नेपाल-सिख सम्बन्धः गुरु गोविन्द सिंह जयन्ती
नेपाल मात्र नभएर विश्वभरका सिख समुदायहरूले हर्षोल्लासका साथ मनाउने पर्व गुरु नानक जयन्ती र गुरु गोविन्द सिंह जयन्ती हुन्। गुरु गोविन्द सिंह जयन्ती प्रत्येक वर्ष पौष महिनामा सम्पूर्ण सिखहरूले उत्साह र सम्मानका साथ मनाउँछन्।
यस जयन्तीमा अन्य सम्प्रदायका नेपालीहरू पनि रमाएर सम्मिलित हुने गरेका छन्। यो वर्ष अर्थात् २०८२ सालमा गुरु गोविन्द सिंह जयन्ती पौष २१ गते परेको थियो। यसै जयन्तीको उपलक्ष्यमा नेपाल–सिख सम्बन्ध चर्चा गरी गुरु गोविन्द सिंहप्रति श्रद्धाञ्जली व्यक्त गर्न यो आलेख उपस्थित भएको छ।
नेपाल ऐतिहासिक कालदेखि नै उत्तर र दक्षिणबाट बसाइँ सराइ गर्दै आउनेहरूका लागि आकर्षक स्थल रहेको छ। यसैगरी कालान्तरमा पश्चिम र पूर्वबाट पनि विभिन्न जातजातिका मानिसले हालको नेपाल भूमिलाई आफ्नो कर्मस्थल बनाएका दृष्टान्त छन्।
अतः यी चारै दिशाबाट आएका मानिसहरूको मिश्रणबाट नेपाली संस्कृति अझै धनी भएको छ। यसै पृष्ठभूमिमा सिखहरूले पनि नेपाललाई आफ्नो कर्मभूमि बनाई स्थानीय जनतामा सिख संस्कृतिको पहिचान गराउन सफल भएका छन्।
नेपाली सिखहरूले आफ्नो रीतिथिति परम्परालाई निरन्तरता दिँदै प्रत्येक वर्ष तिथिअनुसार गुरु गोविन्द सिंह जयन्ती मनाउने गर्दछन्। यस दिन भजनकीर्तन गरी सबैलाई भोज (लङघर) खुवाउने चलन छ। यस जयन्तीमा सिखबाहेक अन्य धर्मालम्बीहरू पनि सहभागी हुन्छन्। सबै धर्म सम्प्रदायप्रति समभाव राख्नेमा सिखहरू अग्रपंक्तिमा नै छन्।
सिख धर्मका प्रवर्तक गुरु नानकले सन् १५१४ देखि १८ बीचमा नेपालका धेरै तीर्थस्थलहरू भ्रमण गरेका थिए भन्ने भनाइ छ। काठमाडौँको नयाँ बजार समीप विष्णुमती किनार र पशुपति क्षेत्रमा नानक स्मारक हालसम्म विद्यमान छन्। नेपालीहरूले यी महामानवलाई नानक मुनि वा नानक ऋषिका रूपमा सम्मान गर्दै आएका छन्।
नानकका छोरा श्रीचन्द्रले उदासीन धार्मिक मत प्रतिपादन गरेका थिए। नेपालको सुनसरीस्थित रामधुनीमा सेन राज्यकालमा प्रारम्भ भएको उदासीन धुनी हालसम्म निभेको छैन। अन्यत्रका उदासीन आश्रमहरूमा धुनी जगाउन यहीँबाट अग्नि लिएर जाने प्रचलन छ।
यिनै नानकका अनुयायी थिए गोविन्द सिंह। यी सिद्धपुरुष सिख समुदायका दशौँ तथा अन्तिम गुरु मानिन्छन्। उनको जन्म सन् १६६६ मा भारतको पटनामा भएको थियो। नानकद्वारा प्रतिपादित सिद्धान्त र मान्यतालाई प्रभावकारी रूपमा अगाडि बढाउन उनले ठूलो कसरत गरेका थिए।
गोविन्द सिंह नौ वर्षको कलिलो उमेरमा नै सिख सम्प्रदायका दशौं गुरु भए भने उनैले गुरुको उत्तराधिकारी हुने क्रम पनि बन्द गराए। उनी संस्कृत, फारसी, उर्दु, हिन्दी जस्ता अनेक भाषाका ज्ञाता मात्र थिएनन् एक प्रसिद्ध कवि, साहसिक योद्धा, आध्यात्मिक चिन्तक र क्रान्तिकारी व्यक्तित्वका रूपमा समेत उनलाई चिन्ने गरिन्छ।
