नेपालमै पहिलो पटक ‘अन्न एटीएम’ सञ्चालन

डिसी नेपाल
२६ पुष २०८२ १२:३९
108
Shares

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक ‘अन्न एटीएम’ भित्र्याएको छ । भारत सरकारको सहयोगमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत प्राप्त उक्त प्रविधि हाल परीक्षण चरणमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

खाद्य कम्पनीकी प्रादेशिक प्रमुख धर्म कुमारी राजवंशीका अनुसार उपभोक्तालाई सहज, पारदर्शी र प्रविधिमैत्री सेवा दिने उद्देश्यले खाद्य एटीएम सञ्चालनमा ल्याइएको हो । उनका अनुसार यो प्रणाली बैंकको एटीएम जस्तै डिजिटल प्रविधिमा आधारित छ, जहाँ उपभोक्ताले आवश्यक खाद्यान्नको परिमाण आफैं इन्ट्री गरेर प्राप्त गर्न सक्छन् ।

खाद्य एटीएम प्रयोग गर्दा सेवाग्राहीले आफ्नो नाम, विवरण तथा आवश्यक परिमाण (१ केजीदेखि २० केजीसम्म) प्रणालीमा इन्ट्री गर्नुपर्ने हुन्छ । विवरण प्रविष्ट गरेपछि बिल जेनेरेट हुन्छ र सोही आधारमा चाहिएको परिमाणको खाद्यान्न ५ देखि १० सेकेन्डभित्र प्राप्त गर्न सकिन्छ । आवश्यकता अनुसार एकभन्दा बढी पटक पनि खाद्यान्न लिन सकिने व्यवस्था गरिएको छ ।

हाल खाद्य एटीएममा दुईवटा कन्टेनर जडान गरिएको छ, जसमा एक–एक मेट्रिक टन क्षमताका गरी कुल दुई टन खाद्यान्न भण्डारण गर्न सकिने व्यवस्था छ । सुरुमा चामल मात्रै राखिएको छ भने भविष्यमा अन्य खाद्यान्नसमेत समावेश गर्ने योजना रहेको राजवंशीले बताइन् ।

भुक्तानी प्रणाली पूर्ण रूपमा डिजिटल रहेको छ । उपभोक्ताले क्युआर कोडमार्फत सबै बैंकबाट भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ । साथै, उपभोक्ताले प्राप्त गरेको परिमाणको विश्वसनीयता सुनिश्चित गर्न एटीएम नजिकै तौल मेसिन पनि राखिएको उनले बताईन् ।

डिजिटल प्रणाली भएकाले सबै उपभोक्तालाई सहज होस् भन्ने उद्देश्यले यो एटीएम सञ्चालनका लागि एक जना अपरेटरसमेत खटाइएको छ । परीक्षण चरणमा रहेको यस सेवाप्रति उपभोक्ताको प्रतिक्रिया मूल्यांकनपछि थप सुधार तथा विस्तार गरिने कम्पनीको योजना छ ।

प्रारम्भिक चरणमा खाद्य कम्पनीको केन्द्रिय कार्यालय थापाथलीमा यो एटिएम मसिन राखिएको छ भने चाँडैनै सुर्खेतमा समेत यस्तो एटीएम राख्ने योजना रहेको कम्पनीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.