नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि

डिसी नेपाल
२७ पुष २०८२ ७:०९
256
Shares

काठमाडौं। नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच आइतबार (पुस २७) देखि विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदै छ। काठमाडौंको भृकुटीमण्डपमा आइतबार र सोमबार चल्ने गरी विशेष महाधिवेशन बोलाइएको छ।

आइतबार दिउँसो १ बजे विशेष महाधिवेशन उद्घाटन हुने तय भएको छ। उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ।

मञ्चको अगाडि खुला चौरमा भने ६ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका लागि गठन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए। मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ।

पुडासैनीका अनुसार उद्घाटनका दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आउने र्‍यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ।

विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको उनले बताए। विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई भने आमन्त्रण गरिएको छैन।

आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौंका विभिन्न स्थानमा ३ हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ। साथै थप २/२ सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको उनले बताए।

विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र भृकुटीमण्डपको सभाहलमा हुनेछ। बन्दसत्रमा छलफल हुने नीतिगत दस्तावेजका बारेमा भने हालसम्म धेरै विषय सार्वजनिक भइसकेका छैनन्।

कांग्रेस संस्थापन पक्षले भने विशेष महाधिवेशन माग भएको अवधिभित्रै यसअघि १५औँ नियमित महाधिवेशनको मिति तोकिसकिएकाले यसको औचित्य स्वतः समाप्त भइसकेको तर्क गर्दै आएको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले १५औँ महाधिवेशनको नयाँ मिति आगामी वैशाख २८ देखि ३१ गतेसम्म निर्धारण गरेको छ। उक्त विषयमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित पाँच नेताहरूले असहमति जनाएका थिए।

महमन्त्रीद्वय थापा र शर्माले कांग्रेसको विधान पालना गर्दै पार्टीलाई जीवन्त बनाउनका लागि भन्दै विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई आह्वान गरेका छन्। उनीहरूले संयुक्त विज्ञप्तिमार्फत कांग्रेस विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने कानुनी बाध्यता रहेको उल्लेख गरेका छन्।

गत असोज २९ गते कांग्रेसका ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन मागका साथ केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो। त्यस्तै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछिको राजनीतिक पृष्ठभूमिका विषयमा कांग्रेसमा समेत नेतृत्व परिवर्तनको आवाज उठेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.