‘रमिताको पिरती’ मार्फत आना शर्मा एक्जिक्युटिभ प्रोड्युसरको भूमिकामा

आकांक्षा धामी
११ माघ २०८२ १७:१०
20
Shares

काठमाडौं। निर्देशक सुदिप्ताको निर्देशनमा तयार भएको फिल्म ‘रमिताको पिरती’ माघ २३ गते देशभर रिलिज हुने भएको छ। फिल्ममा अभिनेत्री आना शर्मा मुख्य भूमिकामा देखिएकी छन्।

अभिनेत्री आना शर्मा मुख्य भूमिकामा रहेको यो फिल्म केवल एउटा प्रेमकथा मात्र होइन, ब्रेकअपपछि आफूलाई फेरि चिन्ने, स्वीकार्ने र रोज्ने एउटा भावनात्मक यात्राको कथा हो।

फिल्मका बारेमा नेपाल न्यूज बैंकसँग कुरा गर्दै अभिनेत्री आना शर्माले आफूले निभाएको ‘रमिता’ पात्रको भावनात्मक यात्रालाई केन्द्रमा राखेर कथा अघि बढ्ने बताइन्। उनका अनुसार फिल्म ब्रेकअपबाट सुरु भए पनि यो केवल ब्रेकअपको कथा मात्र नभई, त्यसपछिको आत्मखोज, आत्मसम्मान र आत्मस्वीकृतिको यात्रा हो।

‘ब्रेकअपपछि मानिसले आफ्नै निर्णय, आफ्नो मूल्य र जीवनबारे प्रश्न गर्न थाल्छ। रमिताको पात्रले पनि त्यही भावनात्मक उतार–चढाव भोग्छ। उसले आफैँलाई गुमाएको हुन्छ र ब्रेकअपले उसलाई फेरि आफैँलाई भेट्टाउने कारण दिन्छ,’ आना भन्छिन्।

शर्माले यस फिल्ममार्फत पहिलो पटक एक्जिक्युटिभ प्रोड्युसरको जिम्मेवारी पनि सम्हालेकी छन्। उनले सुरुमा कलाकारका रूपमा मात्र स्क्रिप्ट सुनेर प्रोजेक्टमा आबद्ध भएपनि पछि निर्देशक सुदिप्ता र निर्माता सागर लम्सालसँग नजिकबाट काम गर्दै एक्जिक्युटिभ प्रोड्युसरको भूमिका पाएको बताइन्।

‘सुरुमा हाम्रो कोर टिम नै सानो थियो। दैनिक मिटिङ, वर्कसप हुँदै सँगै निर्णय लिने अवस्थामा पुग्यौं। निर्माता सागरजीले म माथि विश्वास गरेर एक्जिक्युटिभ प्रोड्युसरको जिम्मेवारी दिनुभयो, जुन मेरो लागि सिकाइको ठूलो अवसर बन्यो,’ उनले भनिन्।

एक्जिक्युटिभ प्रोड्युसरको भूमिकाले आफूलाई नयाँ किसिमको प्रेसर र क्रिएटिभ स्वतन्त्रता दुवै दिएको आना बताउँछिन्। ‘जिम्मेवारी धेरै हुन्छ, तर क्रिएटिभ फ्रिडम पनि उत्तिकै रमाइलो रहेछ,’ उनले आफ्नो अनुभव सुनाइन्।

फिल्मले विशेषगरी युवा पुस्ता, युवतीहरूलाई लक्षित गर्दै महत्वपूर्ण सन्देश दिने शर्माको विश्वास छ। ‘पहिला आफूलाई माया गर्नुपर्छ, आफूलाई केयर गर्नुपर्छ, अनि मात्र अरूलाई माया दिन सकिन्छ भन्ने सन्देश फिल्मले दिन्छ,’ उनले भनिन्।

सोसल मिडियाको प्रभाव, बाह्य भ्यालिडेसनको खोजी र त्यसले व्यक्तिको मानसिक अवस्थामा पार्ने असरलाई पनि फिल्मले चित्रण गर्ने उनले बताइन्। रमिताको पात्र पनि एक चरणमा अरूको स्वीकृतिमा निर्भर हुने देखाइन्छ, जुन आजको पुस्तासँग गहिरो रूपमा सम्बन्धित रहेको उनको भनाइ छ।

फिल्ममा समिर र आनाले निभाएका पात्रहरूको प्रेम सम्बन्धलाई गीतमार्फत प्रस्तुत गरिएको छ। ती गीतहरू प्रेमको सुरुआती चरण र पात्रहरूबीचको कनेक्सन देखाउन केन्द्रित छन्। शर्माका लागि ‘रमिताको पिरती’ विशेष हुनुका तीन कारण छन्।

पहिलो, यो पूर्ण रूपमा महिलाको कथा हो; दोस्रो, महिला निर्देशकद्वारा लेखिएको र निर्देशित फिल्म हो र तेस्रो, उनले पहिलो पटक एक्जिक्युटिभ प्रोड्युसरको भूमिकामा काम गर्न पाएकी छन्।

नेपाली फिल्म उद्योगको विकास हुँदै गएको बताउँदै उनले अझ नयाँ विधा, नयाँ फिल्ममेकर र नयाँ ट्यालेन्टहरू आउनुपर्ने आवश्यकता औंल्याइन्।
फिल्म ‘रमिताको पिरती’ को टिजर र गीतहरू सार्वजनिक भइसकेका छन् भने निर्माण पक्षले दर्शकहरुलाई फिल्मलाई धेरै माया दिन आग्रह गरेको छ।

लामो समयको ब्रेकपछि फिल्म क्षेत्रमा फर्किएकी आना, नेपाली फिल्म उद्योगमा प्रगति देख्छिन् तर अझै नयाँ विधा, नयाँ फिल्ममेकर र नयाँ प्रतिभा आउनुपर्नेमा जोड दिन्छिन्। चलचित्रमा नायिका शर्मासँगै उनको साथमा फिल्ममा नायकद्धय धिरज मगर र विनय श्रेष्ठलाई देख्न सकिन्छ। यही फिल्मबाट गायक समीर श्रेष्ठ चलचित्रको पर्दामा नायकको रूपमा उदाउँदै छन्।

शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको यो फिल्ममा आरपी प्रोडक्सन एसोसियट निर्माताको रूपमा छ। चलचित्रका निर्माता सागर लम्साल हुन्। चलचित्रमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ।

शिशिर विशांखेको डीओपी रहेको फिल्ममा सुनिल शिवाकोटीको सम्पादन, कपिल पराजुलीको कलर, कातिक बरालको कोरियोग्राफी छ। फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने काठमाडौँ बाहिर एफडी कम्पनीले वितरण गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.