुप लिन थाल्यो, विकृत भएर गयो भने शरीरलाई हानि नोक्सानी पुर्याउन थाल्यो भने यसलाई क्यान्सरको परिभाषामा आउने गर्छ।
जस्तो ट्युमरलाई लियौं, ट्युमर भनेको कुनैपनि मांसपेशीको डल्लो अथवा गाँठो हो । जुन बढ्यो भने वा ट्युमर भयो भन्दैमा क्यान्सर हुँदैन । तर कुनै कुनै ट्युमर बेनाइन भन्ने पनि हुन्छ । बेनाइन ट्युमरले शरीरलाई हानि नपुर्याउने, नोक्सानी नगर्ने, जीवनलाई क्षति नपुर्याउने खालको हुन्छ।
तर मेलिग्नेन्ट ट्युमर चाहीं शरीरलाई नराम्रो गर्ने, बिरामीको ज्यानसम्म लिने अथवा एकदम कष्टकर बनाइदिन्छ। साथै विभिन्न अर्गानहरुमा, अङ्गहरुमा छरिएर जाने र एकदम नकारात्मक जीवनशैलीतिर लैजाने भएकाले त्यसलाई क्यान्सर भनेर बुझ्नुपर्छ ।
नेपालमा क्यान्सर रोगको एकदमै भयावह अवस्था छ । क्यान्सर रोगीहरु बढेका छन् । तर बिरामीहरु जागरुक हुनुहुन्छ। उहाँहरुले आफ्नो चेकअप गराइराख्नुभएको छ । स्वास्थ्यसम्बन्धी परीक्षणहरु गराइराख्नुभएको छ। जसका कारण रोगहरु छिटो-छिटो पत्ता लागिराखेको छ।
अहिले प्रविधिको हिसाबले पनि विभिन्न अस्पतालहरुमा सबै सुविधा वा उपकरण भएको हुनाले, रगतसम्बन्धी जाँच र अन्य माँसपेशीको जाँच गर्ने विधि भएकाले क्यान्सर छिटो पत्ता लाग्न थालेको छ ।
मृत्युदरको अवस्था चाहीं कस्तो छ ?
मृत्युदर पनि त्यसरी नै बढेको छ, जसरी अब जनसंख्या बढिरहेको छ । साथै त्यसरी नै रोगहरु पनि बढिराखेको छ मान्छेहरुको आयु अनुसार । जीवनको उत्तरार्धतिर वा अन्त्यतिर देखिने रोगहरुमा क्यान्सर पनि एउटा पर्छ।
जस्तो दम, प्रेसरको रोग यो सानो उमेरमा हुँदैन। ठूलो भइसकेपछि हुने हो, वृद्ध अवस्थामा हुने हो। त्यसरी क्यान्सर पनि अलि पछिको उमेरमा बढी देखापर्छ । त्यसैले क्यान्सर लाग्ने सम्भावना पनि बढी छ। त्यसैले क्यान्सरसँग सम्बन्धित मृत्युहरु पनि बढ्ने भएको छ।
नेपालमा सबैभन्दा बढी देखिने क्यान्सर कुन-कुन हुन् ?
नेपालको सन्दर्भमा पुरुषहरुमा सबभन्दा बढी देखापर्ने भनेको फोक्सोको क्यान्सर हो । महिलाहरुमा सबभन्दा बढी देखापर्ने भनेको स्तनको क्यान्सर हो । यो सँगसँगै अरु क्यान्सरहरु पनि छन्। महिला र पुरुषलाई हुने भनेको पेटको क्यान्सर हो, आन्द्रा, पाठेघरको मुखको क्यान्सर पनि हो।
पुरुषहरुमा प्रोस्टेटको क्यान्सर, किड्नीको क्यान्सर पनि हो । कसैलाई पित्त थैलीको क्यान्सर बढी देखा परिरहेको छ। मस्तिष्कसम्बन्धी क्यान्सर बाल्यकालमा देखापर्ने र पछि गएर ठुला मान्छेमा देखापर्ने गरेको पाइन्छ।
मस्तिष्कसम्बन्धी ब्लडको क्यान्सर पनि हुन्छ । कहिलेकाहीँ लिम्फोमाहरु हुने, ल्युकेमिया भन्ने ब्लडको क्यान्सर पनि हुने गरेको छ। विभिन्न किसिमले हड्डीका क्यान्सरहरु पनि देखा पर्छन्।
तर हड्डीको क्यान्सर कम देखापर्छ । पुरुषहरुको लिङ्ग र अण्डकोषको क्यान्सर छिटफुट रुपमा देखा देखा पर्ने गरेको छ । महिलाहरुको डिम्बाशयको र पाठेघरको क्यान्सर पनि धेरै देखापर्ने गर्छ।
क्यान्सर हुने मुख्य कारणहरू के-के हुन् ,बच्ने उपाएहरु के कस्ता छन् ?