गुरु गोविन्द सिंहको सबैभन्दा चर्चित कार्य खाल्सापाथको प्रतिपादन थियो, जुन सन् १६९९ को वैशाखमा स्थापना भएको थियो। यस दिनलाई सिखहरूले सर्वाधिक महत्त्वपूर्ण दिवसका रूपमा लिने गरेका छन्। सिखहरूको पवित्र ग्रन्थ “गुरुग्रन्थ साहिब” हो।
यस ग्रन्थको रचना गुरु नानक, गुरु अङ्गद, गुरु अमरदास, गुरु रामदास, गुरु अर्जुन (सिख धर्मका प्रारम्भिक पाँच गुरु) र नवौँ गुरु तेजबहादुरले लेख्दै अगाडि बढाउँदै गरेकोमा गुरु गोविन्द सिंहले यसलाई पूरा गरे। यो खाल्सा पन्थको यज्ञ पूरा भएपछि यिनै गोविन्द रायले “सिंह” लेख्ने प्रचलन सुरु गरे। यस घटनापछि सबै खाल्सा पन्थी पुरुषहरूले सिंह र महिलाहरूले कौर लेख्ने कार्यको थालनी गरेका हुन्, जुन हालसम्म अनवरत रूपमा चल्दै आएको छ।
सिखहरूको आराध्य र श्रद्धेय पात्र गुरु गोविन्द सिंहले सिखहरूको पृथक पहिचान गराउन पाँच ‘क’- कंकार (कपास, काँइयो, कडा, कृपाण र कृच्छा)को प्रचलन सुरु गराएका थिए जुन आजसम्म पनि सिख समुदायले अनुसरण गरिरहेका छन्।
यिनै सिख गुरुले धुमपान गर्न, व्यविचार गर्न, हलाल गरेको मासु खान, आफ्नै सन्तानलाई प्रतिद्वन्दी सम्झन निषेध गरेका थिए। सिखहरूका यी अन्तिम गुरुले आफूपछि कुनै उत्तराधिकारी अर्थात् सिखगुरु नहुने र “गुरुग्रन्थ” नै अमर गुरु हुने घोषणा गरे। त्यसैले उनलाई सिखहरूका अन्तिम तथा सर्वाधिक पूज्य गुरुमध्येका एक भनेर सिख समुदायमा पुजिने गरिन्छ।
सिख गुरुले मुसलमानसँग सङ्घर्ष गर्दै आफूहरू लडाकुको पहिचान बनाएका थिए। नवौँ गुरु तेजबहादुर मुसलमान शासक औरङ्गजेबबाट मारिएपछि उनकै छोरा गोविन्द ९ वर्षको उमेरमा दशौँ गुरु हुन पुगेका थिए।
गुरु गोविन्दको समय पनि अधिकांश मुसलमानसँगको युद्धमा नै बित्यो। यसै सङ्घर्षमा उनका दुई छोरा मारिए भने अन्य दुई मुगल प्रशासक बाजिर खानद्वारा हत्या गराइए। आफ्नो जीवनकालमा चारै छोरा गुमाएका गोविन्द सिंहले जोरावर सिंहलाई धर्मपुत्र बनाएका थिए।
माता अजित कौर, माता सुन्दर कौर र माता सहित कौर गरी तीन विवाह गरेका थिए। सिखहरूको राष्ट्रिय गान उनैले रचेका थिए भने ‘होला मोहल्ला’ पर्वको सुरुवात गर्ने श्रेय पनि उनैलाई दिइन्छ।
गुरु गोविन्द सिंहले आफ्नो जीवनकालमा १४ वटा भीषण युद्ध लडेका थिए। आनन्दगढ, कुशगढ, लोहगढ र फतेहगढ गरी चार किल्ला निर्माण गराएका थिए। वीरधाराको काव्य परम्परामा उनले उल्लेख्य योगदान गरेका छन्। जय साहेब, अकाल स्तुति, विचित्र नाटक, चण्डी चरित्र जस्ता उनका चर्चित कृति हुन्।
