पर्सा प्रशासनको शून्य सहनशीलता

धार्मिक सद्भाव बिथोल्नेविरुद्ध पाँच वर्ष कैद र एक लाख जरिवानाको चेतावनी

डिसी नेपाल
२० पुष २०८२ १६:३१
136
Shares

वीरगन्ज। जिल्ला प्रशासन कार्यालय, पर्साले सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वेष फैलाउने र झुठा अफवाह फैलाउने विरुद्ध कठोर कानुनी कारबाहीको चेतावनी दिएको छ।

पछिल्लो समय डिजिटल प्लेटफर्मको दुरुपयोग गरी समाजमा भ्रम छर्ने र राष्ट्रिय एकतामा आँच पुर्याउने गतिविधि बढेको भन्दै प्रशासनले यस्तो कदम चालेको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपीलमा फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालका खाताहरूको सूक्ष्म रूपमा निगरानी भइरहेको उल्लेख छ। धार्मिक वा सांस्कृतिक द्वेष सिर्जना गरी कुनै पनि समुदायको मानमर्दन गर्नेलाई गम्भीरतापूर्वक लिई कानुनी दायरामा ल्याइने प्रशासनले जनाएको छ।

यी हुन् सजायका प्रावधानहरू

धार्मिकस्थल र पवित्र स्थानको अपमानस् मुलुकी अपराध संहिता, २०७४ को दफा १५५ अनुसार कसैले कुनै जात, जाति वा सम्प्रदायको धार्मिक आस्थामा ठेस पुर्याउने नियतले पवित्र मानिएको स्थान वा वस्तुलाई हानिनोक्सानी गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुनेछ।

धार्मिक भावनामा आघात : संहिताको दफा १५६ बमोजिम लेखेर, वचनले वा चिन्हद्वारा कसैको धार्मिक भावनामा आघात पुर्याएमा दुई वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

विद्युतीय अपराध : विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार इन्टरनेटको माध्यमबाट साम्प्रदायिक सम्बन्धमा खलल पार्ने, घृणा फैलाउने वा महिलालाई अपमान र हैरानी गर्ने सामग्री पोस्ट गरेमा १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।

प्रशासनले विद्युतीय माध्यमबाट महिलालाई जिस्क्याउने र अमर्यादित कार्य गर्नेलाई पनि सोही ऐनअनुसार कडा कारबाही गरिने स्पष्ट पारेको छ। समाजमा शान्ति सुरक्षा र सद्भाव कायम राख्नु सबैको दायित्व भएको भन्दै कानुनको उल्लंघन नगर्न प्रशासनले सबैमा अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.