कथा : कमरेड हौसला

प्रकाशचन्द्र खतिवडा
१९ पुष २०८२ ७:३७
2.2k
Shares

विद्यालयमा कक्षाहरु चलिरहेका थिए। झ्याउँपोखरी भिडन्तबाट घाइतेहरु बोकेर माओवादी छापामार विद्यालयकै प्राङ्गणबाट सत्तल तिर गइरहेका थिए। आकाशमा फन्को मारेर हेलीकोप्टर उडिरहेको थियो।

एके फोर्टी सेभन लन्चर, एसएलआर र इन्सास जस्ता हतियार माओवादी छापामार विद्यालय प्राङ्गणमा प्रदर्शन गरिरहेका थिए। हामीले दुश्मनलाई ढालेर युद्ध जितेर आएका छौ भन्दै गौरवानुभूति प्रकट गरिरहेका थिए।

सुरक्षा खतरा भएपछि विद्यार्थीलाई छुट्टी दिएर शिक्षक स्टाफ अफिसमा बसिरहेको थियो। छापामार युद्धले सिर्जित घटना परिघटनाको फेहरिस्त लामै भै सकेको थियो।

हामी संवेदनशील एरिया साङपाङमा थियौं। साङपाङ पूर्वको माओवादीहरुको पकड एरिया थियो। दर्जनौं नेता कार्यकर्ता भूमिगत भएका थिए। देश द्वन्द्वमा फसेको थियो। दोहोरो भिडन्तका घटना सामान्य जस्तै लाग्न थालेका थिए। जिल्ला सदरमुकाम हान्ने र सैनिक व्यारेक लुट्ने क्रम बढिरहेको थियो।

राज्य रक्षात्मक स्थितिमा खुम्चन बाध्य थियो। सामन्त सुदखोर र सुराकी माथि कारवाही गरिएका थिए। शिक्षकहरुलाई मासिक चन्दा तोकिएको थियो। भौतिक तथा भाटे कारबाही जनसरकारले संचालन गर्थे। गाउँ गाउँमा जनसरकारहरु गठन गरिएका थिए। छापामारहरुको आवत जावत बाक्लै हुने गथ्र्यो। घाइते तथा अपाङ्गको प्राथमिक उपचार गरी थप उपचारका लागि भूमिगत शैलीमा भारत पठाइन्थ्यो।

“म कमरेड कौशल। कमाण्डर निकाशको आदेश छ। घाइते बोकी किमालुङ जान हेड सरको नेतृत्वमा शिक्षक परिचालन गर्नु पर्ने छ। हेड सर को हुनुहुन्छ?” सबै साथीहरुले म तिर इंकित गर्नु भयो। “हेड सर, तपाईंको नाम दिन मिल्छ?” कौशलले प्रश्न ग¥यो। मैले भने “म प्रकाश।” कौशलले मेरो नाम डायरीमा टिपोट ग¥यो र भन्यो “चाँडो गर्नोस्।”

म अन्यमनस्कमा परें। मैले तत्काल निर्णय लिनु पर्ने थियो। हेलिकप्टरले गस्ती गरिरहेको क्षण ज्यानको जोखिम थियो। “कौशल तपाईं जाँदै गर्नोस्। हामी सल्लाहा गर्छौं।” मैले भनें। “सल्लाहाको जरुरी छैन हेड सर। कमाण्डरको आदेश हो। मैले तपाईंहरुलाई लिएर जानैपर्छ।”

सर र मिसहरु एक न दुई बन्दै गइ रहनु भएको महसुस मैले गरें। डरले अनुहार राता राता बनाइ सक्नु भएको थियो। विद्यालय नखोलेकै भए हुने रहेछ भन्ने लाग्यो मलाई पनि। हामी परिवन्दमा परेका थियौं। मैले मिसहरुलाई घर जानोस भनें। निलाप्रसाद सर अपांग भएको कारण वहाँलाई कोठा जानोस् भनें। भोलाजङ सरको अल्सरको अप्रेशन गरेको कारण वहाँलाई घर जानोस् भनें।

मन खिन्न बनाउँदै हामी अफिस बन्द गरेर सत्तल डाँडातिर निस्कियौं। घाइतेहरु स्टे«चरमा सुताइएका थिए। चिकित्सकको टोली प्राथमिक उपचार गरिरहेका थिए।

