राज्यलाई बलियो बनाउन राज्य र जनताको सम्बन्ध घनिष्ठ हुनुपर्छ : शंकर पोखरेल

डिसी नेपाल
१९ पुष २०८२ २०:१९
32
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राज्यलई बलियो बनाउनका लागि राज्य र जनताबीचको सम्बन्धलाई घनिष्ठ बनाउनुपर्ने जोड दिएका छन्।

निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको तेस्रो बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले जनतासँग राज्यको सम्बन्ध घनिष्ठ बनाउन सरकारले सेवा प्रभावकारी बनाउनुपर्ने धारणा राखे। उनले जनता र राज्य बीचका सम्बन्धलाई जीवन्त बनाउने भूमिका निजामती कर्मचारीको रहेको बताए।

राज्यलाई बलियो बनाउनका लागि नागरिक हक सुनिश्चित गर्नुपर्दछ । राज्य र जनतालई जोड्ने काम गर्नुपर्दछ । त्यसपछि मात्र हामी समृद्धिको यात्रामा अघि बढ्न सक्दछौँ, महासचिव पोखरेलले भने। उनले निर्वाचनलाई सामना गर्न राज्यका प्रमुख अङ्गबीच एकता र सहकार्य आवश्यक रहेकामा जोड दिए।

अहिले राज्य कमजोर अवस्थामा छ । यस्तो बेला राज्य बलियो बनाउने काम निजामती प्रशासनको हो । कमजोर अवस्थामा रहेको राज्यलाई स्थायी सरकारको नेतृत्व गरिरहेको निजामतीले बलियो बनाउने अगुवाइ गर्न सक्दछ, उनले भने, मुलुकको वर्तमान र भविष्यका लागि जागरुक तप्काका रूपमा निजामती कर्मचारी रहनुपर्दछ।

महासचिव पोखरेलले नवयुवा राज्य र राजनीतिक दलसँग असन्तुष्टि रहेका बताउँदै गत भदौ २३ र २४ को घटना यसको उदाहरणका रूपमा रहेका उल्लेख गरे। उनले नवयुवाले अगाडि सारेका भ्रष्टाचार नियन्त्रण, सुशासन कामय गर्नेलगायत विषयलाई राजनीतिक नेतृत्वले समाधान गर्ने बताए।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य भोला पोखरेलले निजामती कर्मचारी स्थायी सरकार भएकाले बाह्य शक्तिबाट मुलुकलाई जोगाउन भूमिका खेल्न आग्रह गरे। सङ्गठनका अध्यक्ष भवानी दाहालले राज्य कमजोर भएको बेला निजामती कर्मचारी चनाखो भएर बस्नुपर्ने र जनहितमा केन्द्रित भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.