क्यान्सर भनेको शरीरमा आफैँ उत्पन्न हुने एक किसिमको रोग हो । जुन मांसपेशी र कोशिकाहरुको समन्वय विग्रिदा हुन्छ । यसले अलिक नराम्रो रुप पनि लिन्छ। जस्तो कुनै घाउ बल्झिराख्यो वा निको हुने प्रक्रियामा गएन भने वा निको हुने र बल्झिने क्रम चल्यो भने घाउ पछि गएर क्यान्सरमा परिणत हुन्छ।
जस्तो कि ग्यास्ट्रिकको अल्सर भनौं, त्यो अल्सर वर्षौँ-वर्षसम्म भइराख्यो, कुनै उपचार पाएन भने त्यो ग्यास्ट्रिक अल्सर क्यान्सरमा परिणत हुने सम्भावना हुन्छ । कहिलेकाहीँ इन्फेक्सनले पनि क्यान्सर हुनजान्छ । साथै खानपिन, जीवनशैलीले रोग निम्ताउन सक्छ।
विषादीको मिश्रण, किटनाशक औषधीहरूको बढी प्रयोग अन्नवालीबाट पनि जोखिम बढ्ने गर्छ । वातावरणमा भएको प्रदूषण जुन धुवाँ, धुलो छ, यसले हाम्रो शरीरलाई निरन्तर खराबी गरिरहेको हुन्छ। यसले हाम्रो फोक्सो, छाला, आँखा साथै शरीरका अन्य अंगहरुमा असर गरिरहेको हुन्छ । वंशानुगत पनि क्यान्सर देखिने गर्छ।
चुरोट, बिँडी, तमाखु अनि गुट्खा खाने मान्छेहरूलाई नाक, मुख, गिजाको क्यान्सर हुने बढी सम्भावना हुन्छ । किनभने त्यसमा विषालु पदार्थ हुन्छ। चुरोटले चाहीं नाक, मुख, खाना नली, पेटको क्यान्सरमा धेरै प्रोत्साहन गर्छ।
चुरोटको एउटा ठुटोभित्रै ५० किसिमको विषाणु तत्व हुन्छ, जसलाई हामीले कार्सिनोजिन भन्ने गर्छौ । यी तत्वहरूले क्यान्सरलाई बढावा दिन सक्छ। एउटा चुरोटभित्र ५० वटाभन्दा बढी कार्सिनोजिन हुन्छ, शरीरलाई खराबी गर्ने चिज हुन्छ।
चुना, पत्थर जस्ता अत्यन्तै खराब गर्ने निकोटिनहरू विभिन्न किसिमको तत्वहरू राखेको हुन्छ ।जसले मुखभित्रको, गिजाभित्रको छाला खुइलिन्छ। आफ्नो शरीरको निरन्तर सरसफाइ जरुरी पर्छ । शरीरलाई समय-समयमा नुहाउने, धुने, सफा लुगा लगाउने, खानामा सरसफाइ गर्ने वा पानी प्रशस्त मात्रामा पिउनुपर्छ।
क्यान्सर वंशानुगत हुन्छ कि जीवनशैलीसँग बढी सम्बन्धित हुन्छ ?
यसमा वंशाणुगत कम छ। कसै-कसैको मात्र वंशमा क्यान्सर छ भने उसको सरेर आउँछ। तर अहिले म्याक्सिमम मान्छेको एक्सपोजर वा रुझानमा भर पर्छ । मान्छेहरूको जीवनशैली, खानपिनदेखि विभिन्न कारणले क्यान्सरको जोखिम बढाउँछ।
पहिलेको जीवनशैली र अहिलेको बच्चाहरूको परिवेश एकदम फरक छ। पहिला जस्तो प्राकृतिक जीवन छैन, हरेक कुराको स्ट्रेस छ। जसका कारण अहिलेको पुस्तालाई झन् गाह्रो छ।
क्यान्सर उपचारमा नयाँ प्रविधिहरू के-के आएका छन् ? सबैखाले उपचार नेपालमा नै संभव छ ?
