सत्यतथ्य र यथार्थ समाचार सम्प्रेषण गर्न आयोगको आग्रह

डिसी नेपाल
१५ माघ २०८२ २२:४१
12
Shares

काठमाडौं। राष्ट्रिय सूचना आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सत्यतथ्य र यथार्थ समाचार सम्प्रेषण गर्न सबैलाई आग्रह गरेको छ।

आयोगले आज पत्रकार सम्मेलन गरी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार बन्न सबैलाई आग्रह गरेको हो। पत्रकार सम्मेलनमा आयोगका आयुक्त एवं प्रवक्ता गगन विष्टले निर्वाचनका क्रममा फैलिने भ्रामक, गलत तथा नियोजित सूचनाले लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पार्ने भन्दै सूचना प्रवाहलाई सत्यतथ्य र यथार्थमा आधारित बनाउनुपर्ने बताए।

सरोकारवालाले सार्वजनिक गर्ने निर्वाचनसम्बन्धी सूचना समयमै, सबैले बुझ्नेगरी सार्वजनिक गर्नुपर्ने प्रवक्ता विष्टले उल्लेख गरे। गलत र भ्रामक सूचनामाथि निगरानी तथा नियमन गर्न सम्बन्धित निकायलाई सक्रिय बनाइराख्न उनले सरकारलाई सचेत गराउनुभयो। निर्वाचन आयोगलाई मतदाता शिक्षा थप प्रभावकारी बनाउन, बहुभाषिक माध्यममार्फत सूचना प्रवाह गर्न तथा निर्वाचनसम्बन्धी ऐन, कानुन, निर्देशिका र आचारसंहिता समयमै सार्वजनिक गर्नुपर्ने आयोगले जनाएको छ।

आयुक्त विष्टले राजनीतिक दल र उम्मेदवारलाई आफ्नो उम्मेदवारबारे तथ्यमा आधारित सूचना मात्र प्रवाह गर्न, गालीगलौज, दुष्प्रचार, मिथ्या तथा भ्रामक सूचनाको प्रयोग नगर्न निर्देशन दिनुभयो। उहाँले सम्बन्धित दलको निर्वाचनसम्बन्धी सूचना प्रवाह गर्न सूचना अधिकारी तोक्न निर्देशन दिए। उनले सञ्चारमाध्यमलाई निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा निष्पक्षता, सन्तुलन र समान पहुँचको सिद्धान्त पालना गर्नुपर्ने बताए। कुनै दल वा उम्मेदवारको प्रचार सामग्रीलाई समाचारका रुपमा प्रकाशन तथा प्रसारण नगर्न आयोगले सचेत गराएको छ।

सर्वसाधारण नागरिकलाई सामाजिक सञ्जाल वा अन्य माध्यममा सूचना प्रचार गर्नुअघि त्यसको स्रोत आधिकारिक र विश्वसनीय भएको यकीन गर्न, भ्रामक सूचना देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन आयोगले सबैलाई आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.