दलहरूसँग नागरिकको अपेक्षा: विश्वास र रूपान्तरणको बडापत्र

राजेन्द्र चटौत
२९ पुष २०८२ १८:४७
20
Shares

राजनीतिक दल लोकतन्त्रका प्राण हुन्। नागरिक र राज्य जोड्ने सजीव सेतु दल नै हुन्। नेपाली समाजको चेतना स्तर उकासिएको छ। मतदाताको मनोविज्ञान बदलिएको छ। हिजोका दिनमा नागरिकले व्यवस्था परिवर्तनमा साथ दिए। दलहरूको आह्वालाई शिरोपर गरे। अब नागरिकको प्राथमिकता फेरिएको छ।

उनीहरूले अवस्था परिवर्तन चाहेका छन्। जनताको अभिमत केवल मतपत्र होइन; यो विश्वासको करारनामा हो। दलहरूले यसको मर्म बुझ्नुपर्छ। नागरिकले नतिजामुखी राजनीति खोजेका छन्। आश्वासनको युग समाप्त भएको छ। अबको युग कार्यन्वयनको हो।

मतदाताले दललाई शासक होइन; सेवकका रूपमा हेर्न चाहेका छन्। यो अपेक्षा अस्वाभाविक होइन; यो लोकतन्त्रको सौन्दर्य हो। दलहरूले आफूलाई समयको गतिसँगै दौडाउनुपर्छ। रूपान्तरण आजको अनिवार्य आवश्यकता हो।

लोकतन्त्रको अभ्यास घरबाटै सुरु हुनुपर्छ। नागरिकले दलभित्र पूर्ण लोकतान्त्रिक संस्कार खोजेका छन्। नेतृत्व चयन विधि पारदर्शी हुनुपर्छ। कार्यकर्ताको मूल्यांकन न्यायोचित हुनुपर्छ। ‘टीका लगाएर’ पद बाँड्ने संस्कृति अन्त्य हुनुपर्छ। प्रतिस्पर्धाले मात्र सक्षम नेतृत्व जन्माउँछ।

नागरिकले दलभित्र विधि र पद्धतिको शासन चाहेका छन्। विधानको पूर्ण पालना हुनुपर्छ। गुटबन्दीले संस्थालाई कमजोर बनाउँछ; विचार समूहले जीवन्त राख्छ। दलहरू विचारको विश्वविद्यालय बन्नुपर्छ। बहस र छलफलले नीति निखारिन्छ। नेतृत्व हस्तान्तरण सहज र स्वभाविक हुनुपर्छ। नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्नुपर्छ।

पुस्तान्तरणले संगठनमा नयाँ रक्तसञ्चार गर्छ। समावेशी नेतृत्वले मात्र देशको विविधता प्रतिविम्बित गर्छ। महिला, दलित, र सीमान्तकृतको अर्थपूर्ण उपस्थिति हुनुपर्छ। दलभित्रको सुशासनले राष्ट्रिय सुशासनको आधार खडा गर्छ।

नेपालको विकासको मुख्य बाधक अस्थिरता हो। नागरिकले पूर्ण कार्यकाल चल्ने सरकार चाहेका छन्। पाँच वर्षको म्याद स्थिर हुनुपर्छ। बारम्बारको सरकार परिवर्तनले विकास ठप्प पार्छ। नागरिकले नीतिगत स्थिरता खोजेका छन्। सरकार फेरिँदा नीति फेरिने परिपाटी अन्त्य हुनुपर्छ। दलहरूसँग स्पष्ट वैचारिक खाका हुनुपर्छ।

निर्वाचन घोषणापत्र विकासको मार्गचित्र बन्नुपर्छ। बोलेका कुरा व्यवहारमा लागू हुनुपर्छ। सत्ता र प्रतिपक्षको भूमिका रचनात्मक हुनुपर्छ। राष्ट्रिय मुद्दामा दलहरू एक ठाउँमा उभिनुपर्छ। परराष्ट्र नीति, सुरक्षा, र जलस्रोतमा साझा धारणा चाहिन्छ। विकास निर्माणमा राजनीति मिसाउनुहुँदैन।

सहमति र सहकार्यको संस्कृति बसाल्नुपर्छ। स्वस्थ प्रतिस्पर्धाले मात्र लोकतन्त्र बलियो हुन्छ। नागरिकले दलहरूबाट परिपक्वताको अपेक्षा गरेका छन्। जिम्मेवार राजनीतिले मात्र समृद्धि सम्भव छ।

