निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकतामा ढिलाइ भइसकेको छ : मन्त्री सिन्हा

डिसी नेपाल
२४ पुष २०८२ १२:३५
32
Shares

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकता अभिवृद्धिमा नेपालले ढिलाइ गरिसकेको बताएका छन् ।

बिहीबार आयोजित इयु-नेपाल व्यापार तथा लगानी संवाद कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकता महत्त्वपूर्ण रहेको र यसको तयारीमा पहिले नै धेरै ढिलाइ गरिसकेको बताएका हुन्।

उनले प्रस्तुतीकरणमा उठाइएका पाँच मुख्य बुँदामध्ये निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकता सबैभन्दा महत्वपूर्ण भएको बताए। ‘मेरो आफ्नै विचारमा, हामीले यस विषयमा तयारी गर्न निकै ढिलाइ गरिसकेका छौं,’ उनले भने, ‘व्यापार लागत, रसद, नियामक अवरोधका विषयमा धेरै कुरा गर्‍यौं तर कार्यान्वयनमा सधैं पछाडि रह्यौं। अब युद्ध मोर्चाजस्तै ठोस कार्ययोजना आवश्यक छ।’

मन्त्री सिन्हाले अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा प्राथमिकता क्षयको विषयमा पनि नेपालले गम्भीर तयारी गर्नुपर्नेमा जोड दिए। ‘हामी सधैं प्राथमिकता उपचार र राज्यको सहयोगमा निर्भर रहन सक्दैनौं। प्रतिस्पर्धी हुन उत्पादनशीलता बढाउन, लागत घटाउन र गुणस्तरीय उत्पादनमा केन्द्रित हुनुपर्छ,’ उनले बताए।

उनले उत्पत्तिको नियम र आपूर्ति-पक्ष तयारीमा अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्दै सीमित समयभित्र ठोस रणनीति आवश्यक रहेको बताए।

‘छलफल र विज्ञहरूको अनुभव आगामी दिनमा नेपाल सरकारका लागि मार्गदर्शक रणनीति बन्न सक्छ,’ उनले भने। लगानी वातावरण र निर्यात–केन्द्रित रणनीति को सन्दर्भमा मन्त्री सिन्हाले नीति र प्रक्रियागत स्पष्टताको अभाव रहेको स्वीकार गरे। उनका अनुसार प्रक्रियाहरू सरल बनाउने, अनावश्यक जटिलता हटाउने र स्पष्टता दिने प्रयासहरू अगाडि बढाइँदै छन्।

मन्त्री सिन्हाले छलफलबाट प्राप्त सिफारिसहरूलाई सरकारका कार्ययोजनामा समेट्ने प्रतिबद्धता व्यक्त गरे। ‘समृद्धि फाउन्डेसनबाट प्राप्त सिफारिसहरूलाई देशको आर्थिक लाभ र उज्ज्वल भविष्यका लागि सम्बोधन गर्ने प्रयास हुनेछ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.