टोली त्यहाँबाट किमालुङ मुभ गर्‍यो। उकालो बाटोमा हामीले पालो पिलो गरी घाइते बोक्यौं। करिव तीन घण्टाको दूरी पार गर्दै हामी सकुशल किमालुङ पुग्यौ। हेलिकप्टर गस्ती गरिरहेकै थियो। बाटो प्रायः जंगलले ढाकिएको थियो। अप्ठ्यारा सिँढीहरु उक्लनु पथ्र्यो। घाइतेहरु स्टे«चरमै जोशिइ रहेका थिए। मलाई गोली नलागेको भए म दुश्मनलाई ढालेरै छाड्थेँ भनिरहेका थिए।

उनीहरको क्रान्तिप्रतिको प्रतिवद्धता देखेर म भित्र भएको डर दूर भैसकेको थियो। उनीहरुको रगत उम्लिरहेको थियो। मर्न र मार्न भनी हिँडिरहेका थिए तिनीहरु। हामीले बोकेको घाइते रुकुमको कमरेड हौसला थिई। यो उसको पाँचौ भिडन्त थियो। उसको दाहिने पाखुरामा गोली लागेको थियो। उसको भाइले जुम्ला भिडन्तमा शाहदत प्राप्त गरेको रहेछ। उ भाइको बदला लिन चाहान्थी।

हौसला एम.ए. पढ्दै थिई। माओवादी निकट अखिल क्रान्तिकारीको सचिव सम्हालिरहेकी हौसला पार्टीको घोषित नीति अनुरुप भूमिगत भएकी थिई। ऊ जनमुक्ति सेनाको प्लाटुन कमाण्डर थिई। घाइते हुँदा पनि उसमा रत्तिभर विचलन थिएन। ऊ हामीलाई क्रान्तिका कुरा सुनाई रहेकी थिई। माक्र्सवाद, लेनिनवाद र माओवाद पढाइ रहेकी थिई।

हामी किमालुङ पुगे पनि हामीले पालो पाउने नपाउने कुनै टुंगोे थिएन। हामी किमालुङबाट फर्कन चाहान्थ्यौं। भोलिबाट विद्यालय संचालन गर्नु थियो। म कमाण्डर निकाश खोजिरहेको थिएँ। ऊ मेरो गाउँले छिमेकी भाइ थियो।

मलाई छापामार अर्पणले निकाश तिर लगिरहेको थियो। निकाश दुई वटा सुरक्षा घेरा भित्र कमाण्डिङ गरिरहेका थियो। उसले गोर्कीको आमा उपन्यास बारे प्रशिक्षित गरिरहेको थियो। म पुगे पछि उसले प्रशिक्षण स्थगन गर्दै मुठ्ठी उठाएर लाल अभिवादन भन्यो। मैले पनि मुठ्ठी उठाएर लाल अभिवादन व्यक्त गरें।

“कमरेड, निकाश हामी साङपाङ फर्कन चाहान्छौं।” मैले भने। “यहाँसम्म साथ दिनुभएकोमा धन्यवाद। सुरक्षित फर्कनु होला। दुश्मन नजिकै छ। तपाईंहरु जान सक्नु हुन्छ।” निकाशले साङपाङ फर्कने अनुमति दियो। हामी साङपाङ फर्कने तयारीमा लग्यौं। हौसलाले विदाको देब्रे हात हल्लाई।  हामी बाटो लाग्यौ। जाँदा तीन घण्टा लागेको बाटो फर्कँदा हतासले ओरालोमा हामी एक घण्टामै साङपाङ आइपुग्यौ। सत्तल बजार सुनसान थियो। हामीलाई देखेर पसलमा बस्ने मानिसहरु आश्चर्य मानिरहेका थिए।

सेनाको एउटा टुकडीले हामीलाई सोध पुछ गर्‍यो। हामी सबैका नाम ठेगाना डायरीमा टिपोट गर्‍यो। तपाईंहरुले चन्दा दिनु भयो अरे। तपाईंहरुले घाइते बोक्न सघाउनु भयो अरे। आतंककारीलाई सेल्टर दिनु हुन्छ अरे। हामी तथ्य संकलन गरिहेका छौ। पुष्टि भए पछि तपाईंहरुलाई राज्य द्रोहको मुद्धा लाग्न सक्छ।