भ्रष्टाचार मुक्त समाज नागरिकको प्रमुख माग हो। दलहरूले पारदर्शिताको नमुना पेश गर्नुपर्छ। आर्थिक स्रोत र खर्चको विवरण सार्वजनिक हुनुपर्छ। अपारदर्शी चन्दाले नीतिगत विचलन ल्याउँछ। नागरिकले स्वच्छ छवि भएका प्रतिनिधि खोजेका छन्। उम्मेदवार चयन गर्दा नैतिकतालाई आधार मान्नुपर्छ।

सार्वजनिक पदको दुरुपयोग रोक्नुपर्छ। अख्तियारवाला निकायलाई स्वतन्त्र छाडिदिनुपर्छ। विधिको शासनमा कोही पनि माथि हुँदैन। आफ्नालाई संरक्षण गर्ने प्रवृत्ति त्याग्नुपर्छ। सुशासन भाषणमा होइन; व्यवहारमा देखिनुपर्छ। सेवा प्रवाह चुस्त र दुरुस्त हुनुपर्छ।

सरकारी कार्यालयमा नागरिकले सम्मान पाउनुपर्छ। ढिलासुस्ती र घुसखोरी अन्त्य गर्ने दायित्व दलहरूकै हो। सदाचार युक्त नेतृत्वले समाजलाई सही दिशा दिन्छ। राजनीतिलाई सेवाभावले हेर्नुपर्छ; पेसा होइन। सादा जीवन उच्च विचारको आदर्श पालना गर्नुपर्छ।

राजनीतिको अन्तिम लक्ष्य आर्थिक समृद्धि हो। नागरिकले जीवनस्तर उकास्ने योजना खोजेका छन्। दलहरूसँग आर्थिक क्रान्तिको स्पष्ट खाका हुनुपर्छ। कृषि, पर्यटन, र ऊर्जा क्षेत्रको विकास गर्नुपर्छ। उत्पादन बढाउने नीति अख्तियार गर्नुपर्छ। आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्नुपर्छ।

रोजगारी सिर्जना दलहरूको मुख्य एजेन्डा बन्नुपर्छ। युवालाई स्वदेशमै काम गर्ने वातावरण मिलाउनुपर्छ। उद्यमशीलता विकासमा दलहरूले सहजीकरण गर्नुपर्छ। निजी क्षेत्रलाई विश्वासमा लिनुपर्छ। लगानी मैत्री वातावरण बनाउनुपर्छ। पूर्वाधार विकासलाई तीव्रता दिनुपर्छ।

गाउँगाउँमा सडक, बिजुली, र इन्टरनेट पुर्याउनुपर्छ। आर्थिक अनुशासन कायम राख्नुपर्छ। देशको अर्थतन्त्र बलियो बनाउन सबै दल एकमत हुनुपर्छ। गरिबी निवारणका ठोस कार्यक्रम ल्याउनुपर्छ। समतामूलक वितरण प्रणाली स्थापित गर्नुपर्छ। समृद्ध नेपालको सपना साकार पार्न दलहरू गम्भीर बन्नुपर्छ।

शिक्षा र स्वास्थ्य मौलिक हक हुन्। दलहरूले यसलाई व्यापारको वस्तु बनाउनुहुँदैन। सरकारी विद्यालयको स्तर उकास्नुपर्छ। गरिबका छोराछोरीले गुणस्तरीय शिक्षा पाउनुपर्छ। प्राविधिक र सीपमूलक शिक्षामा जोड दिनुपर्छ। विश्वविद्यालयलाई राजनीति मुक्त बनाउनुपर्छ। अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्छ।

आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ हुनुपर्छ। उपचार नपाएर नागरिक मर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ। स्वास्थ्य बीमा प्रभावकारी बनाउनुपर्छ। प्रत्येक पालिकामा अस्पताल निर्माण गर्नुपर्छ। दलहरूले सामाजिक क्षेत्रमा लगानी बढाउनुपर्छ।

मानव पुँजी निर्माण विकासको आधार हो। स्वस्थ र शिक्षित नागरिकले मात्र देश बनाउँछन्। सामाजिक न्यायको सिद्धान्त लागू गर्नुपर्छ। राज्यको दायित्व नागरिकको सुरक्षा हो। दलहरूले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ।

देशको भविष्य युवाको काँधमा छ। दलहरूले युवाको ऊर्जालाई सदुपयोग गर्नुपर्छ। राजनीतिमा युवाको अर्थपूर्ण सहभागिता हुनुपर्छ। निर्णय प्रक्रियामा युवाको आवाज सुनिनुपर्छ। नयाँ सोच र प्रविधिलाई अंगीकार गर्नुपर्छ। डिजिटल युगमा दलहरू हाइटेक बन्नुपर्छ। सामाजिक सञ्जाल र सूचना प्रविधिको सही प्रयोग गर्नुपर्छ।

