देउवासँग दूरी बढाएका गगन ओलीसँग नजिकिँदै!

डिसी नेपाल
१९ माघ २०८२ १०:५६
3.5k
Shares

काठमाडौं। विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसको पुरानो संस्थापन पक्ष यतिबेला पूर्वसभापति शेरबहादुर देउवाको निवासमा सीमित भएको छ। निर्वाचनको मुखमा आफू पार्टीको प्रमुखबाट हटाइएपछि देउवा यतिबेला बिलखबन्द परेका छन्।

देउवा खेमाकै कतिपय नेता गगन थापाले हस्तक्षर गरेको टिकट दिएर यतिबेला चुनावी मैदानमा छन्। तर देउवा दम्पत्तीले टिकट पाएनन्। त्यतिमात्रै होइन, देउवा खेमाबाट एकदम कम नेताले मात्रै टिकट पाएका छन्।

जसको असर आगामी निर्वाचनमा देहिने हो कि भन्ने चिन्ता गगन पक्षीय नेता कार्यकर्तामा देखिन थालेको छ। सभापतिमा निर्वाचन भएपछि गगनले काठमाडौं-४ छोडेर सर्लाही झरेपछि चुनौती थपिएको विश्लेषण हुन थालेको छ। त्यसो त कांग्रेस वृत्तमा एउटा सदावहार भनाइ छ-कांग्रेसलाई अरुले होइन, कांग्रेसले नै हराउँछन्। अर्थात् प्रायः चुनावमा कांग्रेसभित्र अन्तर्घात आम विषय बनिसकेको छ।

२००३ सालको नेपाली राष्ट्रिय कांग्रेसदेखि आजको दिनसम्मको कांग्रेसको ‘दुस्मन’ कांग्रेस नै हो। यसले दाइ भाइ कोही पनि हेर्दैन। यो दाजु मातृकालाई प्रधानमन्त्रीबाट हटाउने भाइ बीपी कोइरालाको पार्टी हो। गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई हराउने पार्टी हो।

अनि पद र प्रतिष्ठा नपाएपछि भट्टराई र गणेशमान सिंहले कित्ता नै फेर्ने पार्टी हो। सभापतिलाई हराउने पार्टी हो। त्यसैले त अहिले त्यो भुंग्रोमा गगन थापा छन्। उनी सभापति छन्।

ठूलो जोखिम मोलेर विशेष महाविधेशनमार्फत सभापति बनेका गगनलाई कतै पार्टीभित्र फेरि अन्तर्घात त हुने होइन भन्ने चिन्ता देखिन थालेको छ। यो बीचमा गगनले आफू देउवासँग निरन्तर संवादमा रहेको सार्वजनिक गरिसकेका छन्। अर्थात् उनी देउवाको मन जित्ने कोशिसमा पनि छन्।

तर पूर्व संस्थापन पक्ष देउवामात्रै होइनन्, उनीसँग टिम नै छ, जो आफूले टिकट नपाएको बदला निर्वाचनमार्फत लिन चाहन्छ। नेताहरु पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, डा शशांक कोइराला, बालकृष्ण खाँडलगायतले यो निर्वाचनमा टिकट पाएका छैनन्।

यसअघि देउवाले टिकट नदिएर स्वतन्त्र उम्मदवार भएर लडेर चुनाव जितेका अमरेशकुमार सिंह यसपालि रास्वपाबाट गगनविरुद्ध मैदानमा छन्। देशैभर रास्वपाको माहोल बनिरहँदा अमरेशले त्यो फाइदा उठाउन प्रयास गर्नेछन्। चुनावको मुखमा निर्वाचन क्षेत्र परिवर्तन गरेर मधेश झरेका गगनलाई चुनाव जित्न निकै संघर्ष गर्नुपर्ने अवस्था छ।

यस्तो अवस्थामा गगनमाथि चुनावमा आफ्नो निर्वाचन क्षेत्रमा कसै न कसैसँग गठबन्धन गर्नुपर्ने दबाव बढिरहेको छ। त्यसका लागि गगनको रोजाइमा एमाले परेको स्रोतको दाबी छ। एमालेले सर्लाही चारमा गगनलाई समर्थन गर्ने र कांग्रेसले झापा पाँचमा एमालेलाई समर्थन गर्ने गरी संवाद सुरु भएको बताइएको छ। यद्यपि यसल औपचारिकता भने पाइनसकेको स्रोतले जनाएको छ।

अहिलेको संवादले सार्थकता पाएको खण्डमा सर्लाहीमा एमाले उम्मेदवार अमनिशकुमार यादवलाई डमी उम्मेदवार बनाएर गगनलाई समर्थन गर्ने र झापा पाँचमा कांग्रेस उम्मेदवार मन्दरा चिमरियालाई डमी उम्मेदवार बनाउने सम्भावना बढेको स्रोतले दाबी गरेको छ।

एमाले अध्यक्ष ओलीलाई पनि यो पटक झापा पाँचमा चुनाव जित्नु चुनौतीपूर्ण हुने देखिएको छ। काठमाडौं महागरपालिकाका पूर्व मेयर तथा रास्वपा वरिष्ठ नेता बालेन शाह ओलीसँग चुनाव लड्न झापा पाँच नै गएपछि ओलीलाई अप्ठेरो परेको हो।

त्यसमा पनि एमालेले अहिलेसम्म कुनै पनि दलसँग गठबन्धन गरेको छैन। कतै चुनावमा बालेन भारी त पर्ने होइनन् भन्ने अड्कलबाजी भइरहेको छ। यस्तोमा कांग्रेसको साथ पाइएको अवस्थामा चुनाव सजिलै जित्न सकिने एमालेको निष्कर्ष रहेको स्रोतले जनायो।

यद्यपि सभापति भएपछि गगन थापाले पहिलो निर्णय नै चुनावमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने निर्णय गरेका थिए। यस्तो अवस्थामा यदि केही सिटमा मात्रै भएपनि एमालेसँग गठबन्धन गरे भने गगन प्रश्नको घेराबाट उम्किने सम्भावना रहँदैन।

देउवासँग विद्रोह गरेपछि गगनलाई जसरी पनि जित निकाल्नुपर्ने बाध्यता छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति जनताबाट अनुमोदन नभए त्यसले पार्टीभित्र नराम्रो सन्देश जाने तथ्य बुझेका गगनले सर्लाहीमा चुनाव जित्न एमालेसँगको गठबन्धन आवश्यक रहेको निष्कर्ष निकालेको स्रोतले दाबी गरेको छ।

प्रतिनिधिसभाको निर्वाचन लगत्तै बैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने बाध्यता छ। देउवा पक्ष नियमित महाधिवेशनमा अहिलेको बदला लिने दाउमा देखिन्छ।

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा भएको विशेष महाधिवेशन देउवा पक्षलाई चित्त नबुझेर तत्कालीन दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा निकालिए। त्यसको केही घण्टापछि गगन सभापति र विश्वप्रकाश उपसभापति चुनिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.