ज्यानको माया छ कि छैन? सरकारी तलब खाएर सरकारकै बर्खिलाफमा जाने? तपाईंहरुको नियत ठिक छैन। हामी तपाईंहरुलाई कारबाहीको सिफारिस लेख्छौ।’ सेनाले हामीलाई धम्क्याएर सो सेनाको टुकडी बोया तिर लाग्यो। बोयामा पनि दोहोरो भिडन्त भएको थियो। बोयामा अस्मिताले शाहदत प्राप्त गरेकी थिई।

सावित्री सर (समर) र राजेन्द्र शिक्षणबाट राजीनामा दिएर भूमिगत भएको विद्यालय हो, हाम्रो विद्यालय। शिक्षकहरु नै भूमिगत भएको विद्यालय भएकाले सुरक्षा निकायको विशेष निगरानीमा थियो विद्यालय। सबै शिक्षक माओवादी होलान भनी शिक्षकहरु माथि कडा निगरानि राखिएको थियो। १५–१५ दिनमा सेना प्रहरीलाई स्पष्टिकरण दिनु पथ्र्यो।

१५-१५ दिनको फरकमा सेना प्रहरी र छापामार आलो पालो गरी विद्यालय प्राङ्गणमा देखा पर्थे। दोहोरो मुठ भेड होला भन्ने चिन्ता थियो। विद्यालय आसपास मुठ भेड भएमा शिक्षक विद्यार्थीको सुरक्षा चुनौतीपूर्ण हुन्थ्यो। भौतिक तथा मानवीय क्षति हुन सक्थ्यो। सेना प्रहरी सेल्टरको रुपमा विद्यालय प्रयोग गर्थे। छापामार सैन्य मोर्चका लागि विद्यालय प्रांगण प्रयोग गर्थे। दुवैतर्फबाट युद्धको नियम विपरीत विद्यालय प्रयोग भइरहेको थियो।

मेरो बसाइ मालबाँसेमा थियो। मालबाँसे सेना प्रहरी र छापामारहरुको बोया ओहोरदोहोर गर्ने प्रमुख नाका थियो। मालबाँसेमा कमरेड शाक्तिको कमाण्डमा छापामारहरुको आगमन हुन्थ्यो। शक्ति पनि मेरो गाउँले छिमेकी भाइ थियो। शक्तिको सुरक्षार्थ चारै तिर सेन्ट्रीहरु बसेका हुन्थे।

“दाइ खान नपाएर हिडेको हैन म। घरमा माकुराले जालो लगाई रहेको छ। न्याय, समा नता र मुक्तिको खातिर हिडेको हुँ म। स्वास्नी छोराछोरी त्यागेको छु मैले।” शक्तिले मलाई कथा सुनाइ रहेको थियो।

उसले कथा सुनाउँदा उसको कम्मरमा भएको पेस्तोल हल्लिरहेको थियो। सकेट बम टल्किरहेको थियो। ऊ जोशका साथ मलाई क्रान्तिमा होमिन हौस्याई रहेको थियो। तपाईंकी एउटी छोरी पार्टीलाई दिनु पर्छ भनि रहेको थियो। चेग्वेभाराको जीवन पढाएर चारुम मजुमदारको नक्सलाइट आन्दोलन प्रष्ट्याई रहेको थियो।

म स्वतन्त्र वामपन्थी थिएँ। थोर बहुत माक्र्सवादी साहित्य र दर्शन अध्ययन गरेकै थिएँ। म प्रगतिशील कथा कविता लेख्थे। म दक्षिणपन्थी प्रतिकृयावादी र सामन्तवादी प्रवृत्तिको विरोध गर्थे। म चरम उग्रवामपन्थको पक्षमा थिइनँ। कमरेड समरलाई मैले भनेको थिएँ। “म माओवादी हुन सक्तिनँ।”

