कानुन नै नपढेका नक्कली वकिलको अदालतमा बहस, पोल खुल्दासम्म लगातार २६ वटा मुद्दा जिते
काठमाडौं । झट्ट सुन्दा यो घटना अविश्वसनीय लाग्न सक्छ । कानुन नपढेको र कुनै कानुन सम्बन्धी तालिम समेत नलिएको एक व्यक्तिले अदालतमा उपस्थित भई मुद्दा लडे । उनले आफूले लडेका प्रत्येक मुद्दा जितेर बाहिर निस्किए।
ब्रायन म्वेन्डा न्जागी ‘नक्कली वकिल’ का रूपमा चर्चित बने । जसले वकिलको रूपमा अदालतमा उपस्थित भएर लगातार २६ मुद्दा जिते । उनलाई टेलिभिजन सिरिज ‘सुइट्स’का काल्पनिक पात्र माइक रोससँग तुलना गरियो। प्रमाणपत्रबिनै अदालतमा सफल हुने यी व्यक्तिको कथा सार्वजनिक चासोको विषय बन्यो।
२६ मुद्दा जितिसकेपछि अन्ततः उनको पोल खुल्यो । समातिएपछि उनलाई पहिचान चोरी, नक्कली कागजात पेश गरेर जालसाजी गरेको, वकिलको रूपमा झूटो अभ्यास गरेको लगायत ६ आरोपमा मुद्दा चलाइएको छ । २०२३ मा उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो । मुद्दामा उनी दोषी ठहर भएका छैनन् । उनको मुद्दा अझै विचाराधीन छ ।
केन्याको कानुनी निकायका अनुसार म्वेन्डा न्जागीले वास्तविक वकिल ब्रायन म्वेन्डा न्ट्विगाको नाम प्रयोग गरी विभिन्न मुद्दामा वकिलको रूपमा उपस्थित भएका थिए । अदालत अभिलेखले देखाएअनुसार उनले निवेदन दर्ता गरे, न्यायाधीशलाई सम्बोधन गरे र प्रतिवादीहरूको तर्फबाट वकालत गरे।
यो योजना त्यतिबेला खुल्यो जब वास्तविक वकिल न्ट्विगाले आफ्नो ल सोसाइटी अफ केन्या (एलएसके) को अनलाइन खातामा अनियमितता देखे। उनले आफ्नो इमेल र विवरण बिना अनुमति परिवर्तन भएको थाहा पाए । अनुसन्धानमा नक्कली वकिल नजागीले एलएसके प्रणालीमा अनधिकृत पहुँच पाएर आफ्नै फोटो अपलोड गरी लाइसेन्स प्राप्त वकिलको पहिचान ग्रहण गरेको खुलासा भयो ।
त्यसपछि एलएसकेले अदालत र जनतालाई चेतावनी जारी गर्दै नजागी दर्ता भएको वकिल नभएको स्पष्ट गर्यो।
केन्याको सार्वजनिक अभियोजन कार्यालयले तत्काल अनुसन्धानको आदेश दियो र प्रहरीले उनलाई पक्राउ गर्न निर्देशन दियो। यसरी यो घटना आपराधिक मुद्दामा परिणत भयो।
२०२५ अन्त्यसम्म नजागीलाई पहिचान चोरी र नक्कली कागजात पेश गर्ने अभियोगमा औपचारिक रूपमा मुद्दा दर्ता गरिएको छ। अन्तिम फैसला भने अझै आएको छैन। यसबीच केन्याली अधिकारीहरूले वकिलहरूको प्रमाणीकरण प्रणाली कडाइ गरेका छन्। यस घटनापछि द लयर शीर्षकको वृत्तचित्र निर्माण भइरहेको छ, जसले यसलाई अपराध मात्र नभई प्रणालीगत कमजोरीको प्रतिबिम्बका रूपमा प्रस्तुत गर्नेछ।







डिसी नेपाल








Facebook Comment