माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा
भद्रपुर (झापा)। माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका हातले बनेका देवी–देवताका मूर्ति कुनै समय मेचीदेखि महाकालीसम्म पुग्थे । आज त्यही मूर्तिकला उनको परिवारको पहिचान मात्र होइन, अस्तित्व जोगाउने सङ्घर्ष बनेको छ ।
भद्रपुर–६ मोतियावारी माता मन्दिर छेउमा विगत तीन दशकयता माटाका मूर्ति बनाएर जीवन धान्दै आएका राजवंशी दोस्रो पुस्ताका मूर्तिकार हुन् । पिताबाट आर्जेको सीपलाई पेसामा रूपान्तरण गर्दै उनले दुई सन्तानको शिक्षादिक्षा र चार जनाको परिवार यही मूर्तिकलामा नै निर्भर हुँदै आएको छ । तर पछिल्लो समय उनको यो परम्परागत पेसा आर्थिक सङ्कटमा फस्दै गएको छ ।
राजवंशीका अनुसार लगनशीलता र मेहनतमा कुनै कमी छैन, तर बजारमा बढ्दै गएको अतिक्रमणले उनको उत्पादन बिक्न छाडेको छ । ‘अभिषेक मूर्ति उद्योग’ नाममा कानुनी रूपमा सञ्चालनमा रहेको उनको उद्योग भारतीय बजारबाट अवैध रूपमा भित्रिने सस्ता मूर्तिका कारण व्यवसायमा गम्भीर असरमा परेको छ ।
“अवैध रूपमा भारतबाट आउने मूर्ति नरोकिने हो भने हामीजस्ता स्वदेशी माटोमा पसिना बगाएर खाने कलाकार भोकै मर्नुपर्ने दिन टाढा छैन,” उनी पीडा पोख्छन्। । कुनै समय चर्चित रहेको उनको उद्योगले नेपालभर पहिचान बनाएको थियो । अहिले ती दिन सम्झिँदा आफ्नै व्यवसाय बनावटी कथा जस्तै लाग्न थालेको राजवंशी बताउँछन् ।
हिन्दू संस्कृतिका दसैँ, तिहार, छठ, सरस्वती पूजा, विश्वकर्म पूजा, देवी पूजालगायत पर्वका लागि आवश्यक पर्ने मूर्ति निर्माणमा उनी सक्रिय छन् । साथै आदिवासी जनजातिको मौलिक संस्कार र संस्कृतिको झलक दिने विभिन्न प्रकारका मूर्ति बनाउँदै आएका छन्।
भगवान शिव, पार्वती, काली, सरस्वती, विश्वकर्मा, लक्ष्मी, भगवतीलगायत जुनसुकै देवीदेवताका मूर्ति माटो र सिमेन्ट दुवै माध्यमबाट बनाउन सक्ने सीप उनीसँग छ । तर “भारतमा सस्तो मूर्ति पाइन्छ” भन्ने हल्लाले ग्राहक सीमापारि जाने वा भारतीय व्यापारी गाउँगाउँमै पुगेर मूर्ति बेच्न थालेपछि समस्या थपिएको राजवंशी बताउँछन्।
उनका अनुसार भारतीय बजारभन्दा आफ्ना मूर्ति सस्ता हुँदाहुँदै पनि प्रचारप्रसारको अभावले ग्राहकले थाहा नपाउने अवस्था बनेको छ । मूर्तिको व्यावसायबाट नै घरपरिवार चलाउँदै आएका राजवंशी सामाजिक सेवामासमेत सक्रिय हुनुहुन्छ । उनी स्वदेशी श्रम र सीपको सम्मान गर्ने सामाजिक अगुवासमेत हुन्।
भ्रष्टाचार समाज विचलनको मुख्य कारण भएको ठहर गर्दै राजवंशीले भद्रपुर नगरलाई “भ्रष्टाचार शून्य नगर” बनाउने अभियानसमेत चलाइरहेका छन्। सघन सहरी विकास कार्यक्रमअन्तर्गत भइरहेका सडक विस्तार र स्तरिकरणका काम कमिशनका कारण गुणस्तरहीन भएको भन्दै आवाज उठाइरहने राजवंशी सामान्य लेखपढ गरेका भए पनि सचेत नागरिकका रूपमा परिचित छन् ।
युवापुस्तालाई स्वदेशमै श्रम र सीपको महत्व बुझाउनुपर्ने उनको जोड छ । लोकतन्त्रमा इमानदार र सक्षम शासक आवश्यक रहेको बताउने राजवंशी पैसा र पहुँचका आधारमा राज्य सञ्चालन भइरहेसम्म गणतन्त्र सर्वहारा वर्गको पहुँचमा नआउने उनको बुझाइ छ ।
चार जनाको परिवार पाल्दै समाजमा केही देन दिन सफल भएको अनुभव सुनाउने राजवंशी आफ्ना सीप अरूलाई पनि सिकाउन तयार छन् । तर मूर्तिकला सिक्न कोही नआएकोमा उनी चिन्तित देखिन्छन् । पछिल्लो समय ग्राहक अभावका कारण पेसा नै सङ्कटमा परेको उनको गुनासो छ ।
माटोलाई माया गर्ने विष्णु राजवंशी आज पनि भद्रपुरको आदिवासी क्षेत्र महेशपुरमा मूर्तिसँगै रमाइरहेका छन्। तर अवैध आयात, राज्यको उपेक्षा र संरक्षणको अभावले उनको कला मात्रै होइन, पुस्तौँदेखि चलेको परम्परा नै हराउने खतरा बढ्दै गएको छ । उनी भन्छन्, “यदि स्वदेशी कला र श्रमको संरक्षण भएन भने, माटोसँग जोडिएको हाम्रो पहिचान इतिहासमै सीमित हुनेछ ।”







डिसी नेपाल








Facebook Comment