“माओवादी हुन नसके पनि तपाईं हाम्रो विपक्षमा बोल्न पाउनु हुन्न। हामीलाई नैतिक र आर्थिक सहयोग गर्नु पर्ने हुन्छ। सेल्टर दिनु पर्ने हुन्छ। तपाईंको सकारात्मक सहयोगको अपेक्षा राखेका छौं। क्रान्तिलाई उचाइमा पुर्‍याउन तपाइको पनि महत्वपूर्व भूमिका हुनेछ।” कमरेड समरले आफ्नो कुरा प्रष्ट राखे।

मैले कुनै प्रतिकृया जनाउन उचित ठानिन। मैले कुरा सुनि रहें। मैले ठानें वास्तवमै हामी दोहोरो मार खेपिरहेका थियौं। यो द्वन्द्व कहिले समाप्त होला? के जनयुद्धले पूर्णता प्राप्त गर्ला? विनाश र ध्वंस रोकिएर नव निर्माण कहिले होला? के सामन्तवाद र साम्राज्यवादको अन्त्य होला? के प्रतिकृयावादी सत्ता ढलेर गणतन्त्र आउला? म मनमा कुरा खेलाउँदै समरसँग विदा मागेर कोठातिर लागें। कोठा पुग्दा शाक्तिको टिम खाना पकाइ रहेको थियो।

शक्तिले मलाई अभिवादन गर्‍यो। मैले अभिवादन फर्काएँ। शक्ति भनिरहेको थियो। “दाइ क्रान्ति उचाइमा उक्लि रहेको छ। हामी मुक्ति प्राप्तिको अन्तिम लडाईमा छौं। हामी भोजपुर आक्रमणको रणनीति बनाई रहेका छौं।”

“हेड सर, अभिवादन।” मैले पछाडि फर्केर हेरें। हौसला पेस्तोल भिरेर उभ्भिरहेकी थिई। “म ठिक भएँ नि हेड सर। सिलगुडी पुगेर गोली निकाले नि।” हौसलाले मलाई प्रष्टिकरण दिई।

छ महिना पछि हौसला, प्लाटुनको नेतृत्व गर्दै आइ पुगेकी हो। उसले उसका सदस्यहरुलाई मेरो परिचय दिई। उसको कार्य क्षेत्र भोजपुर र संखुवासभा थियो। उसले संखुवासभाको चैनपुरमा पूर्वी व्यूरोको मिटिङ एटेण्ड गर्नु थियो। उसलाई पूर्वको रुट थाहा थिएन।

उसले मलई रुट निर्धारण गरि दिन अनुरोध गरी। मैले झ्याउँपोखरी, फालिकोट कुकुरभुका, कुडुले, सातटारे, लोहाकोट खराङ हुँदै चैनपुर पुग्ने रुट निर्धारण गरि दिएँ। तुम्लिङबाट जान सुरक्षा खतरा थियो। एयरपोर्ट सुरक्षार्थ प्रहरी गस्ति भै रहेको हुन्थ्यो। प्रहरी चौकी तुम्लिङमै थियो।

हौसलाले मलाई गोर्की, लेनिन र माओका उत्कृट रचनाहरुको रातो किताब दिई। रातो किताबले कम्युनिष्टलाई मार्गदर्शन प्रदान गर्थे। खानपान र उठ बस रातो किताबले निर्देश गरे अनुसार हुन्थे। मैले हौसलालाई कम्युनिष्ट पार्टीको घोषणा पत्र दिन भनें। ऊसँग एकप्रति मात्रै भएको कारण अर्को पटक आउँदा उपलब्ध गराउने भनी। सत्तलमा खाना खाएर हौसलाको टोली चैनपुर जान मुभ गर्‍यो। म विद्यालय तिर लागें।

अधिकांश ग्रामीण क्षेत्र माओवादी नियन्त्रित थिए। जनसरकारले नै ग्रामीण सत्ता चलाउँथ्यो। किसानहरुका जनसंगठन निर्माण गरिएका थिए। सामूहिक खेती प्रणालीको अभ्यास थालिएको थियो। महिलाहरुलाई जागरुक बनाउन अ.ने.म. संघमा आवद्ध गराइएको थियो। युवा संगठनहरु ग्रामीण गस्तीमा परिचालन गरिएका थिए।

