दलहररू तयारीमा जुटेसँगै सुदूरपश्चिममा चुनावी सरगर्मी बढ्दै
सुदूरपश्चिम। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीमा दलहरु जुटेसँगै सुदूरपश्चिम प्रदेशमा निर्वाचनको माहोल तात्तिन थालेको छ।
राजनीतिक दलहरुले निर्वाचन क्षेत्रका इच्छुक प्रत्यासीको नाम सिफारिस गर्न थालेसँगै निर्वाचनको माहोल तात्तिन थालेको हो। योसँगै आमनागरिकमा समेत चुनावी चासो र उत्साह बढेकोे छ।
सार्वजनिक स्थलहरुमा राजनीतिक दलका कार्यकर्ता र शुभेच्छुकहरुबीच अबको चुनावमा कुन पार्टीका प्रत्यासी विजयी हुने र को पराजित हुने भन्ने विषयमा अड्कलबाजी हुन थालेका छन्।
समानुपातिकतर्फको निर्वाचनका लागि उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरिसकेका दलहरुले यतिबेला प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली) र समानुपातिकतर्फका उम्मेदवारको नामावाली सङ्कलन गरी सिफारिस गर्ने कार्यलाई तीव्रता दिएका छन्।
नेपाली कांग्रेसले आकांक्षी उम्मेदवारको सिफारिस गर्ने काम पूरा गरिसकेको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका दलहरु आकांक्षी उम्मेवारको नाम धमाधम सिफारिस गरिरहेका छन्।
नेपाली कांग्रेसका प्रदेश महामन्त्री नरनारायण शाह आकांक्षी उम्मेदवारको सूची केन्द्रमा पठाइसकिएको र अब पार्टीको ध्यान निर्वाचन क्षेत्र केन्द्रित गर्ने तयारी भइरहेको बताउँछन्। नेकपा (एमाले) कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गानाले निर्वाचन क्षेत्रीय समितिबाट आकांक्षी उम्मेदवारका नाम जिल्ला समितिमा आइसकेकाले प्रदेश समिति हुँदै केन्द्रमा पठाउन लागिएको बताए।
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीर्घबहादुर सोडारीले पार्टीको एकता सन्देशसभालाई चुनावी तयारीका रुपमा समेत लिएर केन्द्रित भइरहेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी युवा नेता हरि रेग्मीले सङ्गठन विस्तारसँगै निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय भएर लागेको बताए। प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा कूल मतदाता सङ्ख्या १७ लाख १६ हजार ६६० रहेको छ। महिला मतदाता आठ लाख ६४ हजार ४२३ र पुरुष मतदाता आठ लाख ५२ हजार २१९, तेस्रो लिङ्गी मतदाता १८ छन्। प्रदेश निर्वाचन कार्यालय कैलालीका अनुसार आसन्न निर्वाचनका लागि प्रदेशभरि एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्र तोकिएका छन्।
विसं २०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदेशमा नेपाली कांग्रेस आठ, नागरिक उन्मुक्ति पार्टीका तीन, नेकपा (एमाले)का दुई, तत्कालीन नेकपा (एकीकृत समाजवादी)का तीन निर्वाचन क्षेत्रमा विजयी भएको थियो। प्रदेशको कैलाली जिल्लामा पाँच, कञ्चनपुरमा तीन, अछाममा दुई, बझाङ, डोटी, बाजुरा, दार्चुला, बैतडी र डडेलधुरामा एक/एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्।
‘हेभी वेट’ नेता को कहाँबाट सिफारिस ?
प्रत्यक्ष निर्वाचनतर्फ नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट सिफारिस भएका छन्। उनी विसं २०४८ देखि भएका निर्वाचनमा आफ्नो गृहजिल्ला डडेलधुराबाट विजयी हुँदै आएका छन्।
हाल उम्मेदवारका आकांक्षीको सिफारिसको चरणमा रहेको नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वमन्त्री लेखराज भट्ट कैलाली निर्वाचन क्षेत्र–४ बाट सिफारिस भएका छन्। उनी डोटीबाट पनि सिफारिस भएका छन्।
कैलाली–४ बाट विघटित प्रतिनिधिसभा सदस्य एवं कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर सिफारिस भएका छन्। नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीमबहादुुर रावल अछाम क्षेत्र–१ बाट सिफारिस भएका छन्। यसैगरी कांग्रेस नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखक कञ्चनपुर–३ बाट सिफारिस भएका छन्।
कांग्रेस नेत्री एवं निवर्तमान परराष्ट्रमन्त्री डा आरजु राणा देउवा कैलाली–५ (धनगढी क्षेत्र)बाट सिफारिस भएकी छन्। यो क्षेत्रमा कांग्रेसका प्रदेश महामन्त्री एवं युवा नेता नरनारायण शाह, विघटित प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त र केन्द्रीय सदस्य नृपबहादुर ओड पनि सिफारिस भएका छन्। कांग्रेसका प्रभावशाली नेताद्वय एनपी साउद कञ्चनपुर–२, बाट र दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट सिफारिस भएका छन्। रासस







डिसी नेपाल








Facebook Comment