यस्ता वीर पराक्रमी युगपुरुषको सन् १७०८ मा ४१ वर्षकै उमेरमा मुगल शासकद्वारा हत्या गरियो। सिख समुदायलाई नयाँ दिशा दिने नयाँ पहिचान गराउने ग्रन्थ साहिबलाई पूरा गरी सोही ग्रन्थलाई गुरु मान्ने परम्परा थालनी गर्ने कवि, बहादुर, पराक्रमी, सिख संस्कृतिलाई उचाइ दिने आदि जस्ता कारणबाट सिखहरूले गुरु गोविन्द सिंह जयन्ती विशेष रूपले मनाउने गरेका छन्।
गुरु गोविन्द सिंह जयन्ती नेपालमा पनि उत्सवकै रूपमा मनाउने गरिन्छ। यस उत्सवमा अन्य धर्मालम्बी नेपालीहरू पनि समावेश हुने गरेका छन्। कुपण्डोलको गुरुद्वारामा लङघारमा सहभागी हुने सिखका अतिरिक्त गैरसिख पनि उत्तिकै छन्।
नेपाल-सिख सम्बन्ध विषयमा चर्चाविना जयन्ती मनाउँदा यो जयन्ती अधुरो हुने ठानी यस विषयमा केही प्रकाश पार्नु बान्छनीय ठानिएको छ। नेपाल–सिख सम्बन्धका प्रणेता गुरु नानक नै हुन्, जसले नेपालका धेरै धार्मिक स्थल भ्रमण गरी आफ्नो पहिचान नेपालीमाझ गराएका थिए। उनैका छोरा श्रीचन्द्रले उदासीन समुदायको सुरुवात गराएका थिए। सुनसरीको रामधुनीलगायत नेपालका विभिन्न स्थानमा उदासीन आश्रमहरू हालसम्म पनि विद्यमान छन्।
नेपालले आफ्नो विजय अभियानलाई तीव्र रूपमा पश्चिमतिर बढाउँदा गढवाल पुगेपछि सिख नरेश रणजित सिंहका फौजसँग आमने सामुन्ने हुन पुग्यो। रणजित सिंहकै कारण नेपाली फौज गढवालबाट पश्चिम जान सकेन। कालन्तरमा भीमसेन थापाले अंग्रेज विरुद्ध भारतीय शासकहरूलाई एकजुट बनाउने उद्देश्यले रणजित सिंहसँग सम्पर्क गरी आफ्नो योजनामा समावेश गर्ने उद्योग गरे।
तर, रणजित सिंहले यसमा उत्साह देखाएनन्। नेपाल अंग्र्रेज युद्धमा पनि नेपाललाई अंग्रेजको डरले समर्थन गरेनन्। यस युद्धमा नालापानीमा बहादुरी देखाएका अंग्र्रेजबाट प्रशंसित बलभद्र कुँवर नेपाल सरकारका तत्कालीन मठाधीशहरूसँग विभन्डिएर लाहोर पुगी रणजित सिंहको सैन्य बलमा सामेल भए।
रणजितले उनको समुचित कदर गरी मानसम्मानसहित आफ्नो फौजको उच्च पदस्थ पदमा आसिन गराए। सिख-अफगान युद्धको क्रममा बलभद्रले वीरगति प्राप्त गरे तर उनका साथ गएका नेपालीहरू रणजित सिंहको मृत्यु नहुँदासम्म साथै रहे। बलभद्र कुँवर र नेपाली सेना लाहुरमा सेनामा भर्ना भएदेखि नै विदेशी सेनामा सरिक हुने नेपालीलाई लाहुरे भन्न थालिएको प्रसङ्ग स्मरणीय छ।
पन्जाबका ‘सिंह’ कहलिएका रणजित सिंह पछि उनका उत्तराधिकारी कमजोर हुँदा पन्जाब अङ्ग्रेज साम्राज्यमा गाभिन पुग्यो। यिनै रणजित कि विधुवा महारानी जिन्दा सन् १८४९ मा आफ्ना केही आफन्त, अनुयायी र सुसारेका साथ शरणार्थीका रूपमा नेपाल प्रवेश गरिन्।
जंगबहादुरले उनीहरूलाई शरण मात्र दिएनन् थापाथली नजिक कुरिया गाउँमा बासस्थानको समेत व्यवस्था गरे। सन् १८६० सम्म नेपालमा नै रहेकी जिन्दा पछि बेलायततिर लागिन् तर उनका साथ आएका सिखहरू यतै बसोबास गर्न थाले। सन् १८५७ को असफल सिपाही विद्रोहपश्चात् कौर लगायत धेरै शरणार्थी भई नेपाल छिरेका थिए, इतिहास यसै भन्छ।
