कविता : द्वारे बा

प्रकाशचन्द्र खतिवडा
१२ पुष २०८२ ७:३०
4
Shares
द्वारे बा चिटिक्कको घुम बुन्दै
मुरली बजाउँथे
मलाई लाग्थ्यो
म पनि घुम बुन्ने छु
अनि मुरली फुक्नेछु
द्वारे बा जस्तै ।
होचो कद
थेप्चो नाक
चिम्सा आँखा
ठडिएको केश
चौडा निधार
सिम्रिकको टीका लगाई
तितेपाति र वाबरी कानमा सिउरिएर
मलाई प्रश्न गर्थे
ठुले, म तन्नेरी देखिएको छैन र ?
मलाई थाहै थिएन
मान्छे किन तन्नेरी हुन चाहन्छ ?
म तोते बोली बोल्दै
द्वारे बा, तपाईलाई औधि सुहाएको छ भन्थें
द्वारे बा खुशी हुदैं
मलाई हात थाप्न लगाएर
साना मिठाइ मेरा हातमा हालि दिन्थे
म चुसि चुसि मिठाइ खान्थें
द्वारे बा आफ्नै सुरमा
ढाल्नेको पातमा काँचो सुर्ती बेरी खान्थे
म धुवाँले बनाएको गालो बाटो हेरी बस्थें ।
द्वारे बाको आफ्नै घर थिएन
द्वारे बाका घर जहान र छोराछोरी थिएनन
प्रायः हाम्रो पालीमा मुन्टो लुकाउने
द्वारे बाका आफ्नै भाँडा वर्तन थिएनन
कोदोको ढिडो खान मन पराउने
सिद्राको अचार बनाई
अकबरे खोर्सानी टोक्दै
कोदालो र झम्पल बोकी
विहान सखारै
मेलापातमा निस्कन्थे द्वारे बा ।
द्वारे बाको जीवन सहज थिएन
हात पाउ बसे पछि
दुःख बिमारले सताउँदा
तातो पानी तताएर दिने कोही थिएन
उनी मसँग विलौना गर्थे
ठुले, जिन्दगीको के भर छ र ?
घुत्रुक्क मर्न सकिन्छ
म मर्दा रुने कोही नभए पछि
मेरो सद गत र काज किरिया कस्ले गरि दिन्छ ?
द्वारे बाको कुरा मैले बुझ्न सकिनँ
मान्छे किन जन्मन्छ ?
मान्छे किन मर्छ ?
मलाइ पीडा बोध हुन्छ
म द्वारे बालाई गम्लङग अंगालो हाल्दै भन्छु
द्वारे बा, तपाईको किरिया म गरौंला ।
ठुले, तिम्रो र मेरो जात मिल्दैन
तिम्रो र मेरो संस्कार मिल्दैन
तिमीले चाहेर पनि
मेरो काज किरिया गर्न मिल्दैन ।
म के जातको हुँ ?
द्वारे बा के जातका हुन ?
मेरो संस्कार मलाई थाहा छैन
द्वारे बाको संस्कार कसरी थाहा पाउनु ?
कस्ले बनायो जात ?
कस्ले चलायो संस्कार ?
मान्छे मान्छेमा भेद गर्ने गरी
द्वारे बा मर्दा मैले छुन नहुने
म मर्दा द्वारे बाले छुन हनुने
के यही हो त मानव धर्म ?
म प्रश्न गर्छु द्वारे बालाई
द्वारे बा संग मलाई दिने जवाफ छैन।
मलाई मट्याङ्ग्रा बनाउन सिकाउने
मलाई गुलेली हान्न सिकाउने
मलाई चङ्गा उडाउन सिकाउने
पुस्तकका पाना पल्टाएर तस्बिर चिनाउने
एक, दुई, तीन  गन्ति पढाउने
द्वारे बा मेरा आदर्श गुरु हुन ।
गुरुको गुन तिर्न नपाउँदै
द्वारे बाको आकस्मिक निधनको खबर
महिनौ पछि जब सुनें मैले
म स्तब्धित बनें
मेरा आँखा रसाएर
आँसु तप्प झरे
द्वारे बा  र मेरा बालापन
आँखामा नाचे पछि
म भावविह्वल भएँ
द्वारे बाको नाममा जल चढाई
एक अञ्जुली माटो अर्पण गरें
मेरो कानमा द्वारे बाको मुरली बजि रहेको थियो ।
सुन्दरहरैंचा -६, दुलारी, मोरङ



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.