प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेट
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ। बिहान ११ बजेदेखि सुरु भएको भेटवार्ता करिब तीन घण्टा चलेको हो।
भेटमा मुख्यतः निर्वाचन केन्द्रित विषयमा छलफल भएको जनाइएको छ। कुराकानीका क्रममा अध्यक्ष ओलीले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने एमालेको अडान रहेको र त्यसका लागि पार्टी पूर्ण रूपमा तयार रहेको जानकारी गराएको बताइएको छ।
त्यसक्रममा ओलीले प्रधानमन्त्री कार्कीसँग निर्वाचनको समग्र तयारी, वर्तमान अवस्था र सुरक्षाका विषयमा चासो राखेका थिए। जवाफमा प्रधानमन्त्री कार्कीले सरकारले आवश्यक सबै प्रबन्ध मिलाइसकेको र निर्वाचनको विषयमा ढुक्क हुन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले एमाले निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय रूपमा सहभागी भएकोमा खुसी व्यक्त गर्दै, बदलिएको राजनीतिक परिस्थितिमा समेत पार्टी महाधिवेशन सम्पन्न गरी चुनौतीपूर्ण अवस्थामा राजनीतिक गतिविधि अघि बढाएकोमा धन्यवाद व्यक्त गरेको बताइएको छ।







डिसी नेपाल








Facebook Comment