टि-२० अन्तर्राष्ट्रियमा एक ओभरमै ५ विकेट लिएर विश्वरेकर्ड
काठमाडौं । इन्डोनेशियाका २८ वर्षीय दाहिने हाते तीव्र गतिका बलर गेडे प्रिआन्दाना अन्तर्राष्ट्रिय टी–२० खेलमा एक ओभरमै पाँच विकेट लिने पहिलो खेलाडी बनेका छन्। उनले यो उपलब्धि मंगलबार बालीमा भएको क्याम्बोडियाविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा हासिल गरेका हुन्। यो उपलब्धि पुरुष वा महिला दुवैमा पहिलो पटक भएको हो।
१५ औं ओभरको खेल हुँदासम्म इन्डोनेशिया खेलमा अग्रता हावी थियो तर १६८ रनको लक्ष्य पछ्याइरहेको क्याम्बोडिया पनि खेलमा बलियोसँग उपस्थित थियो । कम्बोडियाले १०६ रनको स्कोरमा ५ विकेट मात्र गुमाएको थियो ।
१६ औं ओभर बलिङ गर्न आएका प्रिआन्दानाले आफ्नो ओभरमा सुरुवाती तीन बलमा शाह अब्रार हुसेन, निर्मलजीत सिंह र चान्थोएन रथानाकलाई आउट गर्दै ह्याट्रिक पूरा गरे। त्यसपछि एक डट बल आयो अनि उनले मोंगदारा सोक र पेल भेन्नाकलाई आउट गर्दै कम्बोडियालाई अलआउट गराए। उक्त ओभरमा क्याम्बोडियाले केवल एक रन (एक वाइड) मात्र जोड्न सक्यो ।
यसअघि प्रिआन्दानाले इन्डोनेशियाका विकेटकिपर–ब्याट्सम्यान धर्मा केसुमासँगै ओपनिङ गर्दै ११ बलमा ६ रन बनाएका थिए। केसुमाले भने ६८ बलमा ८ चौका र ६ छक्का सहित अविजित ११० रन बनाएर इन्डोनेशियाको ब्याटिङ प्रदर्शनको नेतृत्व गरे।
यद्यपि, पुरुष टी–२० प्रतियोगितामा एक ओभरमा पाँच विकेट लिएको उपलब्धि यसअघि दुई पटक भइसकेको छ। अल–अमिन होसैनले २०१३–१४ मा भिक्ट्री डे टी–२० कपमा यूसीबी–बीसीबी ११ तर्फबाट खेल्दा अबाहानी लिमिटेडविरुद्ध पाँच विकेट लिएका थिए।
अर्को उदाहरण कर्नाटकका अभिमन्यु मिथुनले २०१९–२० को सैयद मुश्ताक अली ट्रफीको सेमीफाइनलमा हरियाणाका पाँच ब्याट्सम्यानलाई एक ओभरमै आउट गर्दा देखिएको थियो।
अन्तर्राष्ट्रिय खेलमा भने एक ओभरमा ५ विकेट लिएको यो पहिलो पटक हो । यसअघि एक ओभरमा चार विकेट भने १४ पटक लिइएको छ। तीमध्ये सबैभन्दा चर्चित उदाहरण श्रीलंकाका लसिथ मालिङ्गाले २०१९ मा न्युजिल्यान्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा लगातार चार बलमा चार विकेट लिएको हो ।







डिसी नेपाल







Facebook Comment