यी शरणार्थीबाट बहुमूल्य जवाहरतहरू लगायत अमूल्य रत्नहरू जंगबहादुरले हात लगाउन सके भन्ने भनाइ पनि छ। यसरी शरणार्थी भएर आएका सिखहरू काठमाडौँ उपत्यका, नेपालगञ्ज, कृष्णनगर आदि स्थानमा स्थायी बसोबास गरी नेपाली समाजमा मिसिए।
सन् १९४७ मा भारत स्वतन्त्र भएपछि नेपाल आएका गणतन्त्र भारतका पहिलो राजदूत सुरजित सिंहले नेपाल–सिख सम्बन्धलाई निकै महत्त्व दिँदा सिखहरू नेपालप्रति आकर्षित हुन थाले। त्रिभुवन राजपथ निर्माण भएपछि सो मार्गमा ट्रक तथा बस चलाउने चालकहरूमा यिनै सरदारजीहरू अगुवा भए।
कठिन बाटोमा धेरै नेपालीहरूलाई गाडी चलाउन पनि उनीहरूले नै सिकाए। सन् १९६० मा “शेरे पन्जाब रेस्टुरा” नै काठमाडौँको खिचापोखरीमा खुल्यो। र पन्जाबी खानाका परिकार नेपाल भित्रिए। यसपछि नेपालका विभिन्न नगरमा सिन्धी होटलहरू देखा पर्न थाले।
ढावा संस्कृतिको विकासमा यिनै सरदारजीहरूलाई श्रेय जान्छ। सन् १९७६ मा गुरुनानक सत्सङ्गद्वारा कुपण्डोलमा गुरुद्वारा निर्माण भयो। जहाँ गुरु गोविन्द सिंह जयन्ती लङघरसहित मनाउने गरिँदै आएको पाइन्छ।
गुरु नानकको ५५० औँ जन्मजयन्तीको अवसरमा सन् २०१९ मा “सिख हेरिटेज इन नेपाल” प्रकाशित भएको छ जसमा नेपाल-सिख सम्बन्धको इतिहास बारेमा प्रकाश पारिएको छ। यसैगरी सरदार प्रीतम सिंहले “रोड्स टु दि भ्याली लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल” पुस्तक प्रकाशित गरेका छन्।
यस पुस्तकमा नेपालमा सिखहरूको गतिविधि कार्य र योगदानको चर्चा गरिएको छ। सन् २०१९ मा गुरु नानककै ५५० औँ जन्म जयन्तीमा नेपालीका १००, १००० र २५०० दरका सिक्का निष्कासन गरिएको थियो। नेपालको यातायात पर्यटन उद्योग जस्ता रचनात्मक कार्यमा सिखहरूको योगदान स्मरणीय रहेको छ।
नेपाल विविध जात, धर्म, आस्था, विचार, धारणा राख्नेहरूको साझा फूलबारी हो। सबैले एकअर्काको धर्म र आस्थालाई सद्भाव राखी आआफ्नै संस्कार, संस्कृति र पद्धतिलाई जगेर्ना गरेका छन्। एकले अर्काको संस्कृतिमा आदरभाव राख्ने मात्र होइन विशेष महोत्सवहरूमा सहभागिता पनि जनाई रमाउने गर्दछन्।
त्यसैले त नेपाली संस्कृति र सभ्यताको सर्वत्र सराहनीय भएको छ। यदाकदा राजनीतिक रङ्गले यो सदियौंदेखिको धार्मिक सहिष्णुतालाई ओझेल पार्ने धृष्टता भएको छ। तापनि त्यस्ता स्वार्थी तत्त्वलाई प्रश्रय दिने गरेका छैनन्, दिनु पनि हुँदैन। यसैमा नेपाल र नेपालीको कल्याण छ।
नेपाली संस्कृतिको मूल प्रवाहमा समाहित भई सिख समुदायले आफ्नो पहिचान कायम राख्न सफल भएकोमा सम्पूर्ण नेपाली सिख धर्मालम्बीहरूलाई गुरु गोविन्द सिंह जयन्तीको हार्दिक मंगलमय शुभकामना।
















Facebook Comment