विद्यार्थीहरुलाई अखिल क्रान्तिकारीमा संगठित गरि बुर्जुवा शिक्षाको भण्डाफोर गर्दै जनवादी शिक्षाको प्रशिक्षण दिइन्थ्यो। शिक्षक र कर्मचारीका पनि सं्गठनहरु निर्माण गरिएका थिए। मालिक र श्रमिक बिचको विभेद अन्त्य सम्बन्धमा प्रशिक्षणहरु हुन्थे। किसान विद्रोह मूल मुद्दा बनाइएको थियो।

अभाव, अशिक्षा, गरिबी, भ्रष्टाचार, असमान वितरण प्रणाली र उत्पीडनमा टेकेर माओवादी जनयुद्ध सुरु गरिएको थियो। औंलामा गन्न सकिने नेताले घोषणा गरेको जनयुद्धले व्यापकता पाउला भन्ने कसैले सोचेको थिएन। सरकारी दमनले त्यो निष्कृय हुने छ भन्ने थियो।

सरकारले माओवादी जनयुद्धहरुलाई पानीको फोका ठानेको थियो। जो क्षण भरमै फुटेर जान्थ्यो। संसदवादी दलहरुले पनि जनयुद्धहरुलाई कम आँकी रहेका थिए। संसदवादी दलहरु संसदमै सत्ताको फोहोरी खेलमा चुर्लुम्म डुबेका थिए।

आफ्नो दुनो सोझ्याएर आफ्ना कार्यकर्ता पोस्न विकास बजेटको दुरुपयोग गर्थे। जनजीवीकाका सवाल बाट संसदवादी दलहरु टाढिँदै गएका थिए। पैसाको खोलो बगाएर चुनावी प्रतिस्पर्धा गर्थे। एउटा पैसावाल चुनाव जितेर आउँथ्यो। जनताका समस्या ज्युँका त्युँ रहन्थे। विकास बजेटमा कार्यकर्ताको हालीमुहाली हुन्थ्यो।

भोजपुर आक्रमण्को रणनीति अनुसार आक्रमणमा सहभागी हुन हौसला आफ्नो प्लाटुनको नेतृत्व गर्दै भोजपुर जाने क्रममा विद्यालय निस्किएर पूर्व शर्त बमोजिम मलाइ कम्युनिष्ट पार्टीको घोषणा पत्र उपलबध गराई। ऊ भनि रहेकी थिई, “हेड सर हामी युद्ध मोर्चामा छौं। हामीले अन्तिम लडाई लड्नु छ। देश र जनताको मुक्ति हाम्रो न्यूनतम शर्त हो। भोजपुर आक्रमण युद्धको निरन्तरता हो।”

सप्ताहन्त भोजपुर आक्रमणको समाचार आयो। छत्तीस जना सेना प्रहरीले वीरगति प्राप्त गरे। सोह्र जना माओवादी आतंकारी मारिए। प्रहरीका हतियार लुटिए। रेडियो नेपालले विहान सात बजे समाचार फुक्यो।

म स्तब्धित भएँ। भोजपुर आक्रमणमा हौसलाको अवस्था के रह्यो? मलाई हौसलाको चिन्ताले पिरोल्यो। ऊ सकुशल रहोस् भनी मैले प्रार्थना गरें। गणतन्त्र एफ.एम खोलें र समाचार सुनें। भोजपुर आक्रमणमा शाहदत प्राप्त गर्ने शहीदहरुको नामवाली प्रशारित भै रहेको थियो। वर्षा, अभय, ज्योति, राजेश, हौसला….।

मैले पूरा नाम सुन्ने धैर्यता गुमाएँ। हौसलाको नाम आएपछि साङपाङ किमालुङ घाइते बोकाइको स्मरण गरें। मेरो आँखै नजिकै देब्रे हात उचाली उचाली जोशका कुरा गर्ने दृढ योद्धा हौसलाको अनुहार नाची रह्यो। मेरा आँखाबाट तप्प आँसु झरे। मैले हौसलाको नाममा मुठ्ठी उठाएर श्रद्धाञ्जली व्यक्त गर्न उचित ठानें। कमरेड हौसला, अल विदा भनेर मैले शिर निहुराएँ।

सुन्दरहरैंचा-६, दुलारी, मोरङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.