मधेश प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना उत्साहजनक : डिआईजी थपलिया
जनकपुर । आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको छ। सम्बन्धित निकायहरुले आ–आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु तीव्र गतिमा गरिरहेका छन्।
निर्वाचनका लागि सबैभन्दा पहिलो प्राथमिकतामा रहेको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सरकारले निर्वाचन प्रहरी भर्ना थालेको छ। देशभरमा जम्मा १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया पुस २५ गतेदेखि नै सुरु भइसकेको छ।
मधेश प्रदेशमा पनि निर्वाचन प्रहरीको भर्ना सुरु भएको पहिलो दिनदेखि नै भर्ना गराउन आउनेहरुको भीड थामी नसक्नु रहेको देखिएको छ।
मधेश प्रदेशका प्रहरी नायव महानिरीक्षक (डिआईजी) गोबिन्द थपलियाका अनुसार मधेश प्रदेशमा ३० हजार ४६६ जना निर्वाचन प्रहरी भर्ना गरिने छ।
जसमध्ये धनुषामा सबैभन्दा बढी ४ हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने छ भने सप्तरीमा ४ हजार २२२, बारामा ४ हजार ३४, महोत्तरीमा ३ हजार ९१२ सर्लाहीमा ३ हजार ९२६, रौतहटमा ३ हजार ८५१, सिरहामा ३ हजार ७५७ र पर्सामा २ हजार ८५२ जना निर्वाचन प्रहरी भर्ना गर्न लागिएको छ।
भर्ना सुरु भएको पहिलो तीन दिनमै आठवटै जिल्लाबाट १७ हजार ६ सय १० जनाले निर्वाचन प्रहरीमा भर्नाका लागि आवेदन दिएको डिआईजी थपलियाले जानकारी दिएका छन्। प्रत्येक दिन आवेदन दिनेको संख्या बढ्दै गएको उनको भनाई छ।
उनका अनुसार आवेदन दिनेको संख्या आवश्यक भन्दा बढी हुन जाने भएपनि निश्चित मापदण्ड पूरा गर्नेहरुको मात्र भर्ना गरिनेछ। आवेदन दिने व्यक्तिको सीआरएस चेक, मेडिकल चेक र शारीरिक दुरुस्तता चेक भएर सबैमा पास हुनेहरुले मात्र नियुक्ति पाउने डिआजी थपलियाले बताए।
धनुषामा पहिलो तीन दिनमै माग भन्दा बढी आवेदन आएको उनले बताए। दैनिक २ हजार जतिको नयाँ आवेदन दिनेहरु आइरहेको उनले जानकारी दिए। आवेदन दिनेहरुमा अधिकांश पुरुष रहेको उनले बताए।
निर्वाचन प्रहरीले नेपाल सरकारले तोके बमोजिम ४० दिनको तलब भक्ता र काम गर्ने क्रममा प्रयोग गर्न दिइएको पोशाक, लाठी लगायतका सामानहरु पनि पाउने डिआईजी थपलियाले जानकारी दिए।







डिसी नेपाल








Facebook Comment