संसदीय व्यवस्थामा फर्किन खोजेका होइनौँ, संघर्षको नयाँ मोर्चा बनाउन लागेका हौं : प्रकाण्ड

डिसी नेपाल
६ माघ २०८२ ९:४४
136
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले वर्तमान राष्ट्रिय राजनीति इतिहासकै सबैभन्दा जटिल र संवेदनशील मोडमा पुगेको बताएका छन्।

उनले जनयुद्धपछि स्थापित राजनीतिक व्यवस्थाले नेपाली जनताको अधिकार, आकांक्षा र राष्ट्रको सार्वभौमिकतालाई सुरक्षित गर्न असफल भएको दाबी गरे।

उनका अनुसार जनयुद्धपछिको विग्रह, शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासले जनताको अपेक्षाअनुसार परिणाम दिन सकेन । ‘आज नेपाली जनताको राजनीतिक अधिकार, समग्र अधिकार र राष्ट्रको सार्वभौमिकता गम्भीर खतरामा छ,’ उनले भने, ‘यसलाई कसरी रक्षा गर्ने, देशलाई कसरी नयाँ दिशा दिने भन्ने नै अहिलेको मुख्य प्रश्न हो ।’

राज्य गार्जियन होइन, पीडक बनेको आरोप

प्रवक्ता ‘प्रकाण्ड’ ले विगत १५-२० वर्षको राजनीतिक अभ्यासलाई मूल्यांकन गर्दै राज्य र राज्यका सञ्चालकहरू जनताको संरक्षक बन्न नसकेको आरोप लगाए। ‘३ करोड जनसंख्याको गार्जियन हुनुपर्ने राज्य आज पीडकजस्तो बनेको छ,’ उनले भने, ‘यसको परिणाम स्वरूप जनताले यो देशमा आफ्नो भविष्य देख्न छाडेका छन्।’

उनका अनुसार झन्डै ७०-८० लाख युवाको विदेश पलायन राज्य असफलताको सबैभन्दा ठूलो प्रमाण हो । देशभित्र बसेकाहरूमा पनि निराशावाद गहिरो हुँदै गएको भन्दै उनले अहिलेको राष्ट्रिय राजनीतिको मूल समस्या नै निराशा भएको बताए।

संघीय लोकतान्त्रिक गणतन्त्र किन असफल भयो ?

प्रवक्ता ‘प्रकाण्ड’ का अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको अवधारणा आफैंमा गलत नभए पनि यसको अभ्यास गलत हातमा पर्दा जनताप्रति उत्तरदायी हुन सकेन। ‘राज्य सञ्चालकहरूको त्रुटि, सत्ताको दुरुपयोग, शक्तिको दुरुपयोग र साधन–स्रोतको लुटले यो व्यवस्था बदनाम भयो,’ उनले भने।

उनका अनुसार नेतृत्वको चरित्र, जीवनशैली र कार्यशैली जनताको आकांक्षाअनुकूल हुन सकेन । ‘नेतृत्वले देश र जनताको हितभन्दा आफ्नो स्वार्थलाई प्राथमिकता दियो,’ उनले थपे।

नयाँ राज्य व्यवस्था अपरिहार्य

वर्तमान सन्दर्भमा नेपालमा प्रभावकारी राज्य व्यवस्था नै नरहेको उनको दाबी छ। ‘जनयुद्ध विद्रोहपछि संसदीय संघीय लोकतान्त्रिक गणतन्त्र विस्थापित भइसकेको छ,’ उनले भने, ‘अब प्रश्न यो हो-नेपालमा कस्तो राज्य व्यवस्था चाहिन्छ ?’

उनका अनुसार अबको राज्य व्यवस्था नेपाली जनताप्रति पूर्ण रूपमा उत्तरदायी, जिम्मेवार र ‘फुल फेजमा लोयल’ हुनुपर्छ । यही आवश्यकताका कारण नयाँ राज्य व्यवस्था र नयाँ नेतृत्वको बहस अहिलेको राष्ट्रिय आवश्यकता बनेको उनले बताए।

संसदीय चुनावमा किन पुनः सहभागिता ?