विदेशिएका युवाको ज्ञान र सीप भित्र्याउनुपर्छ। उनीहरूलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्छ। नवप्रवर्तनलाई राजनीतिले प्रोत्साहन गर्नुपर्छ। स्टार्टअप र उद्यमशीलतालाई सघाउनुपर्छ। पुरानो ढर्राको कार्यशैली बदल्नुपर्छ। समय सापेक्ष परिवर्तन हुन सक्ने दल मात्र टिक्छ। युवाको वितृष्णालाई आशामा बदल्नुपर्छ। राजनीति फोहोरी खेल होइन; यो समाज सेवाको माध्यम हो। यो सन्देश युवामा प्रवाह गर्नुपर्छ।

राष्ट्रिय हितको संरक्षण दलहरूको साझा दायित्व हो। सार्वभौमिकता र भौगोलिक अखण्डता सर्वोपरि हुनुपर्छ। छिमेकीसँगको सम्बन्धमा सन्तुलन कायम राख्नुपर्छ। ‘नेपाल प्रथम’को नीति लिनुपर्छ। कूटनीतिक आचारसंहिताको पूर्ण पालना हुनुपर्छ। विदेशी चलखेललाई निरुत्साहित गर्नुपर्छ। राष्ट्रिय स्वाभिमानमा सम्झौता गर्नुहुँदैन।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च बनाउनुपर्छ। सीमा सुरक्षामा दलहरू एकताबद्ध हुनुपर्छ। सन्धि सम्झौता गर्दा राष्ट्रिय आवश्यकता हेर्नुपर्छ। वैदेशिक ऋण र सहायतालाई देश विकासमा लगाउनुपर्छ। आत्मनिर्भर अर्थतन्त्रले मात्र राष्ट्रियता बलियो बनाउँछ। आर्थिक परनिर्भरता घटाउनुपर्छ। स्वाधीन र समुन्नत राष्ट्र निर्माण दलहरूको लक्ष्य हुनुपर्छ। नागरिकले स्वाभिमानी नेतृत्व चाहेका छन्।

विविधता नेपालको शक्ति हो। दलहरूले सबै वर्ग र समुदायलाई समेट्नुपर्छ। विभेद रहित समाज निर्माण गर्नुपर्छ। महिला, दलित, जनजाति, र मधेसीको अधिकार सुनिश्चित गर्नुपर्छ। संविधानको मर्म अनुसार समावेशीकरण लागू गर्नुपर्छ। पछाडि परेका क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्छ।

कर्णाली र सुदूरपश्चिमलाई मूलधारमा ल्याउनुपर्छ। सामाजिक सद्भाव र एकता कायम राख्नुपर्छ। धार्मिक र सांस्कृतिक सहिष्णुता जोगाउनुपर्छ। द्वन्द्व व्यवस्थापनमा दलहरू सफल हुनुपर्छ। शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्छ। पीडितले न्याय पाउनुपर्छ।

सत्य निरूपण र मेलमिलाप आयोगलाई प्रभावकारी बनाउनुपर्छ। हिंसाको राजनीति सदाका लागि अन्त्य हुनुपर्छ। शान्तिपूर्ण प्रतिस्पर्धा नै राजनीतिको बाटो हो। समतामूलक समाज निर्माणमा दलहरू केन्द्रित हुनुपर्छ।

नेपाल प्राकृतिक विपद्को जोखिममा छ। दलहरू विपद्का बेला जनताको साथमा हुनुपर्छ। उद्धार र राहतमा सक्रिय खटिनुपर्छ। पूर्वतयारी र जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्छ। जलवायु परिवर्तनको असरसँग जुध्न साझा नीति चाहिन्छ। वातावरण मैत्री विकासको मोडल अपनाउनुपर्छ।

वनजंगल र प्राकृतिक स्रोतको संरक्षण गर्नुपर्छ। चुरे दोहन रोक्नुपर्छ। नदीनालाको स्वच्छता कायम राख्नुपर्छ। अव्यवस्थित सहरीकरण नियन्त्रण गर्नुपर्छ। दिगो विकासका लक्ष्य प्राप्त गर्नुपर्छ। भावी पुस्ताका लागि बस्न योग्य पृथ्वी छोड्नुपर्छ। वातावरण संरक्षण राजनीतिक एजेन्डा बन्नुपर्छ। हरियाली प्रवर्द्धन अभियान चलाउनुपर्छ। स्वच्छ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित गर्नुपर्छ।