नेपालमा क्यान्सरको उपचारमा विभिन्न प्रविधिहरू भित्रिएका छन्। केमोकै कन्टेक्स्टमा हेर्ने हो भने केमोथेरापी भन्ने औषधि उपचार जुन छ त्यसमा केमो बनाउने एउटा क्याबिनेट नै हुन्छ।
त्यो पहिला त्यति थिएन, तर अहिले जहाँ केमोथेरापी हुन्छ, त्यहाँ त्यो केमो मिक्सिङ वा मिक्स गर्ने मेसिन नै आउने गरेको छ । कति डोज केमो, कतिमा राखेर मिक्स गर्ने भन्ने संसाधन उपलब्ध छ। पहिला कमै थियो यो चलन।
अर्को भनेको आइभी ड्रिपहरू अथवा इन्फ्युजन पम्पहरू पाइन्छ। क्यान्सर बिरामीहरूलाई थोरै मात्रामा औषधि निरन्तर दिइराख्नुपर्छ। इन्फ्युजन पम्पहरू भन्ने पनि पाइन्छ । यो सबैतिर पाइन्छ।
अहिले क्यान्सरको उपचारका लागि विकिरण गर्ने, रेडियोथेरापी गर्ने मेसिनहरू पनि उपलब्ध छन्। प्रायजसो अस्पतालमा अब रेडिएसन गर्ने प्रविधि आइसकेको छ । त्यसबाट पनि विकिरणबाट पनि क्यान्सरको उपचार हुन्छ।
सर्जरीकै कन्टेक्स्टमा भन्ने हो भने उपकरणहरू नयाँ-नयाँ आएका छन्। जस्तो मिनिमल्ली इन्भेसिभ भनिन्छ, ल्याप्रोस्कोपिक सर्जरी गर्ने, अन्डर भिजन, मोनिटर हेरेर अप्रेसन गर्ने, रोबोटिक सर्जरीहरू आइसकेको छ।
प्रायजसो क्यान्सरको उपचार नेपालमा भइरहेको छ। हाम्रो जनशक्तिहरू पनि त्यसमा दख्खल भएर लागि परेको छ । पहिलाभन्दा नेपालमा क्यान्सरको उपचार सहज भएको छ। ठूलाठूला शहरहरूमा राम्रो-राम्रो सर्जरी हुन थालेको छ । विदेशीहरु पनि नेपालमै आएर उपचार गराइराख्नुभएको छ।
सरकारले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेर काम गरिरहेको थियो, बीमाले क्यान्सर उपचारमा के कस्तो योगदान पुर्याएजस्तो लाग्छ ?
जो मान्छे गरिब छ, जोसँग धेरै धनसम्पत्ति छैन, उसले उपचारको लागि अगाडि सर्न सक्दैन। उसको लागि कम्तीमा रोग पत्ता लगाइदिने र सुरुको उपचार बहन गराइदिने जस्ता प्रक्रियाका लागि नेपाल सरकारले सघाइरहेको छ । त्यो एकदम राम्रो कुरा हो।
एउटै समाजमा कोही मान्छेसँग धेरै पैसा छ, उसले तुरुन्तै उपचार पाउने अनि अरू गरिब समूदायमा कोही छ भने उसले उपचार कुर्नुपर्ने अथवा उपचार नपाउने अवस्था आउनु राम्रो होइन। त्यसैले स्वास्थ्य बीमा पनि अवस्था र ठाउँ हेरेर प्रदान गरिएको पाइन्छ।
कोही बिरामी उपचार नै नपाएर मृत्यु हुने वा जीवन खराब हुने स्थिति बनेको पाइन्छ। तर जटिल प्रकृतिको, लामो समयसम्म उपचार गरिरहनुपर्ने किसिमको क्यान्सर हुँदा वीमाले उपचार धान्न गार्हो परेको पाइन्छ । यसमा चाहीं सरकारले सोच्नुपर्छ।







डिसी नेपाल








Facebook Comment