लामो समय संसदीय प्रणालीको आलोचक रहँदै आएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले पुनः निर्वाचनमा जाने निर्णय किन ग¥यो भन्ने प्रश्नमा प्रवक्ता ‘प्रकाण्ड’ ले यसलाई रणनीतिक र ऐतिहासिक आवश्यकतासँग जोडेर व्याख्या गरे।

‘हामी संसदीय व्यवस्थामा फर्किन खोजेका होइनौँ,’ उनले स्पष्ट पार्दै भने, ‘यो हाम्रो लागि संघर्षको अर्को मोर्चा हो।’

उनका अनुसार अहिलेको संक्रमणकालीन अवस्थामा राज्यको पुनःसंरचना, संविधानको पुनःलेखन र जनताले खोजेको नेतृत्व स्थापित गर्न जनताको मास म्यान्डेट अनिवार्य छ। ‘आगामी निर्वाचन नेपाली विशिष्टताको समाजवादी व्यवस्था स्थापना गर्ने संविधान लेख्नका लागि हो,’ उनले भने।

०६४ को अनुभव र आत्मालोचना

प्रवक्ता ‘प्रकाण्ड’ स्वयं २०६४ सालको संविधानसभा निर्वाचनमा कालिकोटबाट निर्वाचित भएका नेता हुन्। उनले पहिलो संविधानसभामा माओवादी पार्टीले पाएको जनादेश सम्झँदै आत्मालोचनासमेत गरे।

‘जनताले हामीलाई नयाँ जनवादी व्यवस्था र नयाँ संविधानका लागि म्यान्डेट दिएका थिए,’ उनले भने, ‘तर संविधानसभामा पुगेपछि पार्टी नेतृत्व त्यो जिम्मेवारी पूरा गर्न असफल भयो।’

उनका अनुसार १० वर्षको जनयुद्ध र शान्ति प्रक्रियाबाट आएका एजेन्डाहरूलाई संविधान र राज्य संरचनामा संस्थागत गर्न नसक्नु नै ठूलो कमजोरी रह्यो । संविधानसभा विघटनपछि पार्टीले फरक राजनीतिक बाटो रोजेको र पछिल्ला ११ वर्ष निरन्तर संघर्षमै बितेको उनले बताए।

उनले भने,  ‘११ वर्षको त हाम्रो संघर्ष नै छ । अहिले आउँदा देश असाध्यै क्रिटिकल अवस्थामा छ । यो बेलामा एउटा जिम्मेवार राजनीतिक पार्टी हुनुपर्यो । एउटा क्रान्तिकारी पार्टी हुनुप¥यो, एउटा जिम्मेवार राजनीतिक पार्टी हुनुपर्यो, यो क्राइसिसबाट देशलाई निकास, जनताको मुद्दाको सम्बोधन गर्ने तहसम्म, समस्याको समाधान गर्ने तहसम्म, अनि जनताले खोजेको सिस्टम स्थापित गर्ने तहसम्म र जनताले खोजेको लिडरसिप दिने तहसम्म प्रयास गर्ने बेला हो भनेर नै अहिलेको ट्रान्जिसनल फेजमा आगामी इलेक्सनबाट, राज्यको पुनःसंरचना गर्ने, संविधानको पुनःलेखन गर्ने, लिडरसिप जनताले खोजेको दिनको निम्ति, यो इलेक्सनमा मास म्यान्डेट लिनको निम्ति जाँदैछौं ।’

माओवादी पुरानो पार्टी होइन

जनतामा पुराना दल र नेताहरूप्रति विश्वास गुम्दै गएको सन्दर्भमा माओवादी पार्टी पनि पुरानै शक्तिको रूपमा हेरिएको हो कि भन्ने प्रश्नमा उनले कडा आपत्ति जनाए।

