लघुकथा : सम्भावित मृत्यु
“बुबा, दश लाख हाल्दिएको छु। बैंक लोनको सावाँ घटाउनलाई।” प्रतिरोधले म्यासेन्जरमा उत्साहित हुँदै भन्यो। “ठिकै छ त। सावाँ घटाउन पाए व्याज कम तिर्नु पर्छ। चुक्ता हुने समयावधि पनि त घट्छ। साथीभाइको सापटी तिर्न गाह्रो त हुँदैन?” मैले म्यासेन्जरमै जवाफ फर्काएँ।
प्रतिरोध क्यानडा बस्छ। पढाइको सिलसिलामा उ क्यानडा गएको हो। पढाइ सकाएर जब जोइन गरेको छ। पूजा पनि क्यानडानै छन्। दुई जना एउटै कम्पनीमा काम गरिरहेका छन्। खर्च कटाइ बचत रकम बैंक किस्ता तिर्न पठाइ रहेका छन्।
प्रतिरोध एउटै छोरो हो। क्यानडा नजान सल्लाह दिएको थिएँ मैले। पढाइको आवश्यकता दर्शाएर मलाई मनाएको थियो उसले। पढाइ सके पछि फर्कने शर्त राखेको राखेको थिएँ मैले। यहाँ पढाइ अनुसारको कामै पाइँदैन। पढेर उतै काम गर्ने जवाफ दिएको थियो उसले।
क्यानडा तिरै काम खोज्ने र बस्ने कुरा प्रति मेरो सहमति थिएन। यहाँ पनि जिविकोपार्जन गर्न सकिन्छ भन्ने मेरो बुझाई विपरीत पूजा पनि क्यानडा गएरै छोडिन्।
आमा बुवा वृद्ध हुनुहुन्छ। म पनि साठीको हाराहारी भै सकेँ। आमा बुवा बिरामी हुदाँ उपचारमा म खटिने गर्छु। म नै विरामी परे भने मेरो उपचारमा को खट्ने ?
हजारौं छोरा छोरी विदेशिन बाध्य छन। यहाँ शिक्षा, स्वास्थ्य र रोजगारको प्रत्याभूति छैन भन्छन्। न्यून बेतन प्राप्त हुन्छ रे। घर परिवारको खर्च धान्दैन रे।
छोरा बुहारी नै नफर्किए पछि बुढेसकाल कसरी बिताउने होला? म चिन्ता ले विक्षिप्त बन्छु। मलाई संभावित मृत्युले गिज्याए जस्तो लाग्छ।
सुन्दरहरैंचा-६, दुलारी, मोरङ
















Facebook Comment