संघीयताले अधिकार गाउँमा पुर्याएको छ। स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो। दलहरूले स्थानीय तहलाई सक्षम बनाउनुपर्छ। जनप्रतिनिधिले सेवकको भूमिका खेल्नुपर्छ। स्थानीय समस्याको स्थानीय समाधान खोज्नुपर्छ। साधन स्रोतको सही बाँडफाँड हुनुपर्छ। करको दर होइन; दायरा बढाउनुपर्छ।

जनतालाई करको भारी बोकाउनुहुँदैन। विकास निर्माणमा जनसहभागिता जुटाउनुपर्छ। उपभोक्ता समितिलाई पारदर्शी बनाउनुपर्छ। न्यायिक समितिले प्रभावकारी न्याय सम्पादन गर्नुपर्छ। स्थानीय उत्पादनलाई बजारसँग जोड्नुपर्छ। ‘गाउँगाउँमा सिंहदरबार’ को नारा सार्थक पार्नुपर्छ। स्थानीय नेतृत्वको क्षमता विकास गर्नुपर्छ। सबल स्थानीय सरकारले मात्र लोकतन्त्रको जरा बलियो बनाउँछ।

चुनावमा मात्र जनता सम्झने प्रवृत्ति गलत हो। दलहरूले नागरिकसँग निरन्तर संवाद गर्नुपर्छ। जनताका गुनासा र सुझाव सुन्नुपर्छ। पार्टी कार्यालयहरू जनसम्पर्क केन्द्र बन्नुपर्छ। कार्यकर्तालाई उत्पादनसँग जोड्नुपर्छ। झोले कार्यकर्ताको साटो उद्यमी कार्यकर्ता उत्पादन गर्नुपर्छ। नागरिक समाजसँग सहकार्य गर्नुपर्छ।

बौद्धिक वर्गको सुझाव ग्रहण गर्नुपर्छ। आलोचनालाई सुधारको अवसर मान्नुपर्छ। सच्चिने र सुध्रिने तत्परता देखाउनुपर्छ। जनविश्वास आर्जन गर्न इमानदार प्रयास चाहिन्छ। राजनीतिमा नैतिकताको खडेरी अन्त्य हुनुपर्छ। विश्वासको वातावरण बनाउनु दलहरूको जिम्मेवारी हो।नागरिक सार्वभौम सत्ता सम्पन्न हुन्; यो सत्य आत्मसात गर्नुपर्छ।

राजनीति केवल अंकगणित होइन; यो संस्कार पनि हो। दलहरूले असल राजनीतिक संस्कृति निर्माण गर्नुपर्छ। एक अर्काको अस्तित्व स्वीकार गर्नुपर्छ। स्वस्थ आलोचना र बहसको वातावरण बनाउनुपर्छ। गालीगलौज र आरोप प्रत्यारोपको राजनीति बन्द हुनुपर्छ। संसद्लाई मर्यादित बनाउनुपर्छ। जनताका मुद्दामा केन्द्रित बहस हुनुपर्छ।

तडकभडक र खर्चिलो जीवनशैली त्याग्नुपर्छ। नेताहरू जनताको माझमा सामान्य जीवन बिताउनुपर्छ। सादगी र सरलताले जनताको मन जित्छ। चाकरी र चाप्लुसीको संस्कृति अन्त्य हुनुपर्छ। योग्यता र क्षमताको कदर हुनुपर्छ। असल मान्छे राजनीतिमा आउने वातावरण बनाउनुपर्छ। मूल्य मान्यताको राजनीति स्थापित गर्नुपर्छ। संस्कारयुक्त राजनीतिले समाजलाई सभ्य बनाउँछ।

नागरिकको दलहरूसँगको अपेक्षा असीमित छ। यो दलहरूप्रतिको विश्वासको द्योतक हो। दलहरूले यसलाई अवसरका रूपमा लिनुपर्छ। इतिहासको समीक्षा गर्दै भविष्यको बाटो तय गर्नुपर्छ। कमी कमजोरी सच्याएर अघि बढ्नुपर्छ। नागरिकले समृद्ध नेपाल हेर्न चाहेका छन्। यो चाहना पूरा गर्ने सामर्थ्य दलहरूसँगै छ।

इच्छाशक्ति र इमानदारिताको खाँचो छ। सबै दल मिलेर देश बनाउने संकल्प गर्नुपर्छ। राष्ट्र निर्माणको महाअभियानमा नागरिकको साथ रहन्छ। दलहरू जनताका सच्चा प्रतिनिधि बन्नुपर्छ। आशाको दियो बाल्ने जिम्मेवारी नेतृत्वकै हो। उज्यालो भविष्यको यात्रा आजैबाट सुरु गर्नुपर्छ। समृद्धिको गन्तव्य टाढा छैन। हामी सक्छौं; हामी गर्छौं।

(लेखक नेपाली कांग्रेसका युवा नेता हुन् )




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.