‘पुरानो पार्टी भनेको एमाले हो, पुरानो पार्टी भनेको त्यो बेलाको माओवादी केन्द्र भयो, अहिलेको नेपाली कम्युनिष्ट पार्टीको हो। अनि, तीनको लिडरसिपमा यो बीचमा, तिनले सरकारको नेतृत्वको गरे, तिनको लिडरसिपमा जाने अरु पार्टीहरू हुन्। पुराना पार्टी भनेका विगतमा संसदीय पार्टी हुन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी अहिले पुरानो पार्टी होइन । यो त नयाँ पार्टी हो । पुराना पार्टी भनेका नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र हुन्,’ उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टी माओवादी नयाँ पार्टी हो।’

उनका अनुसार पार्टी सधैं देश र जनताको मुद्दा लिएर सडक, संघर्ष र आन्दोलनमै रहेको छ । ‘हामी जहिले पनि गलत प्रवृत्तिका विरुद्ध विद्रोहमा थियौं,’ उनले भने।

भ्रष्टाचार र विकल्पको खोजी

प्रवक्ता ‘प्रकाण्ड’ ले वडादेखि केन्द्रसम्म बसेका शासकहरूको भ्रष्टाचार, कमिसनखोरी र नातागोता पोस्ने प्रवृत्तिबाट जनता आजित भइसकेको बताए। ‘यही कारण जनताले नयाँ विकल्प खोजिरहेका छन्, वडामा, गाउँपालिकामा, प्रदेशमा, त्यसपछि केन्द्रीय तहको राज्यमा बसेका मान्छेहरूको भ्रष्टाचार र कमिसनको खेलले, आफ्ना नातागोता पोस्ने हरकतले जनता आजित छन्,’उनले भने।

उनका अनुसार माओवादी पार्टी नै त्यो विकल्पको प्रतिनिधि हो । ‘मलाई लाग्दछ, तिनै जनताले जो विकल्प खोजिरहेका छन्, त्यही विकल्पको प्रतिनिधित्व गर्ने हाम्रो पार्टी हुन्छ, हामी उम्मेदवार हुन्छौं । जनताले हामीलाई अघात विश्वास गर्छन् भन्ने हाम्रो आत्मविश्वास छ । हामीभन्दा सही विकल्प अरू छैन, योगदानको हिसाबले पनि हामी अगाडि छौं,’ उनले भने ।

आगामी चुनावप्रति आत्मविश्वास

आगामी निर्वाचनमा पार्टीको सम्भावनाबारे प्रश्न गर्दा उनले गहिरो आत्मविश्वास व्यक्त गरे । ‘जनताले हामीलाई विश्वास नगर्नुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘बरु अरूलाई चयन गर्नुपर्ने कारण छैन ।’

उनका अनुसार देशको वर्तमान जटिल अवस्थामा जिम्मेवार, क्रान्तिकारी र जनउत्तरदायी नेतृत्व आवश्यक छ, जुन भूमिका माओवादी पार्टीले निर्वाह गर्न सक्छ।

उनले भने, ‘मलाई लाग्छ, नेपाली जनताले हामीलाई विश्वास नगर्नुपर्ने कुनै कारण छैन। अर्को कुरा, हामीलाई छनोट नगरेर, अरुलाई सेलेक्ट गर्नुपर्ने कारण पनि छैन। किनभने, हामीभन्दा सही अरू पनि छैनन् र ठुलो योगदान अरूको पनि छैन। बरु, यो बीचमा हामीले रहँदैछौं भनेर जब हामी संघर्षको मोर्चामा गयौं, सडकमा गयौं, संघर्षमा गयौं।’

यसैगरी प्रवक्ता ‘प्रकाण्ड’ ले देशलाई संकटबाट निकास दिने ऐतिहासिक जिम्मेवारी अहिलेको पुस्ताको काँधमा रहेको बताए । ‘यो समय नयाँ राज्य व्यवस्था, नयाँ संविधान र नयाँ नेतृत्वको हो,’ उनले भने, ‘जनताको विश्वाससहित हामी त्यो दिशातर्फ अघि बढिरहेका छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.